निर्वाचनमा महिला सक्रियता बढ्दो

निर्वाचनमा महिला सक्रियता बढ्दो

मंगलसेन : स्थानीय तह निर्वाचनमा विगतका निर्वाचनको भन्दा महिलाको सक्रियता उल्लेख्य मात्रामा बढेको छ ।पार्टीले आयोजना गर्ने चुनावी प्रचारप्रसार, र्‍यालीमा होस् या घरदैलो कार्यक्रममा महिलाको सक्रियता विगतका निर्वाचनमा भन्दा उल्लेख्य मात्रामा बढेको पाइएको हो । राजनीतिक दलले दिनहुँजसो आयोजना गर्ने र्‍यालीमा महिलाको उल्लेख्य सहभागिता देखिन्छ । यतिबेला गाउँगाउँ तथा बजार क्षेत्रमा आआफ्नो पार्टीका झन्डा, चुनाव चिह्न अंकित टी सर्ट, टोपी पहिरिएर महिलाहरू पनि प्रचारप्रसारमा खटेको यत्रतत्र देखिन्छ ।

गाउँमा पुरुषभन्दा महिलाको संख्या पनि बढी भएकाले प्रचारप्रसारका क्रममा पनि महिला नै बढी देखिने गरेका हुन् । एकातर्फ संविधानले नै स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै महिलामा पहिलेको भन्दा राजनीतिक चेतनासमेत बढ्दै गएकाले महिलाको सक्रियता बढेदै गएको हो । सरकारले निर्वाचनको मिति सार्दै गएकाले दलहरूले प्रचारप्रसारका लागि प्रसस्त समय पाएका छन् ।

स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टी गरिएपछि महिला उम्मेदवारको संख्या बढेसँगै महिला मतदातामा निकै उत्साह थपिएको छ।

यतिबेला बर्खेखेती लगाउने मौसम भएकाले किसानले चुनावी प्रचारप्रसार कार्यक्रम र खेती लगाउने काम सँगैसँगै लगेका छन् । यतिबेला प्रायः मेलापात, घरधन्दा, बाली गोडमेलजस्ता काममा व्यस्त हुने महिला काम व्यवस्थापन गर्दै आआफ्ना पार्टीको चुनाव प्रचारप्रसार कार्यक्रममा सहभागी भइरहेका छन् । साँफेबगर नगरपालिकाको नवाठानाकी टंकीदेवी कुँवरले बिहान घरायसी तथा मेलापातको काम गरेर दिउँसो चुनाव प्रचारप्रसारमा गइरहेको बताउनुभयो । कहिले कहीँ रातिसमेत घोट माग्न मतदाताको घरघरमा जानुपर्ने भएकाले मेलापात र घरधन्दाभन्दा पनि प्रचारप्रसारको कामलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा एउटै वडामा एउटा दलबाट पाँच उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवार कसैको नातेदार, छिमेकी तथा इस्टमित्रसमेत पर्ने भएकाले प्रायः सबैलाई नजिकैबाट चुनाव लागेको छ । गाउँमा एक पार्टीको प्रचारप्रसारमा महिला गएपछि अर्को पार्टीमा आस्थावान महिला पनि प्रचारप्रसारमा जाने गरेको पाइन्छ । 'गाउँमा कुन परिवार कुन पार्टीमा आस्थावान छ भन्ने स्पस्ट थाहा हुने भएकाले आआफ्नो पार्टीको प्रचारप्रसारमा जान महिलाहरूमा प्रतिस्पर्धा नै देखिन्छ', चौरपाटी गाउँपालिका मार्कुकी अमृता बोगटीले भन्नुभयो, 'चुलोचौको र मेलापातमा मात्र सीमित रहने महिला पुरुससँगै चुनाव प्रचारप्रसारमा गाउँगाउँ जानथालेका छन् ।' महिलामा राजनीतिक चेतना पहिलेको भन्दा निकै बढेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको तर्फबाट रामारोशन गाउँपालिकाको प्रमुख पदको उम्मेदवार बन्नुभएकी अनुराधा स्वाँरले यसपटकको स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता निकै बढेको बताउनुभयो । संविधानले नै स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्वको ग्यारेन्टी गरेपछि महिला उम्मेदवारको संख्या बढेसँगै महिला मतदातामा निकै उत्साह थपिएको आफूले पाएको स्वाँरले सुनाउनुभयो ।

संविधानले महिला प्रतिनिधित्व वृद्धिका लागि प्रयास गरेको छ । अहिले हरेक वडामा २ जना महिलाका लागि आरक्षित सिट छन् । अघिल्लो स्थानीय निर्वाचनमा २० प्रतिशत महिलाका लागि आरक्षित थियो भने अहिले ४० प्रतिशत सिट महिलाका लागि आरक्षित गरिएको छ । प्रत्येक वडाका कम्तीमा दुईजना उम्मेदवार (महिला प्रतिनिधि र दलित अथवा अल्पसंख्यक समूहबाट) हुनुपर्ने प्रावधानले महिलाहरू आफ्ना लागि विशेष अवसर आएकोमा उत्साहित देखिन्छन् । पुरुषसँगै महिलाले पनि समय र परिस्थितिअनुसार आफूलाई प्रतिस्पर्धी बनाउँदै गइरहेका स्पस्ट देखिन्छ ।

 




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.