सरसफाइमा युवा
काठमाडौं : विश्व वातावरण दिवसको उपलक्ष्यमा बूढानीलकण्ठ-२ का युवाले आफ्नो आसपासका मठमन्दिर तथा खोलानाला सफा गरेका छन् । बूढानीलकण्ठ नगरपालिका-२ का युवाको समूहले आफ्नो गाउँ-टोल सफा राखौं भन्ने उद्देश्यसाथ सरसफाइ अभियान आयोजना सुरु गरेका हुन् । सरसफाइ अभियानअन्तर्गत मंगलबार रुद्रमती नदी र धोबीखोला तथा रुद्रेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरेका छन् ।
युवाको सरसफाइ अभियानलाई हौसला प्रदान गर्न कार्यक्रमको सभापतित्व वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिमा बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको उपस्थिति थियो ।
सरसफाइ कार्यक्रममा मेयर खरेलले बूढानीलकण्ठ नगरपालिकालाई हरियाली नगर बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ । गाउँटोल सफा सुग्घर र हराभरा राख्नु बूढानीलकण्ठवासीको प्रमुख दायित्व हुनुपर्ने विचार व्यक्त गर्दै मेयर खरेलले मानव सभ्यतालाई स्वस्थ र सभ्य बनाइराख्न वातावरण जोगाउनु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'वातावरण जोगाउनु हामी सबैको प्रमुख दायित्व हो ।
तसर्थ वातावरणलाई मानवमैत्री बनाइराख्न सबै मिलेर अगाडि बढ्नुपर्छ ।' सोही कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २ का अध्यक्ष राजेन्द्र खड्काले आफ्नो वडालाई वातावरणमैत्री बनाई नमुना वडा बनाउने बाचा गर्नुभएको छ । उहाँले यो वडालाई वातावरणमैत्री र नमुना वडाको रूपमा परिचित गराउन आफूले कुनै कसर बाँकी नराख्ने जनाउनुभयो ।
कार्यक्रममा स्थानीय युवा, समाजसेवी, राजनीति कार्यकर्ता, पेसागत कर्मचारी, आमासमूह, स्थानीय क्लब तथा अग्रजको सहभागिता थियो । छरछिमेक, गाउँटोल, मठ-मन्दिर तथा खोलानाला सरसफाइ कार्यक्रममा सहभागी जनाउन पाउँदा आफूहरू ज्यादै खुसी तथा उत्साहित रहेको प्रतिक्रिया कार्यक्रममा उपस्थित युवाले दिएका छन्।