मिस नेपाल निकिता भन्छिन्, ' ढिलो चाँडो अभिनयमा लाग्छु'

मिस नेपाल निकिता भन्छिन्, ' ढिलो चाँडो अभिनयमा लाग्छु'

गत शुक्रबार एकाबिहानै उठिन् निकिता चाण्डक । उठ्दा उनको मन शान्त र स्थिर थियो । ‘मनमा न कुनै कौतुहल थियो, न डर नै', निकिताले भनिन्, ‘ममा कुनै इमोसन थिएन ।' एक साताअघि मिस नेपाल विजेता घोषणा हुने दिनको आफ्नो अवस्थाबारे निकिताले बताइन् । ‘त्यसभन्दा अघि मन तलमाथि भइरहन्थ्यो', उनले भनिन्, ‘के होला, कस्तो होला, जात कस्को पोल्टामा जाला ? भन्न पीरले सताउँथ्यो ।'

तर अन्तिम प्रतिस्पर्धाको दिनभने उनको मन एकाएक स्थिर भयो । न डर रह्यो, न उत्साह, न त अपेक्षा नै । सन् १९९६ सालमा आमा सुष्मा चाण्डक र बुवा अनिलको कोखबाट कान्छी छोरीका रूपमा जन्मिएकी निकिताकी दिदी नेहा यो यात्राकी ऊर्जा हुन् । भाइ सञ्जुले जहिले पनि उनलाई थप ऊर्जा दिएको उनी सम्झन चाहन्छिन् । यो यात्रामा आउन उनको पारिवारिक र सामाजिक परिवेश त्यति सहज थिएन । मारवाडी समुदायमा हुर्किएकी छोरीचेली ग्ल्यामर क्षेत्रमा आउन सहज छैन ।

बीकम गरेर बुवाको बिजनेसमा सघाइरहेकी निकिताकी दिदी नेहाले अभिभावक र आफन्तलाई सम्झाइन् । सहमत गराइन् । यतिबेला नोयडाको एमआईटी युनिभर्सिटीबाट बीकम गरिरहेकी निकिताले करिब दुई वर्षअघि बैंगलोरमा पढ्दा र्‍याम्प नापेकी थिइन् । पारिवारिक र सामाजिक वातावरण नभए पनि उनको मनमा भने ग्ल्यामरस क्षेत्रप्रति गहिरो रुचि थियो ।

त्यही रुचि र चाहना पूरा गर्न दिदीले पारिवारिक वातावरण तयार पारिदिएपछि उनी मध्य मार्चमा राजधानी आइन् । आयोजक संस्था द हिडेन ट्रेजरले गरेको पूर्वअडिसनबाट उनी छानिइन् । हरेक प्रतिस्पर्धाका लागि उनले आफूलाई तयार पारिन् ।

अन्तिम प्रतिस्पर्धाको दिन सामान्य दिनमा जस्तै नियमित नित्यकर्म गरिन् । स्टेज उक्लिन् । निर्णायकले सोधेको प्रश्नमा सहज प्रस्तुतिका साथ सहभागी भइन् । अन्ततः ताज उनको पोल्टामा पर्‍यो । ‘न खुसीको आँसु निस्क्यो, न त धेरै उत्साहित भएँ', मिस नेपाल २०१७ निकिताले अनुभव सुनाइन्, ‘म त्यसदिन बिहानैदेखि जे हुन्छ ठीकै छ भन्ने मुडमा थिएँ ।' उनले त्यस्तो मनस्थिति बनाएकी भने होइनन्, स्वतः यस्तो मुड बनेको थियो ।

ताजसँगै हात परेको पुरस्कारको आधा राशि उनले माइती नेपाललाई डोनेसन गर्ने योजना बनाएकी छन् । अब उनी एक वर्ष द हिडन ट्रेजरको मातहतमा रहेर काम गर्ने छिन् । अहिले उनको प्राथमिकता मिस वर्ल्ड २०१७ रहेको छ । ‘विश्वास छ, सातौं स्थानमा उक्लिएको नेपालको नाम म एक नम्बरमा ल्याउन सक्छु', निकिताले विश्वास देखाइन् ।

उम्दा उमेरकी निकिताको उद्देश्य पनि कलाकारिता गर्ने रहेको छ । उनले भनिन्, ‘म ढिलो चाँडो अभिनयमा लाग्छु ।' आम किशोरकिशोरी र युवा पुस्तालाई उनी धूमपान र मद्यपान नगर्न आग्रह गर्छिन् । आगामी दिनमा यसलाई अभियानका रूपमा चलाउने सोच बनाएकी उनी धूमपान र मद्यपानले एक जीवन होइन परिवार र समाज नै समस्या परेको अनुभूति गरेकी छन् ।

मानिसमा प्रतिभा छ भने कहीँ न कहीँ उजागर हुने विश्वास लिएकी निकिता भन्छिन्, ‘मान्छेको प्रतिभा जात, धर्म, भूगोल र भाषाले निर्धारण गर्दैन । यो उसको अन्तरनिहित प्रतिभाले उजागर गर्ने हो । आफू मिस नेपाल भएपनि एकाध स्वरहरू ‘इन्डियन' भन्ने सुनेको भए पनि त्यो आयोजकले प्रतिस्पर्धामा तोक्ने सीमाको ज्ञान नभएकाहरूको भनाइ रहेको उनी ठान्छिन् । ‘सहभागी गराउँदा नै फर्म भराइन्छ, नागरिकता मागिन्छ', उनले भनिन्, ‘त्यो नबुझेर भनिएको कुरामा मलाई कतै गुनासो छैन ।' आफ्नो जितमा हिमालदेखि तरार्इं र पूर्वदेखि पश्चिमबाट शुभेच्छा, बधाई र आगामी यात्राको शुभकामना आइरहेकाले यो जित नेपाली छोरीको जितका रूपमा लिइएको उनले महसुस गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.