भागबण्डा खोज्दै राप्रपा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई मत दिने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सत्तामा सहकार्य गर्न आग्रह गर्दैै सरकारी वार्ता टोलीसँग छलफल गरी निर्णयमा पुग्न आग्रह गर्नुभएको छ । देउवाले गठन गरेको कांग्रेसको तीन सदस्यीय वार्ता टोलीसँग राप्रपाले छिट्टै निर्णायक वार्ता गरी सत्तामा जाने तयारी गरेको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले कांग्रेस र राप्रपाको वार्ता टोलीबीच शनिवारसम्म निर्णायक वार्ता भई आफ्नो पार्टी देउवा सरकार सहभागी हुने जानकारी दिनुभयो ।
उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘एकदुई दिनभित्रै निर्णायक वार्ता गरी राप्रपा सत्तामा जान्छ । वर्तमान सरकारको पक्षमा संसद्मा मतदान गरेकाले संविधान कार्यान्वयनका लागि सत्ता साझेदारीमा सहभागी भइन्छ ।'
राप्रपाले सम्मानजनक हैसियत पाएमात्र राप्रपा सरकारमा जानुपर्छ भन्दै पार्टी अध्यक्ष कमल थापा, नेता दिलनाथ गिरीलगायतले अडान लिइरहनुभएको छ । उहाँहरूले सत्ता नेतृत्व गर्ने कांग्रेसले आफूहरूको ३७ सिटको ग्र्याभिटीलाई सम्मान गर्नुपर्नेमा जोड दिइरहेका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री सहितको सम्मान पाउँदा संसद्को चौथो ठूलो दलले नपाउनुपर्ने कुनै कारण नरहेको तर्क अध्यक्ष थापा पक्षधरको छ ।
पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, वरिष्ठ उपाध्यक्ष बोहरालगायतका पक्ष भने सत्तामा साझेदार हुनुपर्ने अडानमा हुनुहुन्छ । ‘सरकारमा जाने र नजाने भन्ने पार्टीमा दुई धार छ, सत्ता पक्षको वार्ता टोलीसँग निर्णायक वार्ता भएको छैन । त्यसैले सत्ता सहभागिताका विषयमा इन्कार गरिसकेका छैनौं, पाँचौ र छैटौं दलले जुन हैसियत यो सरकारमा पाइरहेका छन् । त्यसैअनुसार चौथो दलको सम्मान हुनुपर्ने माग हाम्रो हो', राप्रपा नेता दिलनाथ गिरीले भन्नुभयो । अध्यक्ष थापा पक्षका अर्का एक नेताले भने, ‘गच्छदार उपप्रधानमन्त्री हुँदा चौथो दलले उपप्रधानमन्त्री पाउन नहुने कारण के छ । संसद्को ३७ सिटको ग्र्याभिटीलाई सम्मान हुँदा सरकारमा जान्छौं ।'
‘देउवाले ३७ सिटको ग्र्याभिटीलाई सम्मान गर्न सक्नुपर्छ'
देउवाको तीन सदस्यीय वार्ता टोली विमलेन्द्र निधि, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्कीसँग राप्रपाको तीन सदस्यीय वार्ता टोली जयन्त चन्द, गिरी र कुन्ती शाहीबीच शनिवार वार्ता हुनेछ । वार्ता परिणामका आधारमा राप्रपाले सत्तामा जाने कि नजाने निर्णय गर्ने उहाँले बताउनुभयो । पार्टी अध्यक्ष थापाले उपप्रधानमन्त्रीसहित जान खोज्ने तथा वरिष्ठ नेता राणा उपप्रधानमन्त्री नपाए पनि अन्य मन्त्रालयमा सहकार्य गरी सत्तामा जानुपर्ने पक्षमा उभिँदा सत्तामा जान केही समय लाग्न सक्ने राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका एक सदस्य बताउँछन् ।
राप्रपाका नेता रेशमबहादुर लामाले देउवालाई मतदान गर्नुका पछाडि सत्ता प्राप्तिकै लागि भएको जनाउँदै भन्नुभयो, ‘राप्रपा देउवा सरकारमा सम्मानजनक रूपमा जान चाहन्छ ।'