उपन्यासमा वैदेशिक रोजगारी
पोखरा : ‘वैदेशिक रोजगारीमाथि जति साहित्य लेखियो, सबै नकारात्मक लेखियो,’ उपन्यासकार श्याम सिंघकले भने, ‘तर मैले त्यसोमात्रै गरिनँ।’ अचेल खाडी र मलेसियादेखि युरोप र अमेरिका जाने चलन भए पनि नेपालीहरु धेरै पहिल्यैदेखि वैदेशिक रोजगारीमा गएको उनले उल्लेख गरे।
‘जति बेला नेपालीहरु सस्तो रोजगारीका लागि भारत जान्थे,’ सिंघकले भने, ‘त्यतिबेलाको पनि लोकसाहित्यले पनि परदेश जानु हुँदैन भन्यो।’ आफू भने वैदेशिक रोजगारीको विपक्षमा नभएको उनले प्रष्ट पारे। भने, ‘मेरो आधारिक धारणा छ कि वैदेशिक रोजगारीमा जानै हुँदैन भन्ने होइन, जानुपर्छ।’ वैदेशिक रोजगारीमाथि लेखिएका किताबमा छुटेका कुरा आफूले समेटेको उनको दाबी थियो।
जापान जान्छु, अस्ट्रेलिया जान्छु वा युरोप या कतार र मलेसिया अथवा कोरिया जान्छु भन्ने युवालाई रोक्न नसकिने सिंघकले बताए। ‘म त नजा कसैलाई भन्दिनँ, जा भन्छु’, उनले सुनाए, ‘नजा भनेर रोक्नुचाहिँ पाप हो।’ सिंघक पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार पोखरामा उनकै उपन्यास ‘रेमिटल्यान्ड’ माथि आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्दै थिए।
कवि चन्द्रवीर तुम्बापोले सिंघकको उपन्यास नेपाली साहित्यमा दीर्घायु बाँच्ने टिप्पणी गरे। ‘अहिलेका लेखकहरुलाई बजारले निलिरहेको छ’, उनले भने, ‘साहित्यकारहरु सेलिब्रिटी बन्ने धुनमा छन्, सेलिब्रिटी त तरकारीवाली पनि हुन सक्छिन्, साहित्यकारले त लामो आयु हुने कृति पो लेख्नुपर्छ।’ उनले सिंघकको रेमिटल्यान्ड बजारको पछि नदौडिएको सुन्दर किताब भएको पनि बताए।
किताबमाथि लिखित टिप्पणी राख्दै अजय अनमोलले किताबमा समाजका थुप्रै पाटाहरुलाई समेटिएको सुनाए। ‘सामाजिक मनोविमर्शदेखि यौनमनोविमर्शसम्म किताबमा अटाएको छ’, उनले भने।
सुरक्षित आप्रवासन परियोजना (सामी) कास्कीकी संयोजक माया गुरुङले वैदेशिक रोजगारीका कारण आएका दुखद कथाहरुमात्रै साहित्यमा आउन थालेको गुनासो गरिन्। ‘रेमिटेन्सको लगानी शिक्षामा भएको छ, स्वास्थ्यमा भएको छ’, उनले भनिन्, ‘पुरुष विदेशिएपछि घरपरिवारमा मात्रै होइन समाजमा पनि महिलाको नेतृत्व विकास भएको छ।’
बैंकर बुद्धि मल्लले वैदेशिक रोजगारीमा गएका एकजनाको भरमा पूरै परिवार धानिनुपर्ने समस्या रहेको सुनाए। परिवारका अध्यक्ष दीपक समीप, कविहरु सुरेश रानाभाट, प्रकाश ज्ञवाली, अर्जुन अधिकारीले पनि श्याम सिंघकको पुस्तकमाथि विचार राखेका थिए।