भरतपुरका दुई वडाध्यक्षलाई सपथ नगराउन अदालतको आदेश
चितवन : भरतपुर महानगरपालिकाका दुई वडाध्यक्षलाई सपथ नगराउन उच्च अदालत हेटौडाले अन्तरकालिन आदेश जारी गरेको छ । वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेलाई सपथ नगराउन भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आदेश दिएको हो ।
न्यायाधिश बाबुराम रेग्मीको ईजलासले मुख्य निर्वाचन अधिकृत कार्यालय र दुई वडाध्यक्षलाई वडाध्यक्षको हैषियतमा सपथ ग्रहण नगराउन आदेश दिएको हो। दुवै जनालाई वडाध्यक्षको हैसियतमा काम नगर्न र नगराउनु भनी आदेश दिईएको उच्च अदालतका प्रवक्ता बद्रि प्रसाद लामिछानेले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय,वडाध्यक्षमा निर्वाचित आचार्य र काफ्लेलाई उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम आदेश दिईएको लामिछानेले जानकारी दिनुभयो । विपक्षीबाट त्यसको जवाफ मागिएको छ ।
आचार्य र काफ्ले नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । मतगणना बदर गरी पाउँ भनी वडा नम्बर ४ का उपेन्द्रराज सापाकोटा र ७ का तर्फबाट श्यामप्रसाद लामिछानेले जेठ १९ गते छुट्टा छुट्टै निवेदन दिएका थिए ।