सत्ता दौडमा व्यवसायी

सत्ता दौडमा व्यवसायी

नेपालगन्ज : नेपालगन्जको उखरमाउलो गर्मीसँगै यहाँ चुनावी सरगर्मी पनि उत्तिकै बढ्न थालेको छ । घोषणा भइसकेका उम्मेदवार धमाधम घरदैलोमा दौडिरहेका छन् । कांग्रेसले पनि शनिबार बाँकेका सबै स्थानीय तहका लागि उम्मेदवारीको टुंगो लगाएको छ । निकै विवादका बीच लामो छलफलपछि कांग्रेसले शनिबार बाँकेका लागि उम्मेदवारी टुंग्याएको हो । केही नेता कार्यकर्ताले असन्तुष्टि जनाउँदै धर्नामा बसेपछि कांग्रेसले आधिकारिक घोषणा भने गर्न सकेको छैन । कांग्रेसका बाँके जिल्ला सभापति किरण कोइरालाका अनुसार पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा. सुरेस कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाएको छ । थापा नेपालगन्जकी सक्रिय महिला पत्रकार हुनुहुन्छ ।

कांग्रेसले कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सन्जु चौधरीलाई उम्मेदवार बनाएको छ । यसैगरी ६ वटै गाउँपालिकाको उम्मेदवार पनि टुंगो लागेको छ । खजुरा गाउँपालिकाको अध्यक्षमा नक्कि खाँ, उपाध्यक्षमा दीपा आले, वैजनाथ गाउँपालिकाको अध्यक्षमा देवबहादुर खत्री र उपाध्यक्षमा भावना चौधरी, राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा लाहुराम थारु र उपाध्यक्षमा धनीकुमारी खत्रीलाई कांग्रेसले उम्मेदवार बनाएको छ । यसैगरी जानकी गाउँपालिकाको अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव, नरैनापुर गाउँपालिको अध्यक्षमा रामचन्द्र मौर्य र उपमेयरमा अतिकुन्नीसालाई उम्मेदवार बनाइएको छ ।

अब असार १४ को स्थानीय तहको निर्वाचनमा बाँकेको नेपालगन्जमा भिड्ने सबैजसो पार्टीका मेयर उम्मेदवार यहाँका नाम चलेका व्यवसायीहरूले पाएका छन् । अहिले व्यवसाय परिवार र कर्मचारीको जिम्मा लगाएर सबै जना उम्मेदवार राजनीतिमा होमिएका छन् । घरदैलो, पार्टीका सभा, भेला अनि नेताकार्यकर्ता भेटघाटमा उनीहरू व्यस्त छन् ।

कांग्रेसबाट टिकट पाएका एकजना व्यवसायी हुनुहुन्छ डा. कनोडिया । उहाँ नेपालगन्ज मेडिकल कार्यकारी निर्देशक हुनुहुन्छ । कलेजले कोहलपुर र नेपालगन्जमा ठूला शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ । कनोडिया भन्नुहुन्छ, 'राजनीतिमा रुची त पहिलादेखि नै हो अब म पूर्णरुपले राजनीतिमा होमिन्छु भनेर मेयरको लागि तयारी गरेको छु ।' मेयरका लागि कांग्रेसबाट टिकट पाइसकेपछि अब उहाँले कलेजमा सीईओ राखेर आफूले बिदा लिने र राजनीतिमै लाग्ने बताउनुभएको छ । अहिले कांग्रेस बाँकेको सल्लाहकारसमेत रहेका कनोडिया भन्नुहुन्छ, 'प्रजातन्त्रका लागि सुरुदेखि नै लड्दै आएको मान्छे हुँ तर पूर्णकालीन राजनीतिमा लागिनँ । अब प्रयत्न गर्दैछु ।'

एमालेबाट टिकट पाएका समसुद्दिन सिद्दिकी भने पहिलादेखि नै राजनीतिमै समर्पित व्यक्ति हुनुहुन्छ । २०५६ सालमा उहाँ नेपालगन्ज नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको थियो । त्यसबेला एमालेबाट टिकट पाएर नेपालगन्जको मेयर जित्नुभएको धवलसमशेर राणासँग सिद्दिकी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कुनै बेला एउटै पार्टीबाट लडेर मेयर र उपमेयर दुवैमा जित हात पारेका दुवैजना अहिले दुई विरोधी दलबाट मेयरका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

राणा अहिले राप्रपाको महामन्त्री हुनुहुन्छ । मुस्लिम बाहुल्यता रहेको नेपालगन्ज क्षेत्रमा सिद्दिकीको उम्मेदवारीलाई बलियो मानिएको छ । सिद्दिकी भारोत्तोलनका अन्तर्राष्ट्रियस्तरका खेलाडीसमेत हुनुहुन्छ । माओवादी केन्द्रले नेपालगन्जमा मेयरका लागि दामोदर आचार्यलाई अघि सारेको छ । पार्टीले उम्मेदवारी घोषणा गरिदिएपछि उनको व्यस्तता अझै बढेको छ । यसअघि पनि व्यवसाय सँगसँगै पार्टीका धेरैजसो कार्यक्रममा उहाँ सहभागी हुनुहुन्थ्यो । आफूले सञ्चालन गर्दै आएको गार्मेन्ट उद्योग र रेडिमेड कपडाको होलसेल व्यापार अहिले परिवार र कर्मचारीको भरमा चलिरहेको छ । उहाँ भने पूर्णरुपमा राजनीतिमै लाग्नुभएको छ ।

२०३७ सालदेखि नै कम्युनिस्ट राजनीतिमा होमिएका उहाँ यसअघि नेकपा एकता केन्द्रमा हुनुहुन्थ्यो । पार्टी एकतापछि उहाँ माओवादी केन्द्रका नेता हुनुभयो । यसअघि उहाँले नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी पनि सम्हालि सक्नुभएको छ । त्यस्तै उहाँ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पनि भइसक्नु भएको छ । अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य आचार्य २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालासँग प्रतिस्पर्धा गर्नुभएको थियो । 'व्यापार व्यवसाय भनेको परिवार र छोराछोरीले व्यवस्थापन गर्ने हो', आचार्य भन्नुहुन्छ, 'म त सुरुदेखि नै राजनीति गरेको मान्छे, सँगसँगै मैले व्यापार व्यवसाय पनि अघि बढाएँ ।'

त्यस्तै कमल थापा नेतृत्वको रापप्राले पार्टीकै महामन्त्री धवलसमशेर राणालाई मेयरको उम्मेदवार बनाएको छ । उहाँको पनि नेपालगन्जमा होटेल व्यवसाय छ । कुनै जमानामा नेपालगन्जमा निकै चर्चित होटेल बाटिकामा उहाँको लगानी छ । यो होटल अहिले पनि उत्तिकै चलिरहेको छ । त्यस्तै बोर्डिङ स्कुलमा पनि उनको लगानी छ । सुरुवातदेखि नै राजनीति र व्यवसायलाई सँगसँगै अघि बढाइरहेका राणा यसअघि एमालेबाट २०५६ सालमा नेपालगन्जको मेयर हुनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.