‘आर्थिक विकासको प्रस्थान बिन्दु पुँजी बजार'
काठमाडौं : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुँजी बजारको विकास मुलुकको आर्थिक समृद्धिको प्रस्थान बिन्दु भएको बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले पुँजी बजारमा भएका उपलब्धिको प्रशंसा गर्दै सरकारका तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नेपालमा नयाँ एक्स्चन्ज आवश्यक नभएको बताउनुभयो । विश्वका धेरै मुलुकमा धेरै लामो समयदेखि सञ्चालित स्टक एक्स्चेन्ज मर्ज भइरहेको अवस्थामा नेपालमा भने नयाँ स्टक एक्स्चेन्ज खोल्नु सान्दर्भिक नभएको उहाँको आशय थियो । नेपालले आगामी आर्थिक वर्षमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा रहेको राष्ट्र बैंकको सेयर बेच्ने घोषणा समेत गर्नुभयो । नेप्सेको सेयर खरिदमा संस्थागत लगानी कर्तालाई अवसर दिने पनि उहाँको भनाइ छ । स्टक एक्स्चेन्जमा निजी क्षेत्रको प्रवेशका लागि सरकार र धितोपत्र बोर्डलाई सकारात्मक भूमिका खेल्न समेत उहाँले आग्रह गर्नुभयो ।
उहाँले बोर्डले हालसम्म पनि धितोपत्र बजारका बारेमा लगानीकर्तालाई राम्रो जानकारी दिन नसकेको, पुँजी बजारमा अस्थिरता नटुंगिएको, लगानीकर्ताले ढुक्क भएर लगानी गर्ने अवस्था बन्न नसकेको बतउनुभयो । पुँजी बजारले सही गति लिन नसक्दा लगानीकर्ताले ढुक्क भएर लगानी गर्ने वातावरण नबनेको उहाँको भनाइ छ।
सोही अवसरमा राजस्व सचिव राजन खनालले बोर्डले पुँजी बजारको उपयुक्त नियमन गर्न नसकेको गुनासो गर्नुभयो । ऐनले बोर्डलाई नियमन गर्न स्वायत्तता दिए पनि त्यसको उपयोग गर्न बोर्ड असफल भएको उहाँले बताउनुभयो । उहाँले पुँजी बजारमा ढुक्कसँग लगानी गर्ने वातावरण सिर्जना गर्न नसकेको भन्दै बोर्डको आलोचना गर्नुभयो ।
बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले पुँजी बजारलाई आधुनिक बनाउन लागिपरेको बताउनुभयो । देशभरि प्राथमिकता बजारको विस्तार, आस्वा अनिवार्य, वास्तविक क्षेत्रलाई पुँजी बजारमा ल्याउनेलगायत काम भएको उहाँले बताउनुभयो । उहाँका अनुसार बोर्डले हाल चार सय १५ वटा संस्थालाई नियमन गरिरहेको जानकारी दिए । बजारको आकार निरन्तर बढिरहँदा नयाँ स्टक एक्स्चेन्ज आवश्यकतामा पनि सकारात्मक भएको बताउँदै यस विषयमा सोच्न उहाँले अनुरोध गर्नुभयो ।