प्रधानमन्त्री छनोट दुई दिनपछि

प्रधानमन्त्री छनोट दुई दिनपछि

काठमाडौं : संसद् अवरोध जारी राख्ने प्रमुख प्रतिपक्षी एमालेको अडानले हच्किएको सत्ता पक्षले आइतबारका लागि निर्धारित प्रधानमन्त्री निर्वाचन प्रक्रिया दुई दिनपछि सार्न सभामुखलाई आग्रह गरेपछि सूचनाद्वारा स्थगित संसद् बैठक मंगलबार सरेको छ ।एमालेको अवरोधबीच सूचनाद्वारा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गरेकी सभामुख ओनसरी घर्तीमगरले संसद् बैठक नै नबसाली प्रधानमन्त्रीको निर्वाचन दुई दिनपछि सार्नुभएको हो ।

भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै एमालेले संसद् अवरोध गरिरहेका बेला सभामुख घर्तीमगरले सूचनाद्वारा निर्वाचन प्रक्रिया अघि बढाई आइतबार प्रधानमन्त्री निर्वाचनको मिति तोक्नुभएको थियो । तीन दलको सहमति भन्दै सभामुख घर्तीले आइतबार बैठक नै प्रारम्भ नगरी सूचनाद्वारा संसद् बैठक मंगलबार एक बजेसम्मका लागि स्थगन गर्नुभएको छ ।

'सभामुखले एक पटक बैठक नै नबसाली स्थगित गर्नुभयो । यो ठीक भएन', कांग्रेस नेता रमेश लेखकले भन्नुभयो, 'सभामुखज्यूले चुनावको मिति तोकिसकेपछि बैठक बसाल्नुपथ्र्यो ।'स्थानीय तहको दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा स्थायी सरकार बनाउनु अत्यावश्यक भएको उल्लेख गर्दै लेखकले भन्नुभयो, 'मुलुकलाई अनिश्चितता र अन्योलमा राख्नु राम्रो होइन ।'

भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णयविरुद्ध एमाले प्रदर्शन, आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

कांग्रेसकै अर्का सांसद मीन विश्वकर्माले पनि सभामुखले बैठक नबसालेकोमा असन्तुष्टि जनाउनुभयो । 'कम्तीमा बैठक बसाल्नुहोस्, जे होला जनताले थाहा पाउनुपर्छ भनेर सभामुखसँग असन्तुष्टि राखेकै हौं', विश्वकर्माले भन्नुभयो।दलहरूको निर्णय पर्खेर संसद् स्थगन गरेकी सभामुख घर्तीले यसअघि सूचनाद्वारा निर्वाचन प्रक्रिया प्रारम्भ गर्नुको औचित्य समाप्त भएको संसद्का अधिकारीहरू टिप्पणी गर्छन् ।

'अस्ति नै संसद् खुलेपछि मात्र निर्वाचन प्रक्रिया प्रारम्भ गर्छु भनेर सभामुखले भन्न सक्नुपथ्र्यो । त्यति अघि बढिसकेपछि आज पनि संसद्लाई निर्णय गर्ने जिम्मा दिनुपथ्र्यो', संसद्का एक अधिकारीले भने ।प्रधानमन्त्री पदका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको एक मात्र उम्मेदवारी परेको छ ।एमालेले संसद् अवरोध जारी राख्ने चेतावनी दिएपछि तीन दलको सहमतिमा बैठक मंगलबारसम्म स्थगन गर्ने निर्णय भएको थियो ।

सभामुख घर्तीले विशेष कारणवश संसद् स्थगन गरेको सूचना प्रकाशन गरे पनि तीन दलका शीर्ष नेताको सहमतिमा बैठक सार्नुभएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।सभामुखको कार्यकक्षमा बसेको तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले त कार्यसूची हेरेर मात्र प्रधानमन्त्रीको निर्वाचनबारे जानकारी पाएको भन्दै सबै सांसदलाई जानकारी दिन थप समय दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

संसद् बैठक केही दिन पर सार्ने ओलीको प्रस्तावप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन जनाउनुभएको थियो । भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेको विरोध प्रदर्शन, सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा र दलबीच कुराकानी गर्न थप समय चाहिने भन्दै तीनै दलका शीर्ष नेताको सहमतिमा बैठक सार्ने निर्णय भएको नेताहरूले बताउनुभएको छ ।

'आजको बैठक स्थगन गरेर घनीभूत छलफल गरी आपसी अविश्वास हल गर्ने सहमति भयो', तीन दलको बैठकपछि एमाले वरिष्ठ नेता माधव नेपालले भन्नुभयो ।कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिको वातावरण बनाउन दुई दिन संसद् स्थगन गरी वार्तामा जुट्ने निर्णय भएको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.