राणाको सिंहदरबार अब जनताको हातमा

राणाको सिंहदरबार अब जनताको हातमा

काठमाडौं : विदेश गए जातै जाने डरले सत्तामा रहेका कुनै पनि राणा शासकले विदेश जाने हिम्मत गरेका थिएनन् । तर प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नो विदेश नीति बनाउनु अगाडि बेलायत जाने निर्णय गरे । त्यहाँ पुगेर बेलायती नीतिको बल र प्रभाव बुझेर आएपछि युरोपकै ढाँचामा यहाँको मुलुकी ऐन बनाए ।

देशमा विधिको शासनका लागि तीन वर्ष लगाएर बनाएको मुलुकी ऐनमा विशेषगरी फ्रान्सको नीतिको प्रभाव परेको पाइन्छ । चन्द्रशमशेरका पनाति, बबरशमशेरका नाति र मृगेन्द्रशमशेरका छोरा सागरशमशेर जंगबहादुर राणाले पुर्खाका विभिन्न पाटा केलाएर पुस्तक ‘सिंहदरबार'मा राणाकालीन इतिहास पस्कनु भएको छ । नेपाली कांग्रेसका नेता राणाले उक्त पुस्तकको झन्डै आधा भाग जत्तिमा नेपाली कांग्रेसको आन्दोलनलाई पनि समेट्नु भएको छ ।

राणाकालीन इतिहासका बारेका विभिन्न पुस्तकमध्ये केहीमा राणाहरूको विरोध गरिएको र केहीमा प्रशंसामात्रै गरिएकोले आफूले यथार्थ प्रस्तुत गर्ने प्रयास गरेको उहाँले बताउनुभयो । पुस्तक लेख्नुको उद्देश्य प्रष्ट्याउँदै कांग्रेस नेता राणाले भन्नुभयो, ‘हामी आफ्नो पुस्ताको पनि नजिक हुन्छौं र कांग्रेसको पनि नजिक हुन्छौं । त्यसैले हामी तीन दाजुभाइ भरतशमशेर, जगदीशशमशेर र ममध्ये कसैले यो इतिहास लेखे बढी वस्तुपरक र विश्वसनीय हुने मैले देखेँ ।'

दस वर्ष लगाएर तयार पारिएको पुस्तकका लागि लेखक राणाले देशका विभिन्न ठाउँमा पुगेर सामान्य जनतादेखि राजाका नजिक रहेका व्यक्तिहरू, आफ्नै परिवारका सदस्यहरू, नेता, प्रधानमन्त्रीलगायतका अन्तर्वार्तामार्फत जानकारी लिनुभएको थियो । ‘पुस्तकमा मेरोमात्रै नभई सबैको अनुभव समेटिएको छ', उहाँले भन्नुभयो, ‘त्यसैले पुस्तक सबैको भएको छ ।'

राणाकालीन इतिहासका बारेमा नेपाली भाषामा लेखिएका पुस्तक धेरै छन् । तर अंग्रेजी भाषामा लेखिएका पुस्तक त्यति नभएकोले त्यही अभाव पूरा गर्न आफूले किताब लेखेको उहाँले बताउनुभयो । यसले बिदेसिने हजारौं विद्यार्थीलाई इतिहास बुझ्न सहज हुने उहाँको विश्वास छ । पुस्तक लेखनका लागि निरन्तर घचघच्याउनुहुने स्वर्गीय कमलमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी र लेखककी भतिजी रचना राणा भट्टचनलाई लोकार्पण कार्यक्रमका प्रमख अतिथि पूर्वराष्ट्रपति डा.रामवरण यादवले लेखकद्वारा हस्ताक्षर गरिएको पुस्तक उपहार दिनुभयो ।

शुक्रबार नेपाल आर्ट काउन्सिलमा भएको लोकार्पण कार्यक्रममा पूर्व राष्ट्रपति यादवले पुस्तकले हिजोको सारा घटना परिघटनालाई छर्लंग पारिदिएको बताउँदै यो पुस्तक अर्को पुस्ताका लागि लाभदायक रहेको प्रतिक्रिया दिनुभयो । पुस्तकको शीर्षकझैं आज पनि राजनीतिमा लाग्ने मान्छेमा समाज बनाउनेभन्दा शासक बन्ने सोच बढेकोले उनीहरू सत्ताको खेलमा भौंतारिरहेका गुनासो गर्दै हामीले हाम्रो इतिहासबाट पाठ सिकेर भविष्य राम्रो बनाउनेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सभासद् प्रदीप गिरीले २००७ सालपछिको नेपाललाई बुझ्न राणाशासनको योगदानलाई नबुझी नहुने तथ्य औंल्याउनुभयो । नेपाली कांग्रेसले नै आन्दोलनको नेतृत्व गरे पनि कांग्रेसकै वरिष्ठ नेताहरूले आफ्नो आत्मवृत्तान्तमा लेख्नुभएको आन्दोलनका बारेमा केही तथ्यहरू बेमेल रहेकाले ‘सिंहदरबार'ले यथार्थ बुझ्न मद्दत मिल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा हरि शर्माले पुस्तकको बारेमा र पत्रकार कुन्द दीक्षितले लेखकका बारेमा जानकारी दिनुभयो । भारतको रूपा पब्लिकेसनले बजारमा ल्याएको उक्त पुस्तकलाई राणाकालीन शासनको उदय र पतनको बारेमा बुझ्न महत्ववपूर्ण दस्तावेज हुने प्रतिक्रिया भारतीय कांग्रेस आईका नेता डा. करन सिंहले दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.