प्रधानमन्त्री देउवाका चुनौती
२०७३ वैशाख पहिलो साता कांग्रेस सभापति शेरबहादुर देउवा १० दिने भ्रमणमा भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । १५ वैशाखमा उनी स्वदेश फर्केलगत्तै तत्कालीन केपी ओली सरकार संकटमा पर्यो । गठबन्धनको मुख्य सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिने घोषणा गरे । तर, ओलीले उनलाई थामथुम पारे र अल्पमतमा पर्नै लागेको सरकार जोगाए । तर, उनले अर्को चार महिना मात्रै टिकाउन सके । कांग्रेसको समर्थनमा सरकार बनाउने अवसर आएपछि तेस्रो ठूलो दलका नेता दाहाल ओलीसँगको सहकार्य तोड्न तयार भए । र, कांग्रेससहितको गठबन्धनले २० साउन ०७३ मा दाहाललाई प्रधानमन्त्री बनायो ।
दाहाल प्रधानमन्त्री बनिरहँदा त्यसपछि देउवा प्रधानमन्त्री बन्ने भद्र सहमति भएको थियो । जसअनुसार, २३ जेठमा उनी प्रधानमन्त्री निर्वाचित भएका छन् । चौथो पटक प्रधानमन्त्री हुने कमै भाग्यमानीमा देउवा दर्ज भएका छन् । वैशाखमा देउवाको भारत भ्रमणको उद्देश्य थियो, पत्नी आरजु राणाको कम्मरको शल्यक्रिया । हरियाणाको गुडगाउँस्थित फोर्टिस अस्पतालमा उनको शल्यक्रिया भएको थियो । त्यसैका लागि नयाँदिल्ली पुगेका देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलगायत नेताहरूसँग भेटघाट गरेका थिए । त्यसो त, दाहाल नेतृत्वको सरकार ‘भारतीय इसारा’मा गठन भएको टिप्पणी त्यतिबेलै गरिन्थ्यो । स्रोतका अनुसार, शल्यक्रियाअघि आरजुले बैंगलोर, गुजरातलगायत विभिन्न शक्तिपीठहरूको दर्शन गरेकी थिइन् ।
र, त्यहाँका पीठाधीशहरूसँग भेटघाट गरेकी थिइन् । तीमध्येका महत्वपूर्ण धर्मगुरु थिए, कान्ची कामकोठी पीठका शंकराचार्य जयन्द्र सरस्वती । शंकराचार्यकै ‘च्यानल’बाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्धको डोरी पहिल्याउन उनी सफल भइन् । गत ५ मंसिरमा कैलालीको धनगढीमा आयोजित धर्म सम्मेलनमा आएका शंकराचार्यले कांग्रेस–माओवादीको गठबन्धन आयुबारे सीमित राजनीतिकर्मी र सञ्चारकर्मीहरूसँग रहस्य खोलेका थिए, ‘यो लामो समय चल्ने गठबन्धन हो । र, यसको सुत्रधार आरजु हुन् ।’ सोही सम्मेलनमा रथयात्रासहित उनको अभिनन्दन गरिएको थियो । सभालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘नेपाल हिन्दुराष्ट्र घोषणा हुनेछ ।’
देउवा नेपाली राजनीतिमा अमेरिकी–युरोपेली ‘लबी’का हिमायती मानिन्थे । त्यसैको प्रमाण हो, उनी दोस्रो पटक प्रधानमन्त्री बन्दा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले २४ वैशाख ०५९ मा आफ्नो आधिकारिक कार्यालय ‘ओभल अफिस’मा गरेको भव्य स्वागत । पछिल्ला दिनमा पनि देउवाले अमेरिकी–युरोपेली लबीलाई टाढा राखेका छैनन् । वर्ष दिनयता भने भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार र हिन्दु धर्मगुरुहरूसँग गठिलो सम्बन्ध बनाउन सफल भएका छन् । स्रोतको दाबी छ, ‘अहिलेको सत्तारोहण त्यसैको उपज हो ।’
अन्तिम अवसर
देउवा डडेलधुराको पश्यगर्खा क्षेत्रमा बसोबास गर्ने रजवार परिवारका सन्तान हुन् । देउवा थरलाई स्थानीय भाषामा रजवार पनि भनिन्छ, जुन ठकुरीहरूको एक थर हो । उक्त थरका परिवारको पहिचान तत्कालीन राजा–रजौटाकहाँ जागिर गर्ने हो । राजा–रजौटा उन्मुलनपछि उक्त परिवार आर्थिक/सामाजिक हिसाबले प्रभावशाली रह्यो । देउवाका पिता प्रसादसिंह गाउँका मुखिया थिए । उनैका जेठा छोरा शेरबहादुर साबिकको असीग्राम ३ रुवाखोला (हाल गन्यापधुरा गाउँपालिका)मा जन्मे, हुर्केका हुन् । देउवाले प्रारम्भिक शिक्षा गाउँमै लिए । एसएलसी छिमेकी जिल्ला डोटीको उच्चकोटस्थित सीताराम माविबाट गरे । त्यसपछि प्रवीणता प्रमाण पत्र तह (आईए) पढ्न काठमाडौं आए ।
उनका सहपाठी थिए, रामचन्द्र पौडेललगायत नेता । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक (बीए) गरे । फेरि कानुनमा स्नातक र समाजशास्त्रमा त्रिविबाटै स्नातकोत्तर गरे । सन् १९८९–९० मा बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्समा राजनीतिशास्त्रका ‘रिसर्च फेलो’ रहे । लन्डन उनी कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको पहलमा पुगेका थिए । कांग्रेसका नेताहरू पञ्चायत प्रवेश गर्ने लहर चलेकाले उनलाई त्यसबाट बचाउने प्रयास मानिन्छ, उनको लन्डन प्रवासलाई ।
संसद्को करिब ७० प्रतिशत बहुमतका साथ मुलुकको ४० औं प्रधानमन्त्री बनेका छन्, शेरबहादुर देउवा। उनको आगत र विगत भने उतारचढावपूर्ण देखिन्छ। र, उनको सत्ताायात्रामा चुनौतीको चाङ देखिन्छ।
उनको राजनीतिको शुरुवात भने ०२१/२२ सालदेखि सुदूरपश्चिम विद्यार्थी समितिको अध्यक्षका रूपमा भएको हो । त्यही पृष्ठभूमिमा टेकेर उनी कांग्रेस भातृ संगठन नेविसंघको दोस्रो अध्यक्ष बने, जसको संस्थापक अध्यक्ष विपिन कोइराला थिए । निरन्तर नौ वर्ष अर्थात् ०३६ सालसम्म उनी नेविसंघको अध्यक्ष रहे । नेविसंघको एकछत्र अध्यक्षका रूपमा उनले कांग्रेसलाई दुई कारणले गुन लगाए । पहिलो, झापा विद्रोहका कारण युवामा वामपन्थी आन्दोलनप्रति बढेको आकर्षणलाई केही रोक्न सके । दोस्रो, पञ्चायती व्यवस्थाको राप र तापमा प्रजातान्त्रिक धारका युवा विलखबन्दमा परेका थिए । ती दुवै धारमा जान नदिई उनले कांग्रेसको सांगठनिक आधार भत्किन दिएनन् ।
२०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा प्रचार गर्ने क्रममा बीपी कोइरालासँगै सुदूरपश्चिम पुगेका उनको जयजयकार भएको देखेर बीपी पनि प्रभावित भएका थिए । त्यसपछि उनी देशभरको अभियानमा बीपीको सान्निध्यमा रहे । ०३६ सालमा नेविसंघको नेतृत्व हस्तान्तरणपछि उनी कांग्रेसका गतिविधिमा केन्द्रित रहे । बीपीको निधनपछि देउवा गिरिजाप्रसाद कोइरालाको निकटमा पुगे । २०४२ सालसम्म आइपुग्दा पञ्चायती व्यवस्थाले वातावरण खुकुलो बनाउँदै लगेको थियो । र, कांग्रेसभित्र पनि पञ्चायतलाई उपयोग गर्दै राजासँग मिलेर अगाडि बढ्ने कि कम्युनिस्टसँग मिलेर आन्दोलनमा होमिने भन्ने दुई धार देखापरे । ०३३ सालदेखि नै गिरिजाप्रसादको कम्युनिस्टविरोधी धार समातेका कारण उनी राजासँग मिलेर जानुपर्ने पक्षमा उभिए, ०४२ सालमा । नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइरालालगायत नेता पञ्चायत प्रवेश गर्न थालेपछि कम्युनिस्टसँग मिलेर आन्दोलनमा होमिनुपर्ने पक्षमा रहेका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पहलमा देउवालाई छात्रवृत्ति दिलाइयो र उनी लन्डन उडे ।
उनलाई आन्दोलनमा भगौडाको आरोप पनि लाग्यो । तर, परिवर्तनलगत्तै उनी स्वदेश फिरे । ०४८ सालको आमनिर्वाचनमा डडेलधुराबाट सांसद बनेपछि गिरिजाप्रसादकै नेतृत्वमा गठित सरकारमा गृहमन्त्री बनाइयो । उनको राजनीतिक करिअर यति उक्लियो कि, ०५२ सालमा गिरिजा कोइरालालाई नै टक्कर दिने अवस्थामा पुगे । ०५२ सालमा कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बने । तर, उनले सरकार टिकाउन सांसदहरूलाई प्राडो, पजेरो वितरण गरेको र सांसद खरिद÷बिक्रीको विकृत अभ्यास शुरु गरे । त्यतिबेलै हो, उनले ४९ जनाको जम्बो मन्त्रिमण्डल गठन गरेको । राजनीतिमा सुरा, सुन्दरीको प्रयोग र संस्थागत भ्रष्टाचारको शुरुवात गर्ने निर्णय गरेको आरोप उनीमाथि लाग्ने गर्छ । अझ, उनी प्रधानमन्त्री भएकै बेला १ फागुन ०५२ देखि तत्कालीन माओवादीले सशस्त्र विद्रोह शुरु गर्यो ।
१९ जेठ ०५८ मा राजदरबार हत्याकाण्डपछि प्रधानमन्त्री बनेका उनले आफैंले घोषणा गरेको चुनाव गराउन सकेनन् । र, ‘असक्षम प्रधानमन्त्री’को आरोप लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले १८ असोज ०५९ मा उनलाई पदच्युत गरे । त्यसअघि पार्टीसँग दूरी बढ्दै जाँदा ६ असोज ०५९ मा पार्टी फुटाए । र, कांग्रेस प्रजातान्त्रिकका नाममा नयाँ दल स्थापना गरे । दोस्रो पटक प्रधानमन्त्री बन्दा उनले १८ साउन ०५८ मा क्रान्तिकारी भूमिसुधार योजना घोषणा गरे तर कार्यान्वयन गराउन असफल रहे । उनी २१ जेठ ०६१ मा तेस्रो पटक प्रधानमन्त्री बने । त्यतिबेला उनले शहीद गेटमा दिएको ‘गोर्खाली राजाले न्याय दिन्छन् भनेको हो रहेछ’ भन्ने अभिव्यक्ति चर्चितमध्येको हो ।
राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा शासनसत्ता हातमा लिएको समयमा पनि उनी नै प्रधानमन्त्री थिए । त्यसपछिका दिनमा दलहरूले शाही कदमको विरोध र संसद् पुनःस्थापनाको माग गर्दै आन्दोलन छेडे । अन्य दल रत्नपार्कमा धर्ना बसेका थिए, देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका नेता/कार्यकर्ता भने सोही एजेन्डामा अलि परको भोटाहिटीमा कोणसभा गर्थे । विस्तारै सातदलीय गठबन्धनमा आबद्ध भयो, उनको पार्टी पनि । ८ असोज ०६४ मा कांग्रसमै विलय भएयता भने उनी निरन्तर मातृ पार्टीका वरिष्ठ नेता बने । कांग्रेसको १३ औं महाधिवेशनमार्फत् २४ फागुन ०७२ देखि उनी सभापति छन् ।
संभ्रान्त साइनो
राणा प्रधानमन्त्री जुद्धसमशेरकी पनातिनी आरजुसँग ४० वर्षको उमेरमा गृहमन्त्री छँदा विवाह गरेका हुन्, देउवाले । त्यसलाई राजनीतिक विवाहको संज्ञा दिने गरिएको छ । सन् १९८९ देखि १९९३ सम्म चिनियाँ मुलकी जुलिया चाङ ब्लक काठमाडौंमा अमेरिकी राजदूत थिइन् । त्यतिबेलासम्म अविवाहित रहेका तत्कालीन गृहमन्त्री देउवा र राणाबीच विवाह राजदूत जुलियाकै पहलमा भएको हो । त्यतिबेलासम्म आरजु राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा सक्रिय थिइन् । त्यही साइनोले उनलाई अमेरिकी राजदूत जुलियाको निकट पुर्याएको थियो । र, नेपालमा अमेरिकाको विश्वासिलो राजनीतिज्ञ तयार पार्ने क्रममा उनले शेरबहादुर र आरजुबीच लगनगाँठो कस्न प्रेरित गरेकी हुन् । संभ्रान्त राणा परिवारकी आरजुको कांग्रेस राजनीतिसँग त्यतिबेलासम्म कुनै साइनो थिएन । राजदूत जुलियाले नै दुईको विवाहमा ‘लमी’को काम गरेकी थिइन् । आरजुले पनि उक्त तथ्य स्वीकार्ने गरेकी छन् ।
त्रिशंकू संसद् भएको समयमा गठबन्धन सरकारको नेतृत्व गरेका कारणले गठबन्धन सरकार चलाउने कटु भए पनि उहाँमा विशेष अनुभव छ। गेजा शर्मा वाग्ले राजनीतिक विश्लेषक
आरजुसँगको विवाहपछि नै देउवा अमेरिकी लाइनको राजनीतिसँग नजिकिए, त्यसअघि कांग्रेसमा अमेरिकी लाइनको बलियो उपस्थिति थिएन । त्यसैले उनीहरूको विवाह राजनीतिक उद्देश्यले गराइएको प्रस्ट छ । स्पष्ट छ, देउवाकी बेहुलीका रूपमा आरजु एउटा बलियो राजनीतिक लाइन पनि सँगै लिएर उनको गृह प्रवेश गरिन् । गैरसरकारी संस्थामार्फत् विकास र सामाजिक क्षेत्रमा क्रियाशील छिन्, आरजु । अन्तर्राष्ट्रिय दाताहरूसँगको बलियो सम्बन्ध उनको सबल पक्ष हो । सामाजिक र विकासका क्षेत्रमा आरजुले गैरसरकारी क्षेत्रमा गरिरहेको कामबाट देउवाको गृहजिल्ला र देशभर मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बलियो प्रभाव बनाइदिएकी छन् ।
पतिको राजनीति बलियो बनाउने कुरामा नै उनले आफ्ना कामलाई मुख्य रूपमा केन्द्रित गरेकी छन् । आरजुको अंग्रेजी भाषामा रहेको पकड शेरबहादुरको उनीमाथिको निर्भरताको एक मुख्य कारण हो । आरजु निकटस्थ एक महिला नेतृका अनुसार कुनै विदेशीसँग ‘डिल’ गर्नुप¥यो भने शेरबहादुर आरजुलाई बोलाउँछन् । विदेशीहरूको कार्यक्रममा कार्यपत्र या मन्तव्यका लागि शेरबहादुर पत्नीकै सहयोग लिन्छन् । प्रविधिमाथिको आरजुको पकड पनि देउवालाई प्रभावमा राख्नुको अर्को कारण हो । देउवालाई भेट्न गएका कार्यकर्तासमेत आरजुलाई नभेटी फर्किँदैनन् ।
तर, कांग्रेसका केही नेताले आरजुकै कारण देउवाको साथ छाडे । पार्टी फुटेको समयमा नारायण खड्का, प्रकाशमान सिंह र विजय गच्छदार शेरबहादुरको ‘किचेन क्याबिनेट’बाट बाहिर रहे । किनभने, उनीहरू राजनीतिमा ‘ब्याक डोर’बाट नभई ‘फ्रन्ट डोर’बाट आएका थिए । डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाल भने आरजुका निकटस्थ उभिए, त्यही भएर उनीहरू शेरबहादुरको किचेन क्याबिनेटमा सहभागी हुन सके । तत्कालीन कांग्रेस प्रजातान्त्रिकमा यही समीकरणले पुरानाहरू पाखा लागे र नयाँहरू एकाएक अगाडि बढे ।
कुनै बेला कांग्रेसका लोकप्रिय नेता देउवा आरजुसँग विवाहपछि उनकै वरिपरि मात्र सीमित देखिए । यद्यपि, के आरजुसँग विवाह नभएको भए शेरबहादुरको राजनीतिक उचाई यति माथि हुने थियो ? किनभने, उनमा राजकाज चलाउने, प्रधानमन्त्री बन्ने कुनै महŒवाकांक्षा र आत्मविश्वास त्यसअघि देखिँदैनथ्यो । कांग्रेसका आरएसएस (रामचन्द्र, शैलजा आचार्य र शेरबहादुर) मध्ये रामचन्द्र र शैलजालाई पछि पारेर शेरबहादुर स्थापित भए, त्यसको जस आरजुले उनकी पत्नीको रूपमा पाउँछिन् । सत्ता राजनीतिमा असल र खराब जे देखिए पनि आरजुबिना शेरबहादुर अपूर्ण देखिन्छन् । यद्यपि, कांग्रेसमा कोइराला परिवारवाद हाबी भयो भन्ने आरोप लगाउँदै देउवाले पार्टी छाडे तर उनी आफैंले आरजुलाई संविधानसभा सभासद्मा अगाडि सारेर परिवारवादको त्यही अध्याय शुरु गरे । शेरबहादुर विवाहअघि सामान्य जीवनशैलीका मान्छे थिए ।
कार्यकर्तासँगै बस्ने, खानपिन गर्ने, कपडा साटेर लगाइदिने जस्ता अनौपचारिक व्यवहार गरेर कार्यकर्ताको मन जित्ने गर्थे । आरजुसँग विवाहपछि भने उनको जीवनशैलिले ‘यू टर्न’ लियो । लवाइ, हिँडाइ, खुवाइ र संगत सबै कुरा परिवर्तन भयो । फेरि, पनि राजनीतिक ‘डोमिनेसन’ देउवाकै कायम रह्यो । तत्कालीन शाही आयोगले देउवालाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचारको आरोपमा पक्राउ गर्दा देउवा निर्दोष रहेको विश्व बैंकका अध्यक्षको पत्र ल्याइदिएर उक्त आयोगको औचित्यमाथि नै प्रश्न उठाइदिएकी थिइन्, आरजुले । तथापि, आफू सामान्य जीवनशैलीबाट संभ्रान्त वर्गमा रूपान्तरित हुन पुगेको महशुस देउवामा समय–समयमा देखिने गर्छ, कार्यकर्तासँग पुरानै शैलीको सामान्य व्यवहार देखाउन खोज्छन् ।
किचेन क्याबिनेट
निकटवर्ती स्रोतका अनुसार देउवामा पायल्सको समस्या छ । त्यसबाहेक अल्सर, पाचनप्रणाली र आन्द्रासम्बन्धी बिमारबाट पनि पीडित छन् । उनी अबको पाँच दिनपछि (३१ जेठमा) ७२ वर्ष टेक्दैछन । वृद्धावस्थामा प्रवेश गर्दै गरेका उनलाई अब सहयोगीहरूको खाँचो पर्नेछ । त्यस्तो खाँचो पढे÷लेखेकी र सम्बन्धको फराकिलो दायरा बनाएकी पत्नी आरजुले नै पूरा गर्दै आएकी छन् । पछिल्ला दिनमा पति–पत्नीसँगै बलियो सम्बन्ध बनाएका कांग्रेस नेता रमेश लेखक देउवाका दाहिने हात देखिएका छन् । परिपक्व स्वभावका लेखकमाथि देउवाले भर गरेको पाइन्छ । ६२/६३ को परिवर्तनपछि कांग्रेस जति पटक सरकारमा सामेल भयो, आकर्षक मन्त्रालयसहित लेखक छुटेका छैनन् ।
पूर्ववर्ती सरकारले सफलता पाएको लोडसेडिङको अन्त्यलाई कायमै राख्नु, कलकारखाना खोल्ने प्रयासलाई निरन्तरता दिनु, स्वास्थ्यलाई आम जनताको पहुँचमा पुर्याउनु नै प्रधानमन्त्री देउवाका निम्ति चुनौती बन्न सक्छन्।
सुदूरपश्चिमको ‘बैतडी सेन्टिमेन्ट’का व्यक्ति भएकाले पनि देउवाले उनलाई भर गरेका हुन् । बलियो राजनीतिक पृष्ठभूमिबाट आएका अर्का नेता एनपी साउद पनि देउवाका ‘खास सल्लाहकार’ मानिन्छन् । स्रोतका अनुसार आगामी १४ असारका लागि घोषित दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रदेश ७ मा आउन सक्ने विवाद समाधानका लागि देउवाले साउदलाई जिम्मा दिएका छन् । मीतभाइ नाताका वीरबहादुर बलायरलाई युवा फाँट हेर्ने जिम्मेवारी दिएका छन्, देउवाले । खासगरी, तरुण दल र नेविसंघमा आफ्नो पकड बनाइराख्ने जिम्मेवारी उनले पाएको स्रोत बताउँछ ।
यसअघि अतिनिकट देखिने विमलेन्द्रसँग भने अहिले केही दूरी बढेको छ । त्यसको कारण नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति प्रकरणका विषयमा बढेको दूरी अब घट्दै गएको पनि अर्को एक स्रोत दाबी गर्छ । डा. प्रकासशरण महत र युवा नेता बालकृष्ण खाँड देउवा निकटवर्ती भए पनि राजनीतिक सम्बन्धजस्तो मात्र भएको स्रोत बताउँछ । पार्टी फुट्दा तरुण दलको केन्द्रीय समिति नै लिएर आएका कारण देउवाले तत्कालीन तरुण दल अध्यक्ष खाँडसँग भरोसा गर्ने गरेका छन् । एक समयमा डडेलधुराका कांग्रेस सभापति कर्ण मल्ल देउवाका अतिनिकटस्थ मानिन्थे । पछिल्लो समय उनीसँग सम्बन्ध चिसिएको छ ।
चुनौतीका चाङ
दाङको सतबरीयास्थित सशस्त्र प्रहरीको ब्यारेकमा ३० चैत ०५८ मा तत्कालीन माओवादीले आक्रमण गर्यो । प्रधानमन्त्री थिए, देउवा । त्यतिबेलाका एक उच्च सुरक्षा अधिकृतका अनुसार उक्त घटनाको जानकारी देउवाले भोलिपल्ट बिहान मात्र पाएका थिए । कारण, त्यतिबेला मदिरासँग उनको मोह अलि बढी नै थियो । राजनीतिको उपल्लो तहमा पुगेर पनि यस्तै अव्यवस्थित र लथालिंग जीवनशैलीका पर्याय बनेका छन्, उनी । जानकारहरू भन्छन्, देउवा सिद्धान्तनिष्ठ नभई उपयोगितावादी नेता हुन् । र, सत्तामुखी र सम्झौतावादी पनि छन् । सिद्धान्त र पार्टीलाई सत्तामा पुग्ने भर्याङ मात्र बनाउने प्रवृत्ति हाबी छ, उनमा । जनता, पार्टी र कार्यकर्ताभन्दा शक्तिकेन्द्रलाई अत्यधिक विश्वास गर्ने प्रवृत्तिका नेताका रूपमा पनि उनी आलोचित छन् । तथापि, कुनै पनि निर्णय लिन ढिलाइ नगर्ने उनको बानी कांग्रेसजनमा लोकप्रिय छ, भलै त्यो कार्यान्वयनका लागि सहज नहोस् ।
‘सरल स्वभाव र कार्यकर्ताको संरक्षण गर्ने तथा सबै दललाई समन्वय गर्न सक्ने उहाँका सबल पक्ष हुन् भने सत्तामुखी र सम्झौतावादी प्रवृत्ति दुर्बल,’ राजनीतिक विश्लेषक तथा उनी प्रधानमन्त्री हुँदा सल्लाहकार रहिसकेका गेजा शर्मा वाग्ले भन्छन्, ‘त्रिशंकू संसद् भएको समयमा गठबन्धन सरकारको नेतृत्व गरेका कारणले गठबन्धन सरकार चलाउने कटु भए पनि उहाँमा विशेष अनुभव छ ।’निर्णय गरिदिने र त्यसको परिणाम नसोच्ने देउवाको प्रवृत्ति पनि पार्टीभित्र र बाहिर आलोचनाको कारण बन्दै आएको छ । जस्तो : १८ असोज ०५९ को राजा ज्ञानेन्द्रको कदमको केही घण्टाअघि मात्र उनले त्रिभुवन विमानस्थलमा भनेका थिए, ‘संसद् विघटन हुँदैन । जनप्रतिनिधि नभए प्रजातन्त्र कमजोर हुन्छ ।’
त्यसको केही घण्टा नबित्दै संसद् विघटनको सिफारिस गरिदिए । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने पछिल्लो निर्णय पनि हतारकै कदम मान्छन्, नेता/कार्यकर्ताले, जुन अन्ततः फिर्ता लिनुपरु्यो । एक समयमा माओवादी नेताहरूको टाउकाको मूल्य तोके र रेडकर्नर नोटिस जारी गर्न लगाए । पछि तिनै माओवादीलाई ‘हिलोमा फुलेका कमलका फूल’ भन्दै वार्तामा बोलाए । अनिर्णयको बन्दी नबन्ने तर त्यसको दूरगामी प्रभावको लेखाजोखा नगर्ने स्वभावले उनलाई बारम्बार घाटा नै दिलाएको छ । पार्टी निर्णयविपरीत संसद् भंग गरी संकटकाल घोषणाको निर्णय स्वयं देउवाका लागि लाभदायक भएन नै, लोकतन्त्रका लागि पनि घातक बन्यो ।
मूल कुरा छिमेकीसँगको सम्बन्ध व्यवस्थापन नै हो। भारत र चीनबीच सन्तुलित सम्बन्ध कायम राख्न देउवा सफल भए भने आन्तरिक मुद्दाहरू त आफैं हल हुँदै जानेछन्। कुमार रेग्मी राजनीतिक विश्लेषक
यद्यपि, उनले गरेका केही निर्णयले समाजमा दूरगामी प्रभाव भने नपारेका होइनन् । जस्तो : ०५७ सालमा कमैया मुक्ति घोषणा गरे । सँगसँगै हलिया मुक्ति पनि गराए । दलित र महिला आयोग गठनको निर्णय उनी प्रधानमन्त्री छँदै भएका हुन् । यद्यपि, पूर्ववर्ती सरकारले सफलता पाएको लोडसेडिङको अन्त्यलाई कायमै राख्नु, बन्द रहेका उद्योग/कलकारखाना खोल्ने प्रयासलाई निरन्तरता दिनु, स्वास्थ्यलाई आम जनताको पहुँचमा पुरु्याउन अवरोध सिर्जना हुन नदिनुजस्ता काम नै प्रधानमन्त्री देउवाका निम्ति चुनौती बन्न सक्छन् । असन्तुष्ट रहँदै आएको मधेशलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा ल्याएर अगाडि बढ्न पनि कम चुनौती छैन, उनका लागि ।
दुई छिमेकीबीच सन्तुलित सम्बन्ध राख्दै अगाडि बढ्नु पनि उनका लागि सहज देखिँदैन । किनभने, उत्तरी छिमेकी चीन यसअघि नै उनीसँग सशंकित छ । पूर्ववर्ती सरकारले चीनको ओबीओआर रणनीतिमा हस्ताक्षर गरिसकेको छ । र, अब दक्षिणी छिमेकीको शंकालाई पनि व्यवस्थापन गर्नुपर्ने दायित्व उनको काँधमा छ । विश्लेषक कुमार रेग्मी देउवाको सबैभन्दा ठूलो चुनौती दुई छिमेकीसँगको सम्बन्ध व्यवस्थापनलाई देख्छन् । भारतमा बढ्दोे हिन्दुत्व र विकासको एजेन्डाको प्रभावलाई कसरी व्यवस्थापन गर्न सक्छन् भन्ने कुरा पनि महत्वपूर्ण रहेको रेग्मीको मत छ । ‘मूल कुरा छिमेकीसँगको सम्बन्ध व्यवस्थापन नै हो । भारत र चीनबीच सन्तुलित सम्बन्ध कायम राख्न सफल भए भने आन्तरिक मुद्दाहरू त आफैं हल हुँदै जानेछन् ।,’ रेग्मी भन्छन्, ‘र, देउवा पनि सफल प्रधानमन्त्री बन्न सक्छन् ।’