माओवादीमा भागवण्डा : महरालाई सत्ता वर्षमानलाई टिकट

माओवादीमा भागवण्डा : महरालाई सत्ता वर्षमानलाई टिकट

काठमाडौ : ‘माओवादी आन्दोलन भित्रका सबै भन्दा भाग्यमानी नेता कोही छ भने कृष्णबहादुर महरा नै हुन,’ माओवादी केन्द्रका एक नेताले अन्नपूर्णसँग भने, ‘न महरामा नविन सोच छ, न नयाँ योजना, न त कुनै चमत्कारिक क्षमता नै छ तर दोहोरो चरित्र प्रदर्शन गर्ने खुबी छ । त्यही खुवी नै महराका लागि सत्ताभोग गर्ने हतियार बनिरहेको छ ।’

केन्द्रीय कार्यालयको बुधबारको बैठकमा सरकारमा सहभागी भएका नेताहरुले सांकेतिक रुपमा महराको विरोध गरेपनि प्रत्यक्ष रुपमा कोही पनि उहाँको विपक्षमा बोल्नु भएन । फोन नउठाएको अवस्थामा नेताहरुले सार्वजनिक रुपमा आलोचना गर्ने घोषणा गर्नु भएको छ । नविन सोच र योजना केही नहुने तर पटक पटक सरकारमा सहभागी हुन महरालाई कुन रसायनले काम गरेको छ भन्ने जिज्ञासा नेता तथा कार्यकर्ताहरुले व्यक्त गर्न थालेका छन् ।
‘अब हामी जे गरेपनि टुलुटुलु हेरेर बस्दैनौ, खुलेआम आलोचना गर्छौ’ माओवादीका अर्का एक नेताले भने, ‘आफ्नो जिल्ला, निर्वाचन क्षेत्र, जाति र भाषालाई केन्द्रित गर्ने समग्र राष्ट्रको वेवास्ता गर्ने मन्त्रीहरुलाई अब सार्वजनिक रुपमा भण्डाफोर गर्छौ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा दुई जना रोल्पाली नेता महरा र बर्षमान पुनले लिनु भएको थियो । २०७० मा भएको संविधानसभा निर्वाचनमा मोरङबाट उम्मेदवारी दिनु भएका पुन पराजित हुनु भयो । निर्वाचनमा पराजय भोगेपछि घाइते बाघ झै हुनु भएका पुन आगामी प्रतिनिधिसभा निर्वाचनमा जसरी पनि चुनाव जित्ने रणनीतिमा हुनुहुन्छ । त्यसका लागि आफूलाई सुरक्षित र सहज रुपमा चुनाव जित्ने स्थान रोल्पा नै भएको ठान्नुभयो ।

रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी सुरक्षित गर्न कृष्णबहादुर महरालाई कुनै न कुनै रुपमा आफ्नो हातमा लिनु पर्ने बाध्यता पुनका लागि थियो । अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थमन्त्री रहनु भएका महराले दाङलाई आफ्नो सुरक्षित निर्वाचन क्षेत्र बनाउन बजेट विनियोजन गर्नु भएको छ । रामबहादुर थापा बादल निकट एक नेताका अनुसार पुनलाई रोल्पा छोडन तयार भएबापत महराले देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री पाउन सफल हुनु भयो ।

महराको नेतृत्वमा सरकारमा पठाउने पार्टीको निर्णय प्रति नेता नारायणकाजी श्रेष्ठले चित्त बुझाउनु भएको छैन, उहाँले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टी व्यक्त गर्नु भएको छ । ‘राजनीतिलाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिवर्तनको के अर्थ ? अनि हामी राजनीतिमा रहिरहनुको पनि के अर्थ रहन्छ र ? बदलौ’ महराले उपप्रधान तथा परराष्ट्रमन्त्रीको शपथ लिए लगत्तै श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नु भएको छ । श्रेष्ठको चाहना पनि आफू निकट गिरिराजमणि पोखरेल नेतृत्वमा देउवा सरकारमा पार्टीका नेताहरु पठाउनु पर्ने थियो ।

त्यतिमात्रै होइन, अध्यक्ष प्रचण्ड निकटका नेताहरु पनि महरालाई पुन सरकारको नेतृत्व गर्न लगाएर पार्टीले गल्ती गरेको, पार्टीलाई रोल्पाली नेताको पोल्टामा पुरयाएको, पार्टी समग्र राष्ट्रको हितमा भन्दा व्यक्ति केन्द्रित भएको जस्ता आरोप लगाउन थालेका छन् । यद्यपी प्रचण्ड निकटका नेताहरुले आफ्नो असन्तुष्टी श्रेष्ठले झै सार्वजनिक रुपमा व्यक्त गर्नु भएको छैन् । आन्तरिक र अनौपचारिक छलफल भने प्रचण्डको कार्यशैली र रोल्पाली नेताहरुको कार्यशैली प्रति असन्तुष्टी पोखिन थालेको छ ।

अर्थमन्त्री रहेका वेला पार्टीका नेता तथा कार्यकर्ताका प्रस्तावलाई पन्छाएको, व्यक्तिगत लाभ प्राप्त हुने राजनीतिक नियुक्तिमा पार्टीको सिफारिसलाई वेवास्ता गरेको जस्ता गम्भीर आरोप महरामाथि लाग्दै आएको छ । राष्ट्रिय बिमा संस्थानको नियुक्ति प्रकरण पार्टी भित्र बहसको विषय बनेको थियो ।
राजनीतिमा लोकसेवा पास गर्नु पर्दैन तर नेकपा माओवादी केन्द्र भित्र कृष्णबहादुर महरालाई सरकारमा सहभागी हुन लोकसेवा पास गरेका नेताको रुपमा व्यङ्ग्य हुन थालेको छ ।

दोहोरो चरित्र प्रर्दशन गरेकै आधारमा महरा ०६३ यता ६ पटक सरकारमा पुग्नु भएको छ । तर, सरकारमा गएर राष्ट्र र जनताको हितमा सम्झना लायक काम गरेको उनकै पार्टीका नेता तथा कार्यकर्ताले पाएका छैनन् । पार्टी भित्रका नेता तथा कार्यकर्ताहरुलाई उपेक्षा गर्दै आएका महरा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको विषयमा पार्टी भित्र चर्को आलोचना भएको छ ।

०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महरा सूचना तथा सञ्चारमन्त्री हुनुभएको थियो । त्यतिवेला एक पटक छोडेर फेरि सोही मन्त्रालयको जिम्मेवारीमा महरा जानु भएको थियो । ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा पनि महरा सञ्चारमन्त्री नै हुनु भयो । ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा महरा उपप्रधान तथा गृहमन्त्री हुनुभयो । ०७३ मा प्रचण्ड नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थमन्त्री हुनुभयो । ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा महरा उपप्रधान तथा परराष्ट्रमन्त्री हुनुभयो । तीन पटक महराले पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नु भएको छ तर उहाँले नेतृत्व गरेको अवस्थामा पार्टीका एजेण्डा सरकारमा गएर लागू गर्न नसकेको आरोप उहाँले खेप्दै आउनु भएको छ ।

पुष्पकमल दाहाल र मोहन वैद्य एउटै पार्टीमा हुँदा र फरक पार्टीमा हुँदा दुई नेताका बीचमा दोहोरो कुरा गरेर आफूलाई तटस्थ देखाउनु भएका कृष्णबहादुर महरा पछिल्ला दिनमा चीन र भारतका बीचमा दोहोरो कूटनीतिक भूमिका निर्वाह गर्ने नेता हुनुभयो । पार्टी विभाजनपछि वैद्यले महरालाई अवसरवादी नेताको विशेषण दिनुभएको थियो ।

न विश्वास गर्न सक्ने न पन्छाउन सक्ने विवादास्पद छवि भारत र चीनका बीचमा बनाउनु भएका महराले अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनलाई रिझाएर छैठौं पटक सरकारमा सहभागी हुने अवसर जुटाउनुभयो ।
लाभको पदमा महरा
सूचना तथा सञ्चारमन्त्री २०६३ (दुई पटक)
सूचना तथा सञ्चारमन्त्री २०६५
गृहमन्त्री २०६७
उपप्रधान तथा अर्थमन्त्री २०७३
उपप्रधान तथा परराष्ट्रमन्त्री २०७४
विदेश विभाग प्रमुख
पार्टी प्रवक्ता


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.