'माग पुरा नभएसम्म राजपा चुनावमा जादैन'
वीरगन्ज: राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरुको माग पुरा नभए सम्म चुनावमा सहभागी नहुने बताउनुभएको छ। बाराको कलैयामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सरकारले जबरजस्ति चुनाव गराए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी दिनुभयो।
उहाँले भन्नुभयो, 'मधेसको माग पुरा नभए सम्म चुनावमा सहभागी नहुने मधेसी जनताको म्याण्डेट हो, त्यसैले हाम्रा माग सम्बोधन नभए सम्म हामी चुनावमा जान्नौ , यदि जबरजस्ति चुनाव गर्न खोजियो हामीले त्यो चुनाव हुन दिन्नौ।उहाले संघर्षको लागि तयार रहन कार्यकर्ताहरुलाइ निर्देशन पनि दिनुभयो।
मधेसमा स्थानीय निकायको संख्या थप गर्नुको विकल्प नभएको अध्यक्ष ठाकुरको भनाइ छ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बाराका महासचिव जय प्रकाश साह नेपाली काँग्रेस परित्याग गरि राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्नु भयो ।साहलाइ अध्यक्ष ठाकुरले फुलमाला लगाएर पार्टीमा स्वागत गर्नुभयो। साहले कलैया उपमहानगरपालिकाको मेयरमा काँग्रेसको तर्फबाट टिकट नपाउने सम्भावना देखेपछि मेयरको उम्मेदवार बन्न राजपामा प्रवेश गरेको श्रोतले जनाएको छ।
यस्तै नेकपा एमालेका राम एकबाल मिया, 'काँग्रेसका चन्देश्वर दुबे सहित चार सय जना विभिन्न पार्टी परित्याग राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेको राष्ट्रिय जनता पार्टी बाराका प्रवक्ता रमेश सर्राफले जानकारी दिनुभयो। राष्ट्रिय जनता पार्टी बाराका अध्यक्ष नवलकिशोर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव , महामन्त्री जितेन्द्र सोनल ,महासचिव राजेशमान सिंह , केन्द्रिय सदस्य रमेश यादव लगायतका नेताहरुको उपस्थिती रहेको थियो।