रियल, रोनाल्डो र जिदान

रियल, रोनाल्डो र जिदान

क्लब फुटबलमा रियल म्याड्रिडले हात पारेको सफलता दुनियाँ चकित पार्ने खालको छ । अझ रियलले सन् २०१४ यता प्राप्त गरेका उपलब्धि जोकसैलाई पनि सहज लाग्दैन । यो सफलता फेरि प्राप्त गर्न न कसैका लागि सजिलो नै छ । रियलले पछिल्लो समय आफूलाई वास्तबमै 'रियल' भएको प्रमाणित गरेको छ । रियल म्याड्रिडका लागि जित ठूलो कुरा होइन । पछिल्लो समय विश्वभरका फुटबलप्रेमी ठान्छन्- रियल उभिएको ठाउँमा अरू सबै फिक्का हुन् र रियलले चाह्यो भने जुनसुकै खेल जित्छ । पछिल्ला घटनाक्रम पनि यस्तै देखिएको छ । तर, रियलले जित्नका लागि कुनै पनि चुनौतीको सामना गर्नु पर्दैन भन्नुचाहिँ गलत हुनेछ ।

Gobinda-Regmiअघिल्लो साता च्याम्पियन्स लिग फुटबलको फाइनल प्रारम्भमा युभेन्ट्सले सनसनीपूर्ण प्रदर्शन गर्‍यो । पहिलो हाफको सुरुआतमा अग्रता लिएको रियलले केही समयमै आफ्नो अग्रता गुमायो । तर, दोस्रो हाफमा रियलको सर्वोच्चता हल्लिएन । दोस्रो हाफमा मात्रै रियलले तीन गोल गर्‍यो जहाँ रियलको प्रभुत्व स्पष्ट देखिन्थ्यो । रियलसामु निरीह देखिएको युभेन्ट्सका रक्षापंक्ति अन्ततः फिक्का साबित भए ।

७५ हजार दर्शक क्षमता भएको कार्डिफस्थित मिलेनियम स्टेडियममा रियल म्याड्रिडले आफूलाई क्लब फुटबलको राजा भएको प्रमाणित गर्‍यो, युरोपियन च्याम्पियन्स लिग फुटबको उपाधि जितेर । फाइनलमा रियलले बलियो इटालियन प्रतिद्वन्द्वी युभेन्ट्सलाई ४—१ गोलले हराउँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको थियो । फाइनलमा युभेन्ट्सलाई हराउँदा रियलका सुपरस्टार रोनाल्डोले दुई, कासिमिरो र मार्को एसेनसियोले एक एक गोल गरेका थिए ।

रियलले च्याम्पियन्स लिगको उपाधि जोगाउने एकमात्र क्लबको इतिहाससमेत रच्यो । यतिमात्र होइन, रियल सबैभन्दा बढी च्याम्पियन्स लिगको उपाधि जित्ने क्लब हो । रियलले हालसम्म १२ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियलको यस उपलब्धिमा कार्डिफका दर्शक मात्र होइन विश्वभरका करोडौं फुटबलप्रेमी साक्षी बने । सबैको एउटै खुल्दुली रह्यो- आखिर रियलमा यस्तो जादु के छ ?

क्रिस्टियानो रोनाल्डो

रियलको यस सफलताको पछाडि खेलाडी, व्यवस्थापक र पदाधिकारीको लगाव यथार्थ सर्त हो । तर, रियललाई वास्तविक रियल बनाउने नायकमा अहिले क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानको चर्चा चुलिँदो छ । विश्वभरका फुटबलप्रेमी ठान्छन्- रियल उर्वर भूमि हो जहाँ रोनाल्डो र जिदान उन्तत खेती गरिरहेका छन् ।

रियल म्याड्रिडले हालसम्म १२ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियलको यस उपलब्धिमा कार्डिफका दर्शकमात्र होइन, विश्वभरका करोडौं फुटबलप्रेमीको एउटै खुलदुली रह्यो- आखिर रियलमा यस्तो जादु के छ ?

पछिल्लो चार सिजनमा मात्रै रियलले जितेको यो तेस्रो च्याम्पियन्स लिग उपाधि हो । रियलले यो सिजन स्पेनिस ला लिगाको उपाधि पनि जितेको थियो । यसपटकको च्याम्पियन्स लिग रोनाल्डोका लागि विशेष रह्यो । उनी तीनवटा च्याम्पियन्स लिगको फाइनलमा गोल गर्दै आफ्नो टोलीलाई उपाधि दिलाउने विश्वकै एकमात्र खेलाडी बने । उनले यसअघि सन् २००८ र सन् २०१४ को च्याम्पियन्स लिगको फाइनलमा पनि गोल गरेका थिए ।
सन् २००८ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले उपाधि जित्दा रोनाल्डो टोलीका महत्वपूर्ण सदस्य थिए ।

३२ वर्षीय रोनाल्डोले रियलको तर्फबाट तेस्रो र समग्रमा चौथोपटक च्याम्पियन्स लिग उपाधि विजेता हुन् । उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका छन् । च्याम्पियन्स लिगमा उनले हालसम्म एक सय ४० खेल खेल्दै कीर्तिमानी एक सय पाँच गोल गरेका छन् । उनले यो सिजनको पछिल्ला १३ खेलमा मात्रै १२ गोल हाने । रोनाल्डोकै प्रेरणाले रियलले यो सिजन क्लब विश्वकपको उपाधि समेत जित्यो । च्याम्पियन्स लिग फुटबको फाइनल खेलका म्यान अफ दी म्याच बनेका रोनाल्डोले आफ्नो खेल जीवनमा ६ सय गोलको कोशेढुंगा पनि पूरा गरे । उनले क्लब र राष्ट्रिय टोलीबाट ६ सय पूरा गरेका हुन् ।

च्याम्पियन्स लिगको उपाधि जितेपछि रेनाल्डोले आफू अझै युवा भएको प्रतिक्रिया दिएका छन्, 'म आफूलाई एक जवान केटो महसुस गर्छु । उमेर भनेको नम्बरमात्र रहेछ । हामीले यस सिजन ला लिगा र च्याम्पियन्स लिगको डबल टाइटल जित्यौं । युभेन्ट्सजस्तो टोलीसँग च्याम्पियन्स लिग जित्नु सहज पक्कै थिएन जसले फाइनलसम्म आउँदा तीन गोलमात्र खाएको थियो', रोनाल्डोले भने । पोर्चुगल राष्ट्रिय टोलीका नायक रोनाल्डोले पोर्चुगललाई युरो कपको उपाधि चुमाएर गत वर्ष नै वाहवाही पाएका थिए ।

जिनेदिन जिदान

रियलको यस उपलब्धिमा प्रशिक्षक जिनेदिन जिदानको भूमिका झनै उच्च कोटीको छ । च्याम्पियन्स लिग उपाधिले जिदानलाई सफल प्रशिक्षकको श्रेणीमा उभ्याएको छ । रियलको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेको १८ महिनामा जिदानले क्लबलाई पाँचवटा महत्वपूर्ण उपाधि दिलाए । फ्रान्सेली राष्ट्रिय टोलीका पूर्वखेलाडी जिदान रियल म्याड्रिडका पनि पूर्वखेलाडी हुन् ।

जिदानले क्लबलाई दिलाएको यो दोस्रो च्याम्पियन्स लिग उपाधि हो । यसैगरी उनले रियल म्याड्रिडलाई स्पेनिस ला लिगा, क्लब विश्वकप र युरोपियन सुपर कपको उपाधि पनि दिलाएका छन् । उनी कुनै पनि क्लबलाई लगातार दुईपटक 'च्याम्पियन्स लिग'को उपाधि दिलाउने विश्वकै एकमात्र प्रशिक्षकसमेत बनेका छन् । जिदानले अहिलेको रियलमा एउटा प्रवृत्ति भित्याएका छन्- अन्तिम समयसम्म हार नखाने र जसरी पनि जितेरै छाड्ने ।

च्याम्पियन्स लिगका सफल प्रशिक्षक जिदान पछिल्लो उपलब्धिबाट झनै उत्साहित बनेका छन् । 'क्लबको उपलब्धिबाट म निकै खुसी छु तर यो सुरुआत मात्र हो । हामीले अझ धेरै गर्न बाँकी छ', उपाधि जितेपछि ४४ वर्षीय जिदानले भने । खेलाडीका रूपमा जिदानले दुईपटक युभेन्ट्सको तर्फबाट च्याम्पियन्स लिगको फाइनल खेलेका थिए तर दुवैपटक उनको टोली फाइनलमा पराजित भएको थियो । सन् २००२ मा पहिलोपटक उनले रियल म्याड्रिडका तर्फबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यति बेला उनी सम्मिलित रियल म्याड्रिडले फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई २-१ गोलले हराएको थियो ।

रियल म्याड्रिडले सन् २०१४ मा च्याम्पियन्स लिगको फाइनल जित्दा उनी टोलीका तत्कालीन प्रशिक्षक कार्लो एन्सेलोट्टीका सहायक थिए । उनले सन् २०१६ मा राफा बेनिटेजको स्थानमा रियल म्याड्रिडको प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । जिदानले सुरुमा रियलकै 'बी' टिममा दुई वर्ष प्रशिक्षण गरेका थिए । रियल म्याड्रिडमा उनको सम्झौता अब एक वर्षमात्र बाँकी छ । तर, क्लबले जिदानको सम्झौता नवीकरण गर्ने संकेत दिइसकेको छ । वास्तवमा रियललाई उनीजत्तिको प्रशिक्षक पाउन कठिन हुनेछ । उनै रोनाल्डो र जिदान प्रेरित रियलले अब आगामी अगस्ट ८ मा म्यानचेस्टर युनाइटेडसँग यूईएफए सुपर कपको फाइनल खेल खेल्नेछ ।
-एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.