छुन नहुने महिला

छुन नहुने महिला

छोरी जन्मिँदा मन खिन्न पार्ने नेपाली समाज पूर्णरूपमा बदलिन बाँकी छ । भविष्यमा घरबाट बिदाइ हुनुपर्ने जाति भन्दै ग्रामीण भेगका अभिभावकले पठनपाठनमा चासो नदिने र सधैं घरायसी काममा लगाइरहने चलन र सोचाइ कुनै नौलो विषय होइन । महिनावारी भएको बखत महिलालाई छुन नहुने र उनीहरू छुट्टै बस्नुपर्ने मान्यता बोकेको समाजमा नै हामी हुर्किएका छौं ।

sudigyaविशेषगरी हिन्दु संस्कृतिबाट प्रेरित घरपरिवारमा महिनावारी भएको बखत महिलालाई अलग राख्ने चलन छ । यसको उदाहरण मन्दिरमा मात्र नभई घरहरूमा पनि भेट्न सकिन्छ । भाग्यवश यो चलन हाम्रा घरघरमा बाजेबज्यैको पालासम्म मात्र सीमित रह्यो तर समाजमा भने अझै व्याप्त छ । प्रकृतिले नारीलाई अमूल्य उपहारका रूपमा दिएको मानिन्छ, तर हाम्रो समाजले अझै पनि हेयको दृष्टिले हेर्न छोडेको छैन । नारी परायाको घर जाने र घरगृहस्थी गर्ने जातिका रूपमा स्थापित छन् । तर नारीको अस्तित्व र सहभागिताबिना मनुष्यको जन्म र विकास असम्भव छ । नारीलाई मानसिक र शारीरिक रूपमा कमजोर (महिनावारी) भएको बेला छुन र सँगै बस्न नहुने वस्तुका रूपमा व्यवहार गरिन्छ । यो कस्तो मानवता हो ?

हामीले यस विषयमा बुझ्न एकजना महिला साथीसँग कुरा गर्‍यौं र नारीका पीडा प्रस्ट रूपमा बुझ्ने कोसिस गर्‍यौं । उनका कुरा सुनेपछि त यो विषय सोचेभन्दा कहालीलाग्दो र विकराल रहेछ । उनको भनाइअनुसार रजवती भएदेखि नै भिन्नै बसाउने र खुवाउने गर्दा नारीहरूलाई पुरुषभन्दा तल्लो र कमजोर भएको महसुस हुने र विस्तारै त्यहीअनुसारको मानसिक छाप बस्नेछ । शिक्षित सहरहरूमा पनि यो अवस्था बाँचिरहेको छ । ग्रामीण भेगमा त कहालिलाग्दो अवस्था छ ।

हामीले नबुझेको कुरा के हो भने आफूले त्यतिका पीडा भोगेर आएका आमाहरू आफ्नी छोरीलाई फेरि त्यही प्रवृत्ति किन सिकाउँछन् र विवेकहीन प्रथा स्विकार्न बाध्य पार्छन् ? यो धर्मको नाममा गरिएको हो भने यसलाई पुष्टि गर्ने स्रोत कहाँ छ ? धर्मको कुन ग्रन्थमा महिनावारी भएकी नारी अशुद्ध हुन्छन् भनेर लेखिएको छ ? कुरा बुझ्दै जाँदा हिन्दु धर्ममा त महिनावारी भएकी देवीलाई पूजा गरिँदो रहेछ । यसको ज्वलन्त उदाहरणको रूपमा आसाममा रहेको कामाक्षादेवीको मन्दिरलाई लिइन्छ । यहाँ रातो रङ लागेको भिजेको कपडालाई बृहत् प्रसादको रूपमा घरघरमा राख्ने गरिन्छ ।संयुक्त राष्ट्रसंघको मानव अधिकार घोषणापत्रमा स्वास्थ्य, सुरक्षा, खाना, नाना, बासको लागि घरजस्ता सामाजिक आवश्यकता हरेक व्यक्तिका मौलिक अधिकार भएको उल्लेख छ ।

यस पत्रमा नेपालले पनि हस्ताक्षर गरिसकेको छ र नेपाल सन्धि ऐन २०४७ को दफा ९ बमोजिम यो नेपालमा तुरुन्त कानुनसरह लागू हुनुपर्ने स्पष्ट रूपमा लेखिएको छ । यति हुँदा पनि नेपालका ग्रामीण भेगमा महिनावारी र त्यससँग सम्बन्धित रोगहरूका कारण बर्सेनि सयौंको संख्यामा नारीहरूको निधन हुने गरेको छ । यस विषयमा महिलासँग सम्बन्धित निकायहरू र तिनका नेतृत्वहरू के हेरिरहेका छन् ? आम जिज्ञासाको विषय बनेको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र त्यसका निकायहरू केकति गम्भीर छन् भनेर हेर्ने हो भने पनि यसबारेमा थप पुष्टि हुन्छ । यसविरुद्ध प्रहरी, समाजका अगुवा महिला नेतृत्व, महिला अधिकारकर्मी आदिले आवाज उठाउन जरी छ । विडम्बनाको कुरा महिला अधिकार र उत्पीडनका कुरा सभा, गोष्ठी र पत्रपत्रिकामा मात्र सीमित छ । यो कुरा लक्षित समूहमा पुग्न सकेको छैन । कानुनबमोजिम सम्बन्ध-विच्छेद नगरी अर्को स्त्रीसँग विवाह गर्ने पुरुषलाई कतिपय नारीवादी संघसंस्थाहरू सम्मान गर्छन् भने तिनीहरूबाट परिवर्तनको थप आशा गर्न सकिँदैन । महिलावादी संघसंस्थाहरूले बहुविवाह गर्ने पुरुषलाई कार्यक्रममा सहभागी नगराउने र त्यस्ता व्यक्तिको प्रमुख आतिथ्य र आतिथ्यमा हुने कार्यक्रममा भाग नलिने प्रथा बसाल्ने हो भने यो महिला सुधारको पक्षमा महत्वपूर्ण पाइला हुने थियो ।

नौ-नौ महिनासम्म गर्भवती भई पीडा बोक्ने र २४ सै घन्टा प्रसव वेदना सहने नारीहरू पुरुषभन्दा हजारौं गुणा सहनशील हुन्छन् र परिवारमा महत्वपूर्ण भूमिका खेल्छन् । यति कुरा थाहा हुँदाहुँदै पनि नारीलाई किन प्रत्यक्ष र परोक्ष रूपमा हेपाहाको पात्र बनाइन्छ ? कोही मान्छे शुद्ध वा अशुद्ध उसको शारीरिक अवस्थाले नभई मनले हुन्छ । हामीले पनि कुनै हाँगा नभएको र नहुने यो प्रथा रोक्न यस्ता घटनाको विरोध गर्नु जरुरी छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.