प्रचण्डलाई गृहमन्त्री छान्न सकस
काठमाडौ : ‘मलाई सफल बनाउने मन्त्री पठाउनु पर्छ’ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको त्यस्तो आग्रहमा सहमति जनाउनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री छान्न सकस परेको छ ।
अर्थमन्त्रालय काँग्रेसले र गृहमन्त्रालय माओवादी केन्द्रले लिने समझदारी भएअनुसार ती दुई मन्त्रालयमा पठाउने नेता छान्न दुवै नेताहरुलाई सकस परेको छ । दुवै पार्टीमा ती दुइ मन्त्रालयमा जान चाहने आकाँक्षी नेताहरुले लविङ गरिरहनु भएको छ ।
नेकपा माओवादी केन्द्र भित्र गृहमन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय हुन सकेको छैन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेताद्धय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल वीच मंगलबार बालुवाटारमा मन्त्री छनौट गर्ने बिषयमा अनौपचारिक छलफल भएको छ ।
स्रोतका अनुसार नेता श्रेष्ठले अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको सरकारमा रहेका मन्त्रीहरुलाई रोकेर नयाँ नेताहरुलाई सरकारमा पठाउनु पर्ने प्रस्ताव राख्नु भएको छ । अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थमन्त्री रहेका कृष्णबहादुर महरा र उर्जामन्त्री जनाद्र्धन शर्माले गृहमन्त्रालयका लागि दावी गर्नु भएको छ । महराले उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने आफनो चाहना व्यक्त गर्नु भएको भने शर्माले आफू गृहमन्त्रालय सम्हाल्न सक्षम रहेको दावी गर्नु भएको छ ।
अर्का नेता बर्षमान पुनले भने महरालाई रोजेको मन्त्रालयसहित सरकारमा पठाए वापत आगामी प्रतिनिधिसभा निर्वाचनमा आफूले रोल्पाबाट निर्वाचन लडन पाउनु पर्ने शर्त अगाडि सार्नु भएको छ । महरा र शर्माको विवाद मिलाउन बर्षमान पुनले महरालाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयमा पठाउने र जनाद्र्धन शर्मालाई गृहमा पठाउने एउटा विकल्प पनि अगाडि सार्नु भएको छ ।
अध्यक्ष प्रचण्ड महरालाई उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउन नकारात्मक नरहेपनि ०६३ यता माओवादी सरकारमा रहेका वेला अधिकाँश समय मन्त्री हुनु भएका महरालाई सरकारमा पठाउन नहुने दबाबमा हुनुहुन्छ ।
अध्यक्ष प्रचण्ड स्वयम महरा सरकारमा सहभागी नभएको अवस्थामा हरिबोल गजुरेललाई उपप्रधानसहित कुनै मन्त्रालयको जिम्मेवारीमा पठाउने र अग्नी सापकोटालाई गृहमन्त्रालयको जिम्मेवारी दिने पक्षमा रहेको एक नेताले बताए । गजुरेल र सापकोटा दुवै अध्यक्ष प्रचण्ड निकट नेता मात्रै हुनुहुन्न,अध्यक्ष प्रचण्डको निर्देशन हुबहु पालना पनि गर्नुहुन्छ । शर्माले आफनो निर्देशन पालना गर्नु हुन्न भन्नेमा जानकार अध्यक्ष प्रचण्ड स्वंयमले कसलाई गृहमन्त्रीको जिम्मेवारी दिने भन्ने बारेमा मुख खोल्नु भएको छैन ।
अध्यक्ष प्रचण्ड आफनो नेतृत्वको सरकारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री रहनु भएका हितराज पाण्डेलाई पनि मन्त्री बनाउन चाहनुहुन्छ । पाण्डेलाई सरकारबाट बाहिर निकालेर उहाँले सम्हाल्नु भएको मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष कमल थापालाई दिइएको थियो ।
नेता टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेलले पनि आफनो नेतृत्वमा देउवा सरकारमा सहभागी हुनु पर्ने दावी पेश गर्दै आउनु भएको छ । अर्का नेता शक्तिबहादुर बस्नेतले पनि आफू गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै आउनु भएको छ । तर बस्नेत गृह मन्त्रालय नपाएको अवस्थामा जुनसुकै मन्त्रालयको जिम्मेवारी लिन तयार देखिनु भएको छ । मन्त्रीका लागि रेखा शर्मा,सीता नेपाली,गोमा कुँवर,महेन्द्रबहादुर शाही,गणेशमान पुन लगायतले पनि दावी पेश गर्नु भएको छ ।
मन्त्रालयमा पठाउने नेताहरुका वीचमा सहमति नजुटेको अवस्थामा अध्यक्ष प्रचण्डले दोस्रो चरणको निर्वाचनपछि मात्रै सरकारमा सहभागी गराउने निर्णय लिन सक्ने पनि अर्का एक नेताले बताए । ती नेताका अनुसार निर्वाचित नेताहरुलाई पठाउँदा साँगठनिक जनाधारलाई मजवुत बनाउन सकिने संभावना अध्यक्ष प्रचण्डले देख्नु भएको छ । कृष्णबहादुर महरा र बर्षमान पुनलाई मन्त्री बनाउने नेताको प्रारम्भिक सूची बनाउन जिम्मेवारी दिनु भएको छ ।