कांग्रेस कार्याकर्ताको कुटपिटबाट एमालेका उम्मेदवार घाइते
खोटाङ : कांग्रेस कार्यकर्ताको कुटपिटबाट खोटाङको दिप्रुङ गाउँपालिका-३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार ईन्द्र तामाङ गम्भीर घाइते हुनुभएको छ। कांग्रेसको झण्डा च्यातिएको विषयमा उत्पन्न बिवादका क्रममा बिहीबार कांग्रेस कार्याकर्तासँग भएको झडपमा एमालेका वडाध्यक्षका उम्मेदवार तामाङ गम्भीर घाइते हुनुभएको हो ।
तामाङको टाउकोमा गहिरो चोट लागेको एमालेले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि शुक्रबार राती नै अन्नपूर्ण न्यूरो अस्पताल बिराटनगरतर्फ पठाइएको छ । चुनाव प्रचार-प्रसार र घरदैलोका क्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा शुक्रबार लाठी मुंग्रो सहित आएका कांग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमाले खोटाङका उपाध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो । झडपमा तरुण दलका क्षेत्रीय सभापति सुरेश राई, सुवास राई, एमालेका कार्यकर्ता बिनोद तामाङ, मनोज राई लगायत पनि सामान्य घाइते हुनुभएको छ ।
एमालेका कार्यकर्ताले बिहीबार कांग्रेसको झण्डा च्यातेर सोही पोलमा आफ्नो झण्डा राखेको कांग्रेस पक्षको आरोप छ । एक स्थानीयको घरमा राखेको कांग्रेसको झण्डा एमाले कार्याकर्ताले च्यातेर आफ्नै झण्डा राखेपछि सुरु बिवादका क्रममा झडप भएको कांग्रेस क्षेत्र नम्बर-२ का उपसभापति चण्डी राईले बताउनुभयो ।
एमालेले भने आफ्ना नेता तथा कार्यकर्ता पार्टीको आन्तरिक छलफमा बसिरहेकै ठाउँमा लाठीमुंग्रीसहित आएका कांग्रेस कार्यकर्ताको समूहले आक्रमण गरेको दाबी गरेको छ । घटनापछि शुक्रबार राती प्रहरीचौकी छितापोखरी र याम्खाबाट प्रहरीको टोली छोरम्बु पुगेको थियो ।