व्यासभूमिमा पूजाअर्चना गर्दै पूर्वयुवराज्ञी हिमानी
दमौली : पूर्व युवराज्ञी हिमानी शाहले चार वेद महाभारत र अठार पुराणका रचयिता महर्षी वेदव्यासको जन्मथलो दमौलीमा पूजाअर्चना गर्नुभएको छ। दमौलीस्थित व्यासगुफामा पूजाअर्चना गर्न युवराज्ञी आफ्ना छोरा छोरीसहित आउनुभएको थियो।
केही दिनयता बिदा मनाउन तनहुँमा रहनु भएकी युवराज्ञी दमौली आइपुग्दा उहाँका समर्थकले स्वागत गरेका थिए। राप्रपा, ठकुरी समाज र वेद अनुयायी प्रतिष्ठानको आयोजनामा फरक फरक स्वागत कार्यक्रममा शुभेच्छुकको फुलमाला लिए पश्चात उहाँ पैदलै हिँडेर व्यासगुफा पुग्नुभएको थियो।
व्यासले तपस्या गरेको गुफाबारे उहाँलाई व्यास पराशर अन्न क्षेत्रका पिठाधीश दामोदर बाबाले जानकारी दिनुभएको थियो। यही गुफामा बसेर व्यासले वेद, महाभारत र अठार पुराण रचना गरेको ठानिन्छ।
त्यसपछि उहाँ वेद अनुयायी प्रतिष्ठानले आयोजना गरेको १८ महिने अखण्डकीर्तनमा सहभागी बन्नुभएको थियो। सुरुमा खासै इच्छा नदेखाए पनि आयोजकको विशेष आग्रहपछि अखण्डकीर्तनमा उहाँले भजन समेत गाउनुभएको थियो। व्यासको जन्मथलोको प्रचारका लागि भन्दै विगत सात महिनायता गुफामा अखण्डकीर्तन गरिंदै आएको छ।