६ राष्ट्रले तोडे कतारसँग सम्बन्ध, नेपाल पनि सतर्क
रियाद : मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।
उनीहरूले अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार साउदीले कतारसँग आफ्ना सबै सीमा र सामुद्रिक तथा हवाई सम्पर्कसमेत बिच्छेद गरेको छ । यस्तै, संयुक्त अरब इमिरेट्सले कतारका कूटनीतिक प्रतिनिधिलाई ४८ घन्टाभित्र देश छाड्न आदेश दिएको छ । उसले कतार जाने आफ्नै सबै विमानसेवा स्थगन गरेको छ ।
साउदी अरेबियाले एउटा गोप्य मुद्दामा कतारले सम्प्रभुतामाथि नै खलल पुर्याएको गम्भीर आरोप लगाएको छ भने इजिप्टको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेको बताइएको छ । इजिप्टसहित अरब राष्ट्रका विभिन्न ६ मुलुकले आफ्ना यातायात सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या पर्ने देखिएको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्याउने गरेको छ ।
साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।
यसैबीच, कतारले आतंकवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै आफूमाथि लगाइएका सबै आरोपको खण्डन गरेको छ । सम्बन्धविच्छेद गराउनुको अर्थ कतारलाई अरूमाथि निर्भर बन्ने अवस्था सिर्जना गर्नु रहेको बताउँदै कतारी प्रशासनले आवश्यक पर्ने सबै उपाय अवलम्बन गरी अघि बढ्ने बताएको छ । कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षड्यन्त्रबाट अरब राष्ट्रहरूको पछिल्लो निर्णय आएको दाबी गरेको छ ।
बहराइनको विदेश मन्त्रालयले दोहाबाट आफ्नो दूतावास ४८ घन्टामा हटाउने बताएको छ । यसैगरी, बहराइनमा रहेका कतारका कूटनीतिज्ञलाई पनि देश छाड्न आदेश दिएको छ । कतारका सर्वसाधारण नागरिकले पनि दुई साताभित्र बहराइन छाड्नुपर्नेछ । यी दुई देशले हवाई र जल यातायात बन्द गर्ने भएका छन् । यसबाट कतार एयरवेजलाई कस्तो प्रभाव पर्छ भनेर केही पनि खुलाइएको छैन । कतार एयरवेज यस क्षेत्रकै प्रभावशाली विमानसेवा हो । साउदी अरेबिया नेतृत्वका यी मुलुकले कतारले अल कायदा र इस्लामिक स्टेटलाई सहयोग गरेको दाबी गरेका छन् ।
कतारले भने यस्ता आरोपको खण्डन गर्दै आएको छ । आतंकवादलाई सहयोग गरेको भन्दै अमेरिकी अर्थ मन्त्रालयले कतारका कैयौं नागरिकमाथि प्रतिबन्ध लगाएको छ । हमासका पूर्वप्रमुख खालिद मेसाललाई शरण दिएकोमा पनि ती मुलुकले विरोध गरेका छन् । अफगान तालिबानले पनि सन् २०१३ मा दोहामा शखा कार्यालय खोलेको थियो । कतारले सन् २०२२ को फुटबल वल्र्डकप आयोजना गर्दै छ ।
इरानले कतार र अन्य अरब मुलुकबीच देखिएको समस्या राजनीतिक वार्ता र शान्तिपूर्वक माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । अर्को मुलुक टर्कीले अरब क्षेत्रमा देखिएको समस्या समाधान गर्न तत्पर रहेको जनाएको छ ।
नेपाल पनि सतर्क
सरकारले खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क बिच्छेदको घोषणा गरेपछि त्यहाँ रहेका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएको छ ।
परराष्ट्र सचिव शंकरदास बैरागीले खाडीमा रहेका नेपाली राजदूतसँग त्यहाँको पछिल्लो घटनाक्रमबारे नियमित सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
अहिलेसम्म नेपालीलाई कुनै समस्या आउने अवस्था नरहेको राजदूतहरूले अवगत गराएको उहाँले बताउनुभयो । 'कतारमा चार लाखभन्दा बढी नेपाली छन् । उनीहरूलाई कुनै मानवीय संकट आइपर्न सक्छ । त्यसैले यसबारे हामीले त्यहाँस्थित राजदूतलाई नियमित रूपमा जानकारी गराउन र सतर्क रहन भनेका छौं । खाडीस्थित सबै दूतावाससँग हामी सम्पर्कमा छौं', उहाँले अन्नपूर्णसँग भन्नुभयो । कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा अन्य खाडी देशले गरेपछि त्यहाँ हाहाकार हुन सक्ने र त्यसले मानवीय संकट उन्पन्न हुन सक्ने हुँदा त्यसप्रति सचेत रहन परराष्ट्रले दूतावासलाई भनेको छ ।
खाडी क्षेत्रको परिस्थिति बुझ्न र त्यसबारे मन्त्रालयलाई जानकारी गराउन परराष्ट्रले खाडीस्थित सबै नेपाली दूतावासलाई सोमबारै निर्देशन दिएको छ । साउदी अरेबिया, कुवेत, युएई, इजिप्ट, बहराइन तथा यमनमा ठूलो संख्यामा नेपाली छन् । कतारमा रंगशालालगायत पूर्वाधार विकासका परियोजना निर्माणमा नेपाली कार्यरत छन्।
कतारले आतंकवादलाई प्र श्रय दिएको भन्दै ऊसँग साउदी अरेबिया, इजिप्ट, युएई, बहराइनलगायत मुलुकले कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेसँगै खाडी क्षेत्रमा संकट आउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कतार खाडी क्षेत्र सानो तर समृद्ध मुलुक मानिन्छ ।