क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु
काठमाडौं : राष्ट्रिय व्यापार संघले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर र वडा नं. २२ र २४ बाट निर्वाचित वडा अध्यक्षलगायत सदस्यको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्कीलगायतलाई राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा महानगरपालिकाका मेयरले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै चुनावमा व्यक्त गरेका प्रतिबद्धता आफूले पूरा गर्ने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित उपमेयर, २२ र २४ वडामा वडा अध्यक्ष क्रमशः चीनकाजी महर्जन, बालकृष्ण श्रेष्ठ र सल्लाहकार शम्मुलाल श्रेष्ठ, जुग्दरत्न बज्राचार्य र अजरमान मानान्धरले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष क्षेत्रीले स्थानीय निकायसँग समन्वय गरी व्यापार संघले विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा अझै सशक्त रूपमा अगाडि बढ्ने बताउनुभयो । कार्यक्रम मारवाडी सेवा समितिको हलमा गरिएको थियो ।