'आयोगले तोकेको खर्चले चुनाव जितिँदैन'

'आयोगले तोकेको खर्चले चुनाव जितिँदैन'

इटहरी : दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले चुनावी प्रचारप्रसार र खर्च बढाएका छन् । निर्वाचन आयोगले तोकेको सिलिङभन्दा बढी खर्च राजनीतिक दलहरूबाट भइरहेको छ । राजनीतिक दलले निर्वाचनका लागि प्रिन्ट भेस्ट र झन्डामा अत्यधिक खर्च गरेका छन् । इटहरीका टोलटोलका घरमा पार्टीका झन्डा फहराइएका छन् । पोल र रूखमा समेत झन्डा राखिएका छन् । त्यति मात्र होइन, माइकिङ र चुनाव प्रचारप्रसारमा हिँड्नेलाई खाजा र खानाका लागि समेत दैनिक हजारौं रुपैयाँ खर्च गरिरहेका छन् । निर्वाचनको मिति सर्दै जाँदा खर्चको आकार झन् बढेको हो ।

चुनावी खर्चबारे स्थानीय दलका नेताहरू खुलेरै बोल्न भने तयार छैनन् । तर एक उम्मेदवारले वडाध्यक्ष जित्नका लागि कम्तीमा पनि १० लाख रुपैयाँ खर्च गर्ने सम्बन्धित दलका नेताहरू बताउँछन् । 'मेयर र केही वडाका अध्यक्षका उम्मेदवारका लागि यो रकम बढ्न पनि सक्छ', स्थानीय एक राजनीतिक दलका नेता भन्छन्, 'उम्मेदवारको आर्थिक क्षमता र भोट तान्न गर्नुपर्ने मेहेनतले यो रकम बढ्न सक्छ ।'

त्यसमाथि निर्वाचनको मिति सरेपछि उम्मेदवारलाई अझ धेरै सकस परेको छ । जेठ ३१ गतेको चुनावलाई लक्षित गर्दै परिचालन गरिएका युवालाई थप समय परिचालन गर्दा खर्च बढेको ती नेता बताउँछन् ।

उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले साढे ५ लाख रुपैयाँसम्म खर्च गर्न पाउँछन् भने उपमहानगरपालिकाका वडाध्यक्ष र सदस्यले साढे २ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने प्रावधान छ ।

इटहरीमा कांग्रेस र एमालेबाहेक अन्य दलका मेयर र उपमेयरका उम्मेदवारको छनोट भइसकेको छ । त्यस्तै लगभग सबै दलले वडाका आफ्ना उम्मेदवार छनोट गरिसकेका छन् । उम्मेदवार छनोट भइसकेपछि उम्मेदवारहरू भोट माग्दै हिँडिरहेका छन् । यस क्रममा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गरेका छैनन् । सबै दलले निर्वाचन आचारसंहिता र निर्वाचन खर्चसम्बन्धी नियम मानेको बताए पनि व्यवहारमा त्यो लागू भएको छैन ।

एमालेका जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाबाट मेयरका दावेदार द्वारिकलाल चौधरी एउटा पार्टीको खर्चले अर्को प्रतिस्पर्धी पार्टीको खर्च बढाउने गरेको बताउनुहुन्छ । 'प्रतिस्पर्धीले जस्तो खेल खेल्यो, त्यस्तै र अझ त्योभन्दा बढी गतिविधि गर्ने हुँदा अरू पार्टीको खर्च अस्वभाविक बढ्ने गरेकोछ', उहाँ भन्नुहुन्छ, 'त्यसो हुँदा निर्वाचन आचारसंहिता उल्लंघनको क्रम बढेकै छ ।'

कांग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ पार्टीले गर्ने खर्च र जनस्तरबाट पार्टीको चुनावलाई गर्ने सहयोगको फरकफरक हिसाब हुने बताउनुहुन्छ । तामाङका अनुसार पार्टीले गर्ने खर्च आचारसंहिताले तोकेअनुसार नै छ । 'तर गाउँ गाउँमा कांग्रेस समर्थकहरूले आफैं झन्डा र टी सर्टहरू छापेर बाँडिरहेका छन्', तामाङ भन्नुहुन्छ, 'त्यो आवश्यकता पनि हो र अस्वीकार पनि गर्न सक्दैनौं ।'

खर्च गर्ने सवालमा सबै पार्टीले समुदायअनुसार गर्ने गरेका छन् । धेरैजसो पार्टी सामान्य पूर्वाधार बनाएर भोट तान्ने मेलोमा लागेका छन् । 'इटहरीकै केही बाटो ग्राभेल गरिएका छन्', एक पार्टीका कार्यकर्ता भन्छन्, 'उम्मेदवारहरू जसरी पनि भोट तान्न प्रतिस्पर्धात्मक तरिकाले खर्च गरिरहेका छन् ।'उम्मेदवारहरूले खर्च गर्न थालेपछि गाउँगाउँमा नेताहरूबाट पैसा लिने प्रवृत्तिसमेत मौलाएको छ । नेताहरूले चुनावअघि नै खर्च गर्ने हो भन्ने सोच मतदाताहरूमा पनि विकास भएको छ । उनीहरू विकासको 'डिमान्ड' गर्ने गर्छन् । 'घर अगाडिको बाटो बनाइदिनेलाई भोट दिने हो', इटहरीका एक नगरवासी भन्छन्, 'यतिखेरै हो नेताहरूबाट काम लिने, जितेर गएपछि त के हो, के हो ।'

चुनाव जित्न दल तथा उम्मेदवारहरूले प्रतिस्पर्धी रूपमा पैसा खर्च गरिरहँदा निर्वाचन आचारसंहिताले भने खर्चको सीमा तोकेको छ ।उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले साढे ५ लाख रुपैयाँसम्म खर्च गर्न पाउँछन् भने उपमहानगरपालिकाका वडाध्यक्ष र सदस्यले साढे २ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने प्रावधान छ।

यस्तै नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले साढे ४ लाख रुपैयाँ र नगरपालिका वडाध्यक्ष र सदस्यले २ लाख रुपैयाँ खर्च गर्न पाउने नियम छ । यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले साढे ३ लाख रुपैयाँ र गाउँपालिका वडाध्यक्ष र सदस्यले साढे १ लाख रुपैयाँ खर्च गर्न पाउने भनिए पनि सोभन्दा बढी खर्च भइरहेको छ ।

निर्वाचनको प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न राजनीतिक दलविरुद्ध जिल्ला निर्वाचन कार्यालय सुनसरीमा उजुरी परिरहेका छन् । कार्यालयका अनुसार प्रायः उजुरीहरू विकास निर्माणमा पार्टी तथा उम्मेदवारले खर्च गरेको भनेर आइरहेको छ । बाटो घाटो बनाउने काम भयो भन्दै धेरै उजुरी आइरहेको र अनावश्यक रूपमा पोस्टर टाँसिएका भन्ने उजुरीहरू पनि आइरहेको कार्यालयले जानकारी दिएको छ।

यस्ता निवेदन र मौखिक उजुरीहरू प्रकृति हेरेर आफंैले सचेत गराउने वा मुख्य निर्वाचन कार्यालय पठाउने काम भइरहेको छ । निर्वाचन आयोगले राजनीतिक दलको खर्चलाई अंकुश लगाउँदे खर्चका लागि अलग्गै बैंक वा वित्तीय संस्थामा खाता खोली कारोबार सञ्चालन गर्नुपर्ने नियम बनाएको छ । यसैगरी खाताको सञ्चालन तथा कारोबार पारदर्शी हुनुपर्ने नियम छ । उम्मेदवार वा राजनीतिक दलले पाँच हजार रुपैयाँभन्दा बढी चन्दा लिँदा बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने नियम भए पनि यसको पालना भएको छैन ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.