राजपाका मुख्य नेता संशोधनको अडानमा, स्थानीय नेता चुनावको तयारीमा
वीरगन्ज: राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभएसम्म असार १४ को स्थानीय तहको निर्वाचनमा सहभागी नहुने अडान छाडेको छैन। तर उसका जिल्ला स्तरका नेता कार्यकर्ताहरु भने आसन्न चुनावको तयारीमा आन्तरिक रुपमा होमिइसकेका छन्।
वर्तमान सरकार गठनका बेला सत्तारुढ मुख्य दुइ दलसंग राजपाले तीन बुदे सहमति गर्नुका साथै बिहिबार ब्यवस्थापिका संसदबाट स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक पारित भएपछि आसन्न निर्वाचनमा राजपाको सहभागीतालाइ थप सुनिश्चत गरेको छ।
आसन्न स्थानीय तहको निर्वाचनमा चुनाव लड्न चाहने राजपाका आकांक्षी नेताहरुले आफनो पक्षमा जनमत जुटाउन टोल टोलमा घरदैलो कार्यक्रम थालिसकेका छन्। यद्यपि पार्टी नेतृत्वले संविधान संशोधन नभए सम्म चुनावमा भाग नलिने र चुनावी गतिविधीमा अवरोध खडा गर्न आन्दोलन परिचलान कमिटीहरु गठन गर्ने निर्देशन दिएको छ। तर स्थानीय स्तरमा रहेका राजपाका नेता र चुनाव लड्न चाहने आकांक्षीहरुले गाँउ र टोलहरुमा आन्दोलन परिचालन कमिटी गठनकै बहानामा चुनावी गतिविधीलाइ तिब्रता दिएका छन्।
पर्सा र बाराका नगरपालिका र गाँउपालिकाका विभिन्न वडामा राजपाका नेता र उम्मेदवारका आंकाक्षीहरुले आन्दोलनको तयारीका बहानामा कमिटी गठन , पार्टी प्रवेश जस्ता राजनीतिक कार्यक्रम दिनहु गरिरहेका छन्। पार्टी प्रवेश कार्यक्रममा राजपाले आसन्न चुनावमा उम्मेदवार बनाउने प्रलोभन दिएर अरु पार्टीका नाम चलेका स्थानीय नेताहरुलाइ पनि धमाधम भित्रयाइरहेको छ।
असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पर्सा र बाराका सन्दर्भमा वीरगन्ज महानगरपालिकामा सबै भन्दा बढि दलहरुको ध्यान केन्द्रित भएको छ। वीरगन्ज महानगरको मेयरको उम्मेदवारका लागि राजपा भित्र पनि नेताहरु बिच हानथाप भइरहेको छ। औपचारिक रुपमा संविधान संशोधन नभए सम्म राजपाले चुनावमा भाग नलिने बताएपनि वीरगन्ज महानगरको मेयरका लागि राजपाका तर्फबाट आधा दर्जन आकांक्षीहरु देखिएका छन्।
राजपाका तर्फबाट महामन्त्रीहरु विमल श्रीवास्तव , राजेशमान सिंह र शीव पटेल ,केन्द्रिय सदस्यहरु पुरुषोत्तम झा र रमेश कुर्मी तथा केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मीको नाम वीरगन्जको मेयरका लागि चर्चामा छ। मेयरका लागि चर्चामा रहेका आकांक्षी नेताहरुले मतदाताको घरदैलोमा पुगेर आफना लागि मत माग्न थालिसकेका छन्।अन्य दल जस्तै राजपाबाट मेयरका आकांक्षी नेताहरु पनि महानगरका विभिन्न वडामा बिहान बेलुकी चोक चोकमा मतदाताहरु भेटघाटमा व्यस्त भइरहेका छन्।
पर्सा बारामा भइरहेका पार्टी प्रवेश र कमिटी गठन कार्यक्रममा राजपाको केन्द्रिय पदाधिकारीहरुले आफना अडानका बारेमा लचकता सहितको सार्वजनिक अभिव्यक्ति पनि दिइरहेका कारण राजपाका स्थानीय नेता कार्यकर्ता र आकांक्षीहरु असार १४ गतेको निर्वाचनमा अन्तत पार्टीले भाग लिनेमा विश्वस्त देखिएका छन्।
बाराको देवताल गाँउपालिकाको अमवामा जेठ १८ गते आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै राजपाका महामन्त्री सोनलले संविधान संशोधनको ग्यारेन्टी र सरकारले तत्काल गर्नु पर्ने काम गरि दिए असार १४ को चुनावमा राष्ट्रिय जनता पार्टी जान तयार रहेको बताउनु भएको थियो। उहाले भन्नु भएको थियो,' सरकारले संविधान संशोधनको ग्यारेन्टी गरोस्, 'मधेसमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गरिदिओस् ,झुठा मुद्धा फिर्ता र शहिद घोषणाको प्रकृया अगाडि बढाओस् हामी चुनावमा जान तयार छौं।
पार्टीले अहिले सम्म संविधान संशोधन नभइ चुनावमा भाग नलिने भनिरहेको छ ,वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा अध्यक्षका लागि आकांक्षी राजपाका एक नेताले भने ,'मलाइ विश्वास छ अन्तत हाम्रो दल पनि चुनावमा जान्छ र जानै पर्छ , यदि चुनावमै भाग लिएन भने त हाम्रो पनि राजनीति भविष्य सकिन्छ।
पर्सा र बारामा राजपाले असार १४ को निर्वाचनका लागि आन्तरिक रुपमा उम्मेदवार छनौटको प्रकृया थालिसकेको छ। नगरपालिका र गाँउपालिकाहरुको उपप्रमुख भन्दा प्रमुखका लागि आकांक्षीहरु धेरै भएपछि उम्मेदवारको टुङगो लगाउन समस्या भइरहेको राजपा पर्साको अध्यक्ष मण्डलका एक नेताले बताउनुभयो। गाँउपालिकाको भन्दा नगरपालिकामा बढि आकांक्षीहरु देखिएका छन्, त्यसमा पनि उपमेयर भन्दा मेयरका लागि धेरैको दाबेदारी छ , उनले भने,‘ नेताहरुलाइ मिलाउनै हम्मे हम्मे परेको छ।
यथास्थितीमा चुनावमा नजाने पार्टीको अडान रहेपनि शीर्ष नेतृत्वहरु बिच नै मत बाझिएको भन्दै उनले आगामी राजनीतिक भविष्य सुनिश्चित गर्नका लागि भएपनि अन्तत शीर्ष नेताहरुले चुनावमा सहभागीता जनाउने निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो। तर राजपाका सहअध्यक्ष एंव सांसद लक्ष्मणलाल कर्णले भने राजपा चुनावको विरोधी नभएको भन्दै सरकारले आफुहरुको माग सम्बोधनका लागि वातावरण बनाइ दिए आफनो दल चुनावमा भाग लिने बताउनुभयो।
उहाले भन्नु भयो ,‘ हामीले चुनावमा जान्नौ , भाग नै लिन्नौ भनेर भनेका छैनौ , राजपा चुनाव विरोधी दल पनि होइन , तर सरकार र सत्तारुढ दले हामीसंग गरेका तीन बुँदे सहमति लागु मात्र गरिदिओस् हामी असार १४ कै चुनावमा भाग लिन तयार छौ। तर हिजोको जस्तै आजको सरकारले पनि मधेसीसंग बेइमानी गर्ने दिशामा अगाडि बढन खोजेको भन्दै उहाले आफुहरु अब आन्दोलनको तयारीमा जुटिसकेको बताउनुभयो।
यस्तै राजपाका महामन्त्री सोनलले पनि राजपाले पनि चुनाव चाहेको बताउनुभयो। तर संविधान संशोधनको ग्यारेन्टी नभए सम्म र मधेसमा स्थानीय तहको संख्या थप नगरिए सम्म राजपा चुनावमा नजाने उहाले बताउनुभयो। मधेस मामीलाका जानकार एंव राजनीतिक विश्लेषक चन्द्र किशोरले भने यथास्थितिमा राजपामा चुनावमा जाने सम्भावना कम रहेको बताउनुभयो।