सीमा सुरक्षामा उच्च सतर्कता
धरान : नेपाल-भारत खुला सिमानामा हुने सम्भावित घटनालाई दृष्टिगत गरी प्रहरीले सीमाक्षेत्रको सुरक्षामा उच्च सतर्कता अपनाएको छ । पूर्वीतराईका जिल्लामा निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि सीमाक्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।खुला सिमानाको मौका छोपी अवैध हातहतियारको ओसारपसार गरीनिर्वाचनविरोधी गतिविधि हुन सक्ने भन्दै प्रहरीले सीमाक्षेत्रमा विशेष निगरानी र सुरक्षा जाँचलाई तीव्र पारेको हो ।
सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न पूर्वक्षेत्रीय प्रहरी कार्यालयले पूर्वीतराईका जिल्लामा थप प्रहरी परिचालन गरी चौबीसै घन्टा चनाखो हुन जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देशनसमेत दिएको पूर्वाञ्चलका प्रहरी प्रमुख रमेश भट्टराईले बताउनुभयो । तराईका जिल्लामा हुने सम्भावित घटनालाई दृष्टिगत गरी निर्वाचनविरोधी गतिविधि नियन्त्रण गर्न प्रहरीको विशेष टोलीसमेत परिचालन गरिएको उहाँको भनाइ छ ।
खुला सिमानाको मौका छोपेर सीके राउत समूह, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, जनतान्त्रिक तराई मुक्ति मोर्चालगायत तराईका भूमिगत समूहबाट निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि पूर्वक्षेत्रीय प्रहरी कार्यालयले पूर्वीतराईका सुनसरी, सप्तरी, सिरहा, मोरङ र झापामा निर्वाचनविरोधी गतिविधि नियन्त्रण गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ ।
अवैध हातहतियारको ओसारपसार एवं निर्वाचनविरोधी गतिविधि हुन सक्ने भन्दै प्रहरीले सीमाक्षेत्रमा विशेष निगरानी र सुरक्षा जाँचलाई तीव्र पारेको छ।
भारतसँग सिमाना जोडिएको सुनसरीको कोसी, भोक्राहा, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निर्वाचनविरोधी गतिविधि नियन्त्रणका लागि हतियारसहितको प्रहरीको विशेष टोली परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताउनुभयो । सुनसरीमा सीके राउतको समूह, विप्लव माओवादी र केही तराईका भूमिगत समूहले निर्वाचनविरोधी गतिविधि बढाएपछि तिनलाई नियन्त्रण गरी निर्वाचन सफल बनाउन जिल्लाभर प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको उहाँको भनाइ छ ।
सुनसरीका विभिन्न स्थानमा निर्वाचनविरोधी गतिविधि गर्ने नेपाल कम्युनिस्ट पार्टीका सातजना कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको पनि प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । सुनसरीको भन्टाबारी, लौकही, कप्तानगन्ज, देवानगन्ज, अमडुवा, घुस्कीलगायत नाकामा प्रहरीले सुरक्षा जाँच सुरु गरेको छ ।
३६ हजार प्रहरी परिचालन
दोस्रो तहको स्थानीय निर्वाचनमा पूर्वाञ्चलका १६ जिल्लामा म्यादी प्रहरीसहित ३६ हजार प्रहरी परिचालन गरिने भएको छ । हाल पूर्वाञ्चलमा भएका १३ हजार प्रहरी र थप गरिएका ६ हजार १९ हजार प्रहरी र १७ हजार म्यादी प्रहरी निर्वाचनमा परिचालन गरिने पूर्वाञ्चलका प्रहरी प्रमुख रमेश भट्टराईले बताउनुभयो । दोस्रो तहको निर्वाचनका लागि थप गरिएका ६ हजार प्रहरीलाई पूर्वाञ्चलका १६ वटै जिल्लामा खटाइसकिएको उहाँको भनाइ छ । पूर्वाञ्चलमा परिचालन गरिने सशस्त्र प्रहरी र नेपाली सेनाको संख्या भने यकिन भइनसकेको पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले बताउनुभयो ।