चुनौतीसँग नडराउन गगनको सुझाव

चुनौतीसँग नडराउन गगनको सुझाव

काठमाडौं : स्वास्थ्यमन्त्री गगन थापाको मंगलबार बिदाइ गरिएको छ । बिदाइमा पार्टीनिकट कर्मचारीको भीड लाग्ने परम्परालाई तोड्दै मंगलबारको स्वास्थमन्त्री गगनको बिदाइमा फरक दृश्य देखियो । छोटो समयमै राम्रो काम गरेका गगनको बिदाइमा मन्त्रालयका कार्यालय सहायकदेखि विभिन्न अस्पतालका कर्मचारी उपस्थित भए ।

गगनको बिदाइमा कर्मचारीको ताँती लाग्यो । मन्त्रीको कार्यकक्ष खचाखच भएपछि कर्मचारीलाई बाहिरै लाइन लाग्नुपर्ने अवस्था आयो । यसअघिका मन्त्रीले काम गर्न लामो समय पाए पनि खासै उपलब्धि ननिस्कने र आफूखुसी काम गर्ने चलन स्थापित गरेको मन्त्रालयमा गगन फरक रूपमा प्रस्तुत हुँदा कर्मचारीमा खुसी र उहाँको छोटो समयमा बिदाइ गर्दा निरासका भाव झल्कियो ।

प्रायः मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीबीचको सम्बन्ध सौहाद्र्धपूर्ण भएको पाइँदैन । तर, छोटो समय मात्रै स्वास्थ्य राज्यमन्त्री बनेका तारामान गुरुङ गगनको बिदाइमा निरास देखिनुभयो । यसअघिका पत्रकार सम्मेलनमा गगन फेरि स्वास्थ्यमन्त्री बनेर आए मात्र उहाँले खनेका स्वास्थ्य सुधारका बाटा फराकिलो हुने जनाउँदै स्वास्थ्य राज्यमन्त्री गुरुङले मन्त्रालयलाई गगनको अभाव खड्किने बताउनुभयो ।

गगनको गतिमा हिँड्न धौ

स्वास्थ्यमन्त्री गगन थापाको बिदाइमा केही दिनमा आफैं पनि बिदाइ हुन लागेका र करिव ४० वर्ष स्वास्थ्य सेवामा बिताएका स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीमा पनि खुसी र दुःख दुवै भाव झल्किन्थ्यो । गगन र डा.उप्रेतीबीच पटकपटक असमति भएको खबर बाहिर आउने गरेको भए पनि उप्रेतीले बिदाइ कार्यक्रममा भन्नुभयो, 'मैले यत्रो वर्ष स्वास्थ्य क्षेत्रमा काम गरें तर मन्त्रीज्यूको गति समात्न धौ भएको पक्कै हो । उहाँको काम गर्ने शैली अति सिधा छ । उहाँका कारण स्वास्थ्य क्षेत्रको चर्चा र बहस भयो र काम पनि ।'

मन्त्रालय छाड्दा आफूले सुरु गरेका स्वास्थ्यका कार्यक्रम प्रणाली ओझेलमा पर्ने हुन् कि भन्ने चिन्तामा पर्नुभएका गगनले चुनौतीसँग नडराउन सबैलाई आग्रह गर्नुभयो । 'राम्रो काम गर्न डराउनुहुन्न । चुप लागेर बस्यो भने झन् क्षति हुन्छ । चुनौती सामना गर्न सके मात्र परिवर्तन हुन्छ', थापाले भन्नुभयो, 'यहाँ मैले एक जनाको गल्ती देखिनँ सिस्टमको गल्ती छ । त्यसैले सिस्टम सुधारका लागि सबै एकजुट हुनुपर्छ ।'

मन्त्री थापाले नेपालको स्वास्थ्य क्षेत्रमा हाल भएकै जनशक्तिबाट पनि धेरै राम्रा काम गर्न सकिने बताउनुभयो । त्यसका लागि सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा जिम्मेवारी र गम्भीरता आउनुपर्ने उहाँको भनाइ थियो । हालसम्मका स्वास्थ्यमन्त्रीमा उमेरले कान्छ गगनका सल्लाहकार र सहयोगी झन् कान्छा थिए । ३०÷४० वर्ष स्वास्थ्य सेवामा बिताएका कर्मचारीसँग मिलेर काम गर्न उनीहरूलाई कठिन नभएको होइन । मन्त्रालयकी प्रमुख विशेषज्ञ र भावी स्वास्थ्यसचिवकी दावेदार डा.किरण रेग्मीले स्वास्थ्यमन्त्री थापाका कारण मन्त्रालयको छविमा सुधार आएको बताउनुभयो ।

'स्वास्थ्य प्राविधिक विषय भएकाले त्यसलाई बुझेर काम गर्ने क्षमता कमैमा हुन्छ । तर, मन्त्रीमा त्यो क्षमता भएकाले आज स्वास्थ्य विषयले जताततै चर्चा पाएको छ । यसअघिका मन्त्रीले गर्न सकेनन्', डा.रेग्मीले भन्नुभयो।

इतिहास कोरियो

स्वास्थ्य मन्त्रालयको छवि सुधारमा सहयोग गरेको भन्दै गगनको मन्त्रालयका कार्यालय सहयोगीदेखि माथिल्लोस्तरका कर्मचारीमा चर्चा चलेको छ । जुन मंगलबार उहाँको बिदाइ कार्यक्रम चलिरहँदा पनि त्यो सुनियो । 'हामीले यस्तो मन्त्री अहिलेसम्म देखेका थिएनौं । मन्त्री भएर पनि सामान्य कर्मचारीजस्तो व्यवहार गर्नुभयो उहाँले । काम पनि राम्रै गर्नुभयो । मन्त्रालयमा को कुन पार्टीको हो भन्ने पत्ता लागेपछि मात्रै कामको जिम्मा दिइन्थ्यो जुन बन्द भयो', मन्त्रालयमा लामो समय बिताका एक कर्मचारीले भने, 'इतिहासमै पहिलो पटक हो यस्तो भएको । फेरि डर थपिएको छ अब कस्ता मन्त्री आउने हुन् भन्नेमा ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.