राजदूतको ‘अफर’ छोडेर गाउँपालिकामा वागी उम्मेदवार
(जुगार) रोल्पा : ‘मलाई राजदूतको अफर पनि आएको हो । मैले त्यो अफर अस्वीकार गरिसकें’ रोल्पाको त्रिवेणी गाउँपालिकाको प्रमुखमा वागी उम्मेदवार वन्ने घोषणा गर्नु भएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरी भन्नुहुन्छ,‘पार्टीले मलाई टिकट नै दिएन । अव मेरो वागी उम्मेदवारी हुन्छ ।’
दश वर्षे सशस्त्र विद्रोहको केन्द्र मानिने रोल्पामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गिरीले वागी उम्मेदवार बन्ने घोषणा गरिसक्नु भएको छ । गिरी स्वतन्त्र उम्मेदवार वन्ने उद्घोषले माओवादी केन्द्रमा मात्र होईन अन्य पार्टीमा पनि चर्चाको विषय वनेको छ ।
स्थानीय तहको चुनावमा त्रिवेणी गाउँपालिको अध्यक्षको उम्मेदवार बन्न पार्टीले टिकट नदिने भएपछि नेता गिरीले वागी उम्मेदवार वन्ने घोषणा गर्नु भएको हो । ‘पार्टीले अन्याय गरेकाले मैले वाध्य भएर स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु परेको हो’,केन्द्रीय सदस्य गिरी भन्नुहुन्छ,‘उम्मेदवार छनौटमा व्यक्तित्व र योगदानको मूल्यांकन भन्दा पनि नातावाद र कृपावाद हावी भएपछि मैले वाध्यात्मक रुपमा स्वतन्त्र उम्मेदवार घोषणा गर्नु प¥यो ।’
राष्ट्रिय वुद्धिजिवी संगठनको केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका नेता गिरीले पार्टीले अन्याय गरेको जिकिर गर्नु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ५ का गिरी जनजागृति उच्च माध्यमिक विद्यालयको प्राचार्यको जिम्मेवारीमा रहेकै वेला माओवादी विद्रोहमा सामेल हुनु भएको थियो ।
२०६० सालदेखि निरन्तर पार्टीले दिएको जिम्मेवारीमा रहनु भएका गिरीलाई गाउँपालिकामा समेत उम्मेदवार बन्न नदिएकोमा रोष प्रकट गर्दै आउनु भएको छ । गाउँपालिका स्तरीय पार्टीको वैठकमा उहाँसहित संभावित तीन जना उम्मेदवारको नाम जिल्लामा सिफारिस गरिएको थियो । जिल्ला स्तरमा पनि टुंगो नलागेपछि प्रदेश स्तरमा निर्णयका लागि सिफारिस भएको थियो । अन्ततः प्रदेशले समेत टुंगो लगाउन नसकेपछि केन्द्रमा पठाईएको थियो । चुनावको मिति सरेपछि पुनः गाउँपालिका स्तरबाटै नाम टुंगो लगाउदा आफुलाई पन्छाईएको नेता गिरीको आरोप छ । छिमेकी बुढागाउँका गंगाराम घर्ती ‘सूर्य’ लाई अध्यक्षको उम्मेदवार टुंगो लगाएपछि उहाँ स्वतन्त्र उम्मेदवार वन्ने निश्कर्षमा पुग्नु भएको हो ।
त्रिवेणी गाउँपालिकाको केन्द्र विवादमा नेता गिरीको भूमिका भेगिय पक्षमा भएको कारण टिकट दिन नसक्ने तर्क गरिएको उहाँले बताउनुभयो । त्रिवेणी वा जुगार केन्द्र भन्नेमा लामो विवाद रहेको थियो । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले दुवै ठाउँलाई विकल्पका रुपमा केन्द्रको सिफारिस गरेको थियो । गिरीले केन्द्र जुगारमै कायम गर्न अगुवाई गरेकाले त्रिवेणी गाउँपालिकाका अन्य वडाका कार्यकर्ता र मतदाताले मत दिन नसक्ने आंकलन गरेरै पार्टीले उम्मेदवार हुनबाट वञ्चित गरेको धेरैको वुझाई छ ।
हाल केन्द्र जुगारमै कायम भएको र निर्वाचित जनप्रतिनिधिको सामान्य वहुमतले केन्द्र कहाँ राख्ने र नाम परिवर्तन गर्न सक्ने प्रावधान छ । गिरी जुंगारमै केन्द्र कायम गर्न चाहानुहुन्छ । अन्य वडाका कार्यकर्ता र मतदाता गिरी प्रति सशंकित वनेको पार्टीको वुझाई छ ।
माओवादी गढ मानिने रोल्पामै केन्द्रीय तहका नेताले वागी उम्मेदवारी दिने घोषणाले तरंग पैदा गरेको छ । सबै पार्टीलाई उम्मेदवार टुंगो लगाउन सकस परिरहेकै वेला माओवादी केन्द्रका नेता गिरीले वागी उम्मेदवार वन्ने घोषणा गर्नु भएको छ ।
विद्रोहमा सामेल हुँदा दश वर्षसम्म लाभको कुनै पनि पदमा नवस्ने वाचा गरेको गिरीले स्मरण गर्दै भन्नुभयो,‘शान्तिकालमा राजदूतदेखि नेपाल टेलिभिजनको महाप्रवन्धक वन्न आग्रह हुँदा लाभको पद लिइन । अहिले गाउँपालिकाको अध्यक्ष उम्मेदवार वन्छु भन्दा पार्टीले पन्छायो ।’ जुगारमै पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको हो । पार्टीले अभैm पनि आफुलाई नै आधिकारिक उम्मेदवारका रुपमा अघि सार्ने अपेक्षा उहाँको छ । ‘पार्टीले मलाई टिकट दिएर न्याय गर्छ भन्ने आशामा छु’, नेता गिरीले भन्नुभयो,‘नदिए स्वतन्त्रबाट चुनाव लड्छु । यो मेरो घोषणा भयो ।’