डेढ साता सर्‍यो कर्पोरेट ब्याडमिन्टन

डेढ साता सर्‍यो कर्पोरेट ब्याडमिन्टन

काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण असार १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा यसअघि असार ६ देखि १० गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा हुने भनिएको प्रतियोगिताको खेलस्थल र समय परिवर्तन गरिएको हो । प्राविधिक कारणले प्रतियोगिता केही पर सारिएको जानकारी अन्नपूर्ण मिडिया नेटवर्कका ब्रान्ड म्यानेजर श्याम मालीले दिए । नयाँ तालिकाअनुसार प्रतियोगिता हल्चोकस्थित एपीएफको कभर्डहलमा हुनेछ । सहभागी खेलाडीले जेठ २६ गतेसम्म फारम भर्न सक्नेछन् ।

प्रतियोगितालाई विगतको तुलनामा सहभागिता र स्वरूपका दृष्टिले थप बृहत् बनाइनेछ । विगतमा सफलतापूर्वक तीनवटा संस्करण पूरा गरेको प्रतियोगितालाई यसपटकदेखि अन्तर्राष्ट्रिय स्वरूपमा सञ्चालन गर्न लागिएको हो । काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीसँगै देशभरबाट छनोट भएर आएका विजेता र उपविजेता खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अन्नपूर्ण पोस्ट्को आयोजनामा यसअघि धनगढीमा वैशाख ९ देखि ११ गतेसम्म, नेपालगन्ज र बुटवलमा वैशाख १७ देखि १९ गतेसम्म, पोखरामा वैशाख २१ देखि २३ गतेसम्म र इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको थियो । ती क्षेत्रबाट छनोट भएका विजेता र उपविजेता खेलाडीले काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुला स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । यी स्पर्धामा वरीयता प्राप्त चर्चित राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन् ।

कुल ६ स्पर्धा रहेको प्रतियोगितामा कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स स्पर्धा पनि समावेश गरिएको छ । कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक विधाको विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ।

प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघले प्राविधिक सहयोग गर्नेछ । अन्तिम चरणको प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं बाहिरबाट छनोट भई आउने खेलाडीका लागि यातायातको व्यवस्थासमेत आयोजकले गर्नेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एपीवान एचडी टेलिभिजनबाट गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.