पुरानो झन्डा
अहिले जस्तो लाग्छ
उहिल्यै बाबाले हाम्रो घरको धुरीमा
आमाको फाटेको लुंगीको टुक्रा
घोँचामा बाँधेर ठड्याउनु भएको
र, घोँचामा बाँधिएको त्यो लुंगीको टुक्रा
मन्द-मन्द बतासमा राष्ट्रिय झन्डाझैं
फर्फर्र...फर्फर्र... फर्फराइरहेको !
अचम्म मान्दै मैले सोधेथेँ-
'बाबा ! बाबा !
यो के गर्नुभएको ? '
जवाफमा बाबा बोल्नुभएको थियो-
'छोरी ! चील भगाएको चील
ताकि चील तर्सेर भागोस्
र, घुर्यानमा चरिरहेका
चल्लाहरूलाई टिप्न नसकोस् ।'
यत्तिकैमा एकदिन
एक हुल मान्छेहरू आए
र, धुरीमा फर्फराइरहेको
आमाको लुंगीको टुक्रा थुतेर
आफूले बोकिल्याएको
रातो कपडाको टुक्रा बाँधिदिए-
'अब तपाईंहरूको घुर्यानमा
कहिल्यै चील आउँदैन !'
त्यतिबेला
खै ! कुन्नि किन हो
बाबा-आमा मौन रहनु भयो...!
तर, म भने हरेक दिन
आकाशतिर हेरिरहन्थेँ-
कतै आकाशमा कावा खाँदै
तल जमिनमा आँखा गाड्दै
आउँदैछ कि चल्ला खाने चील !
चील त कहिल्यै आएन
तर, केही समयपछि
आए फेरि तिनै मान्छेहरू-
'यो रातो झन्डाले त
चील तर्सिंदैन पो रहेछ,
अब यो रङको झन्डाले चाहिँ
पक्कै तर्सिन्छ चील !'
यस्तै के-के कहँदै
निकाले उनीहरूले खल्तीबाट
पहेँला, नीला, सेता र हरिया रङहरू
पोते सबैले उही पुरानै टुक्रामा
र, फहराइदिए धुरीको उही घोँचामा
अनि घोषणा गरे-
'लु, अब चाहिँ चीलहरू
यो आकाशमा उड्न पनि डराउनेछनजमिनतिर हेर्न पनि तर्सिने छन्...!'
मेरो बाबा !
आकाशतिर हेर्दाहेर्दै
आकाशतिरै बिलाई जानुभयो
त्यस दिनदेखि
उदास-उदास मेरी आमा
आकाश देख्यो कि आत्तिने हुनुभयो ।
आज फेरि-
उही मान्छेहरूको हुल
रंगीचंगी कपडाका टुक्राहरू बोकेर
हाम्रो आँगनमा उभिएको छ
र, नियालिरहेको छ घरको धुरी !
अब त म ठूली भइसकेकी छु
रंगहरूको अर्थ
खुट्याउन सक्ने भएकी छु
एक-एक मान्छेहरूको नियत
बुझ्न सक्ने भएकी छु ।
हेर्छु म -
अब कसले फहराउने साहस गर्दोरहेछ
हाम्रो घरको धुरीमा
थरीथरीका पुराना झन्डा.....!!!