आज देउवा प्रधानमन्त्री

आज देउवा प्रधानमन्त्री

काठमाडौं : भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री पदमा कांग्रेस सभापति देउवाको एकल मनोनयन दर्ता छ ।

संसद्मा जारी गतिरोधलाई निकास दिन सभामुख घर्तीले आग्रह गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार संसद्को दुईवटा बैठक राख्न प्रस्ताव गर्नुभएको थियो । पहिलो बैठकले संसद्मा आजसम्म भएका काम-कारबाही र राष्ट्रपतिबाट आएका पत्रबारे जानकारी दिने, त्यसपछि प्रमुख तीन दलका शीर्ष नेताहरू बोल्ने कार्यसूची तय गरिएको छ । पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संसद् किन बन्द गर्नुपर्‍यो र खुल्यो भन्नेबारे संसद्लाई जानकारी गराउनुहुनेछ भने कांग्रेस सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले त्यससम्बन्धमा आफ्नो प्रतिक्रिया दिने कार्यक्रम छ । सभामुखले राष्ट्रपतिको पत्र पढ्दै आफ्नो धारणा व्यक्त गरेपछि आधा घन्टापछि बस्ने दोस्रो बैठकले प्रधानमन्त्री निर्वाचन गर्ने सहमति भएको जानकारी स्रोतले दियो ।

एमालेका नेताहरूको उक्त प्रस्तावमा प्रधानमन्त्रीका एकल उम्मेदवार देउवाले सहमति जनाउनुभएको थियो । बैठकमा प्रधानमन्त्री दाहालले दोस्रो चरणको स्थानीय चुनाव नजिक आइसकेको तथा प्रदेश र केन्द्रीय संसद्को निर्वाचन कात्तिक÷मंसिरभित्र सम्पन्न गरी माघ ७ गतेभित्र संविधान कार्यान्वयन गर्नुपर्ने अवस्थामा संसद् अवरोध राम्रो नभएको बताउनुभएको थियो ।

सभामुखको अध्यक्षतामा बैठक बस्नुअघि सोमबारै तीन दलका नेताहरूको छुट्टै अनौपचारिक बैठकले मंगलबार दुई चरणमा संसद् बस्ने, पहिलो बैठकमा तीन दलका शीर्ष नेताहरूले अभिव्यक्ति दिने र दोस्रो बैठकमा प्रधानमन्त्रीको चुनाव गर्ने सहमति जुटाएको थियो । एमाले नेता भीम रावलले आफूले राखेको चारबुँदे अनौपचारिक प्रस्तावमा प्रमुख तीन दलका शीर्ष नेताले सहमति जनाएको बताउनुभयो । रावलका अनुसार तीन दलबीच असार १४ गते हुने दोस्रो चरण निर्वाचनको सुनिश्चितता र निर्वाचन स्वतन्त्र, धाँधलीरहित, निष्पक्ष गर्ने सहमति भएको छ । त्यस्तै, ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले प्रदेश र केन्द्रीय संसद्को निर्वाचन कात्तिक÷मंसिरभित्रै सम्पन्न गर्ने निर्णय भएको छ । पहिलो चरणको निर्वाचनमा भएकाजस्तै धाँधलीलगायत घटना दोहोरिन नदिने र धाँधली भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ ।

माओवादी केन्द्रका नेता रामनारायण बिडारीले भने यसलाई आफूहरूले चारबुँदे सहमतिका रूपमा नलिएको बताउनुभयो । माओवादी केन्द्र्रकै नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दलले भोलि सदन अवरोध नगर्ने सहमति भएको जानकारी दिनुभयो । सोमबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुनुभएन ।

ओली-कांग्रेस नेता भेट

संसद् अवरोध खुलाउँदै प्रधानमन्त्री पदको निर्वाचनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्न कांग्रेस नेता विमलेन्द्र निधि, प्रदीप गिरी र ज्ञानेन्द्रबहादुर कार्की सोमबार ओलीनिवास बालकोट पुग्नुभएको थियो ।

ओलीले आफूहरूलाई प्रधानमन्त्री निर्वाचनबारे कुनै जानकारी नभएको धारणा व्यक्त गर्नुभएको थियो । ओलीसँग माक्र्सवाद, महाभारत, रामायणका विभिन्न प्रसंग उल्लेख गर्दै कांगे्रस नेता गिरीले अत्यन्त शालीन शब्दमा भरतपुर महानगरपालिकाको निर्वाचन र संसद् अवरोधबीच तारतम्य कसरी भयो भन्ने जिज्ञासा राख्नुभएको थियो । अन्ततः ओलीले ‘गिरीजी नै आएकाले संसद् अवरोध हटाउने विषयमा आफू सकारात्मक भएको' टिप्पणी गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.