तराईमा महिला उम्मेदवार पाउनै मुस्किल

तराईमा महिला उम्मेदवार पाउनै मुस्किल

बर्दिबास : स्थानीय तहको चुनावी माहोल तातिरहेका बेला महोत्तरीको ग्रामीण भेगमा महिला उम्मेदवारको कुनै चर्चा छैन । ग्रामीण भेगमा महिला सशक्तीकरण नहुँदा दिदीबहिनीहरू आफ्नो अधिकारबारे बेखर छन् । दिदीबहिनी समाजिक रूपले वहिष्कृत, जातीय रूपले तिरस्कृत, राजनीतिक रूपले उपेक्षित र आर्थिक रूपले कमजोर छन् ।

गाउँटोलमा गाउँपालिका र नगरपालिकामा प्रमुख, उप्रमुख, वडा अध्यक्ष र सदस्यमा उठ्ने पुरुष उम्मेदवारको चर्चा भइरहे पनि महिला उम्मेदवारको चर्चा नसुनिएको महरानी युवा क्लब बिजलपुराका अध्यक्ष रामआशीष चौधारीले बताउनुभयो । उहाँले भन्नुभयो, 'गाउँघरमा महिलाहरूले अझै पनि आफ्नो हक अधिकारबारे बुझेका छैनन् । खाना पकाउने, घाँस दाउरा गर्नेजस्ता काममा गृहिणी सीमित छन् ।'

स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिँदै जाँदा महोत्तरीमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । चुनावी माहोल तातेसँगै चुनावमा जाने तयारी तीव्र छ । राजनीतिक दलहरूको व्यवस्ता बढेको छ । कुन उम्मेदवारलाई कुन पदमा उठाउने भन्ने विषयमा राजनीतिक वृत्तमा छलफल भइरहेको छ । विभिन्न पार्टीबाट नगरपालिका र गाउँपालिकाका विभिन्न पदमा पुरुष उम्मेदवारका दाबेदार धेरै छन् । उम्मेदवार छनोट गर्न दलहरूलाई सकस भइरहेको छ । तर महिला उम्मेदवारका दाबेदार न्यून छन् ।

महिलालाई नै तोकेर आएको पदमा महिला उम्मेदवार उठे पनि उनीहरूको चर्चा छैन । घरको कामकाजमा महिलाहरू व्यस्त हुँदा राजनीतिमा आउन सकेका छैनन् । राजनीतिक दलको महिलाप्रति सकारात्मक दृष्टिकोण नहुँदा उनीहरूको उपस्थिति न्यून छ । -शारदा थापा, अध्यक्ष अन्तर पार्टी महिला सञ्जाल बर्दिबास

'राजनीतिक चेतना र महिला सशक्तीकरण नहुँदा महिला उम्मेदवार पाउन कठिन छ', एमाले जिल्ला सचिव भानुभक्त ढुंगानाले भन्नुभयो, 'सहर बजारमा महिला उम्मेदवार भेटिए पनि गाउँघरमा महिलाका लागि तोकिएका पदमा पनि महिला उम्मेदवार भेट्न गाह्रो छ । म उठ्छु भन्ने दिदीबिहिनीलाई हामी टिकट दिन्छौं । तर उम्मेदवार बन्छु भनेर आउँदैनन् ।' स्थानीय चुनावमा गाउँघरबाट खोजेर महिला कोटाको पदमा उम्मेदवार उठाउनुपर्ने राजनीतिक दलसँग चुनौती रहेको उहाँले बताउनुभयो ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरमलगायत निर्वाचन कार्यालय महोत्तरीमा दर्ता भएका २९ दलमध्ये अधिकांश नगरपालिका र गाउँपालिकाको उम्मेदवार छनोटको अन्तिम कसरतमा छन् । २० वर्षको लामो अन्तरालमा जनताले आफ्ना प्रतिनिधि आफैं चुन्न स्थानीय तहको चुनाव हुन गइरहेकाले पार्टीहरूमा मुख्य पदका आकांक्षीको संख्या बढी छ । राजनीतिक दलहरूलाई उम्मेदवार छनोट गर्न ज्यादै रस्साकस्सी गर्नुपरेको छ ।

आफ्नो पार्टीको बढी सिट ल्याउने होडबाजीले चर्चित अनुहारलाई नै पहिलो प्राथमिकतामा राखेर उम्मेदवार छनोट गर्न दलहरूले छलफल गरिरहेका छन् । तर, महोत्तरीमा कुनै पनि राजनीतिक दल महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन इच्छुक देखिएका छैनन् । 'एक त महिला उम्मेदवार भेट्न मुस्किल छ । उम्मेदवारी दिन चाहेका महिलालाई पनि प्रमुख पद दिन पार्टीभित्र चर्चा चलेको छैन', मानवअधिकारकर्मी अजयकुमार साहले भन्नुभयो, 'महोत्तरीका ७ नगरपालिका ५ गाउँपालिकामा सबै पार्टीबाट प्रमुख पदमा पुरुषलाई नै उम्मेदवार बनाउने चर्चा भइरहेको छ ।' साना दलहरूमा महिला नेतृको संख्या न्यून छ भने मुख्य दलहरूमा महिला नेतृ रहे पनि उनीहरूलाई प्रमुख पद दिन पार्टी तयार छैनन् ।

जसरी पनि चुनाव जित्नै पर्ने उद्देश्यले महिला र पुरुष उम्मेदवारको तुलना गर्दा महिला उम्मेदवारलाई अगाडि बढाउँदा जित्ने सम्भावना कम रहेकाले पार्टीहरूले महिलालाई प्रमुख पद दिने चाहेका छैनन् । निर्वाचन आयोगले गाउँपालिका र नगरपालिको उपप्रमुखमा महिलालाई अनिवार्य राख्नै पर्ने प्रावधान राखेकाले राजनीतिक दलहरू उपमेयर र गाउँपालिकाको उपप्रमुखमा महिलालाई उम्मेदवार बनाउने मनस्थितिमा छन् । तर, उम्मेदवार नपाइरहेको स्थित रहेको विभिन्न पार्टीका नेताको भनाइ छ ।

महोत्तरीमा केही राजनीतिक दलमा महिला उम्मेदवारको खडेरीकै स्थिति छ । 'समाजिक बनोटका कारण महोत्तरीमा प्रमुख पदमा महिला उम्मेदवारको चर्चा छैन', कांग्रेसनेता बजरंग नेपालीले भन्नुभयो, 'महिलाहरू चुनावमा उम्मेदवार हुन इच्छुकसमेत हुँदैनन् । जबरजस्ती कसैलाई पनि उम्मेदवार बनाउन सक्ने अवस्था छैन।'

मधेसमा साँस्कृतिक र समाजिक परिबन्धका कारणसमेत महिलाहरू खुलेर उम्मेदवार हुन नखोज्ने कारणले पनि यहाँ महिला उम्मेदवारको संख्या कम छ ।'मधेसी समाजमा महिलालाई राजनीतिमा लाग्दा नकारात्मक टिकाटिप्पणी हुने गरेको छ । यसले गर्दा पनि राजनीतिमा महिलाको उपस्थिति न्यून छ', मओवादी केन्द्रका युवानेता शंकर महतोले भन्नुभयो, 'अनि कहाँबाट महिला उम्मेदवार भेटिन्छ त ? '

कहीँकहीँ महिला उम्मेदवार बन्ने तर्खरमा भए पनि पुरुषको तुलनामा महिलाको चर्चा नगन्य रहेको अन्तर पार्टी महिला सञ्जाल बर्दिबासकी अध्यक्ष शारदा थापाले बताउनुभयो । 'महिलालाई नै तोकेर आएको पदमा महिला उम्मेदवार उठे पनि उनीहरूको चर्चा छैन', उहाँले भन्नुभयो, 'घरको कामकाजमा महिलाहरू व्यस्त हुँदा राजनीतिमा आउन सकेका छैनन् । राजनीतिक दलको महिलाप्रति सकारात्मक दृष्टिकोण नहुँदा उनीहरूको राजनीतिमा उपस्थिति न्यून छ ।' महोत्तरीमा ३ लाख ८ हजार ४ सय चार मतदाता छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.