निर्वाचन ऐन संशोधन प्रस्ताव पारित: राजपा निर्वाचनमा सहभागी हुने गृहमन्त्रीको विश्वास
काठमाडौं : बिहीबारको व्यवस्थापिका संसद् बैठकबाट स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन प्रस्ताव पारित भएको छ।
निर्वाचन आयोगले दिएको अन्तिम दिनभन्दा १५ दिन अगावै पार्टीको टिकट लिने उम्मेदवारको हस्ताक्षर आयोगलाई बुझाउनुपर्ने प्रावधानलाई हटाएर आयोगले तोकेको समयभित्र बुझाउनुपर्ने व्यवस्था गर्दै स्थानीय तह निर्वाचन ऐन संशोधन भएको हो।
यो संशोधन प्रस्ताव संसदबाट पारित भएसँगै राष्ट्रिय जनता पार्टी (राजापा) स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास सरकारले लिएको छ।
संसदमा बोल्दै गृहमन्त्री जनार्दन शर्माले राजपासमेत दोस्रो चरणको स्थानीय तहको चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो। व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल एमाले मौन बसेको थियो भने नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले विरोध जनाएका थिए।
जनमोर्चा र नेमकिपाले जति संशोधन गरे पनि मधेसवादी दल निर्वाचनमा सहभागी नहुने भन्दै संशोधनको औचित्य नरहेको दाबी गरेका छन्। संशोधन प्रस्ताव पारित भएसँगै व्यवस्थापिका संसद बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।