वैद्य नेतृत्वको मोर्चाबाट विराटनगरको मेयरमा सन्तोष सरकार
विराटनगर : मोहन वैद्य नेत्रृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले आइतबार विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेको छ ।
मोर्चाद्वारा ओजित पत्रकार सम्मेलनमा विराटनगर ६ का सन्तोष सरकारलाई मेयरको उम्मेदवार बनाइएको छ । मुलुक नै निर्वाचनमा होमिएको अवस्थामा राष्ट्रिय दलको मान्यता नपाएको र चिन्ह समेत प्राप्त नगरे पनि मोर्चाका तर्फबाट स्वतन्त्र रुपमा उम्मेदवार घोषणा गरिएको मोर्चाका विराटनगर संयोजक दामोदर पाण्डेले जानकारी दिनुभयो।
मोर्चाले विराटनगर ४, ५ र ६ का वडाअध्यक्षका उम्मेदवारको पनि टुंगो लगाएको छ। विराटनगर ४ मा राम विन, ५ मा मोहम्मद वेचन र ६ मा सन्जय साहलाई उठाउने निश्चित भएको जानकारी पाण्डेले दिनुभयो । मोरङका ९० प्रतिशत स्थानमा मोर्चाले उम्मेदवारी दिने जानकारी दिंदै उहाँले बाँकी स्थानमा केही दिन भित्रमा उम्मेदवारको टुँगो लगाइसकिने बताउनु भयो ।
पाण्डेले अहिलेसम्म अन्य दलसंग तालमेलको अवस्था नरहेको पनि स्पष्ट पार्दै भन्नु भयो, ‘उम्मेदवारी दिएका मध्ये हामी ४० प्रतिशत स्थानमा जित्छौं ।’ मोर्चाबाट विराटनगरमा मेयरका उम्मेदवार बन्नु भएका सरकारले विराटनगरमा जन्मिएको र हुर्किएको एवं यहाँको माटोसंग परिचित रहेका कारण आफ्नो जित निश्चित रहेको दाबी गर्नु भयो । ‘अन्य दलको तानासाह प्रवृत्तिविरुद्ध हाम्रो उम्मेदवारी हो,’ उहाँले भन्नु भयो, ‘हामी हार्दा पनि जित्छौं र जित्दा पनि जनताका सेवक बन्छौं ।’