निकास देऊ : राजपा
काठमाडौं : राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो निर्वाचन निकट रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरण' बनाउन माग गरेको छ । संविधान संशोधनविना चुनावमा जान नसक्ने अडानमा रहेको राजपाले अध्यक्षमण्डलको अनौपचारिक बैठक र सरकारसँगको सम्पर्कमा असार १४ गते हुने चुनावमा सहभागिताका लागि ‘निकास दिनुपर्ने' धारणा व्यक्त गरेको हो । तराईका जिल्लामा सक्रिय रहनुभएका राजपाका शीर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो र शरत्सिंह भण्डारीले संविधान संशोधन नै आगामी निर्वाचनको निकास रहने दोहोर्याउनुभएको छ ।
राजाप नेता वृषेशचन्द्र लालले अन्नपूर्णसँगको कुराकानीमा आगामी चुनावमा सहभागी हुन संशोधनको विकल्प नरहेको बताउनुभयो । उहाँले मधेसका शीर्ष नेतात्रयसहित आफूहरू संविधान संशोधनविना चुनाव भए आन्दोलनमा जाने निक्र्योलसहित मधेसी जनतालाई एकीकृत गर्न लागिपरेको बताउनुभयो । अन्नपूर्णको एक प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, ‘मधेसका सशस्त्र समूह र आफूहरूबीच एजेन्डा नै फरक भएकाले खासै सम्पर्कमा रहनु जरुरी छैन । यद्यपि, सशस्त्रलगायत अन्य राजनीतिक दल र समूहले संविधान संशोधनविना चुनाव भए हाम्रा विरोध कार्यक्रमलाई सघाउन सक्छन् ।' राजपाले सरकारलाई दिएको समर्थन कार्यान्वयनका लागि तत्काल वार्ता गर्दै एउटा ठोस निर्णयमा पुग्नु अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
राजपाकै अर्का नेता केशव झाले स्थानीय तह पुनःसंरचना आयोग (बालानन्द पौडेल) को प्रतिवेदनअनुसार ११ जिल्लामा अझै पनि ११ वटा स्थानीय तह थप गर्नसक्ने प्रावधानको कार्यान्वयन गर्दै आन्दोलन क्रममा पक्राउ परेकालाई रिहा गरे चुनावमा सहभागी हुन सक्ने धारणा राजपाले बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘चुनावलगत्तै संविधान संशोधन गर्ने प्रतिबद्धतासहितको पत्र पनि तत्काल आउनुपर्छ ।' आफूहरूले एक-दुई दिनभित्रै निर्णायक वार्ता चाहेको जानकारी उहाँले दिनुभयो ।
सरकारले चौथोपटक मिति सारेर असार १४ गते दोस्रो चरण निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोगले प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४ सय ६१ स्थानीय तहमा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार असार २ गते उम्मेदवारको मनोनयन दर्ता, असार ५ गते निर्वाचन चिह्न प्रदान र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाभन्दा केही दिनपहिले नै सरकार र राजपाबीच सहमति हुन नसके आफूहरू चुनाव बहिष्कारमा जानुपर्ने बाध्यता रहेको अध्यक्षमण्डलका एक सदस्यले बताए । उनले भने, ‘दोस्रो चरण निर्वाचबारे पार्टीभित्रै चर्को बहससमेत भइरहेको छ । शीर्ष ६ नेताबीच दोस्रो चरण निर्वाचनमा सहभागी हुने विषयमा गम्भीर मतभेद र अन्योल तीव्र बन्न पुगेको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि विधान तयार पार्ने क्रममा जुटेको दलभित्र चुनावमा जाने वा आन्दोलन रोज्ने भन्नेबारे विवाद उत्कर्षमा पुगेको हो ।'
दोस्रो चरण निर्वाचनलाई लिएर आन्तरिक विवादमा फसेका कारण महन्थ ठाकुर र अनिलकुमार झाले अहिलेसम्म कुनै निर्णय लिन सकिरहनुभएको छैन । उग्रस्वभावका नेताका रूपमा चिनिने राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन र मधेसमा स्थानीय तहको संख्या नबढाई चुनावमा भाग लिँदा प्रत्युत्पादक हुने अडानमा रहेको दाबी स्रोतले गरेको छ । महेन्द्र राय यादव र शरत्सिंह भण्डारी भने चुनावलाई उपयोग गरेर जानुपर्ने पक्षमा हुनुहुन्छ ।