नेपालमा हुने १३ औं सागबारे थिम्पुमा छलफल हुँदै
काठमाडौं : नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को विषयमा छलफल गर्दै पाँच सदस्यीय नेपाली टोली सोमबार भुटान पुगेको छ । भुटानको राजधानी थिम्पुमा मंगलबार र बुधबार दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक बस्दै छ । बैठकमा १३औं साग खेलकुदका बारेमा छलफल हुनेछ । बैठकमा सहभागी हुन दक्षिण एसियाली ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली भुटान पुगेको हो ।
नेपाली टोलीमा युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिसमेत छन् । बैठकमा १३औं साग खेलकुदमा पनि २३ खेल नै समावेश गर्ने प्रस्ताव गरिने जनाइएको छ । यसअघि गत वर्ष भारतमा सम्पन्न १२औं सागमा पनि २३ खेल नै समावेश गरिएको थियो । बैठकमा दक्षिण एसियाली ओलम्पिक कमिटीको विधानको विषयमा पनि छलफल गरिने जनाइएको छ ।