बिरामी बढ्दै छन्, औषधि छैन

बिरामी बढ्दै छन्, औषधि छैन

 सिमकोट : ‘घरमा श्रीमती, छोरी र आमा बिरामी भएको नौ दिन भयो । बिरामीमा घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने समस्या छ । घरबाट आधा घन्टा लाग्ने बारीगाउँमा भएको लौठी स्वास्थ्यचौकीमा लगातार तीन दिन गएँ तर त्यहाँ सिटामोलसमेत छैन भनेर स्वास्थ्यकर्मीले रित्तो हात घर फर्काए ।

घरका सबै बिरामी भएपछि ज्वरो आए पनि चार घन्टा पैदल हिँडेर श्रीनगर इलाका स्वास्थ्य चौकी आएको हुँ । यहाँको स्वास्थ्य संस्थामा समेत औषधि पाइनँ । अन्तमा निजी औषधि पसलबाट एक हजार दुई सयको औषधि किनेर लगें', औषधिको खोजी गर्दै स्वास्थ्य संस्था चहारिरहनुभएका अदानचुली ५ कर्गैका दीपबहादुर रोकायाले भन्नुभयो । सदरमुकाम सिमकोटदेखि ४४ कोष दक्षिणमा पर्ने अदानचुली गाउँपालिकामा रहेको श्रीनगर इलाका स्वास्थ्यचौकीबाहिर भेटिनुभएका उहाँ आफ्नो पीडा यसरी पोख्दै हुनुहुथ्यो ।

वैशाखदेखि फैलिएको रुघाखोकीले हरेक गाउँमा १५ देखि २५ जनासम्म बिरामी परेपछि उनीहरूले रोकायाले जस्तै औषधि अभावको पीडा भोग्नुपरेको छ । सदाझैं यो वर्ष पनि वैशाखयता बिरामीको संख्या बढे पनि स्वास्थ्य संस्थामा औषधि नभएको लौठी स्वास्थ्यचौकी बारीगाउँका अहेब हरिशचन्द्र छन्त्यालले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लाको दक्षिणी भेगका गाउँमा बिरामीको संख्या धेरै छ ।

अन्य समयमा दैनिक ५ देखि १० जना बिरामी आउने लौठी स्वास्थ्यचौकीमा अहिले २० देखि २५ जना आउने गरेका छन् । स्वास्थ्य संस्थामा आउने बिरामीमा रुघाखोकी, पखाला, ज्वरो आउनेजस्ता संकेत देखिएको अहेब छन्त्यालले बताउनुभयो । ‘मौसम परिवर्तन हुनु, जेठमा पाक्ने नयाँ गहुँबाली खानु र स्वास्थ्य संस्थामा आवश्यक परेका बेलामा औषधिसमेत नहुनाले समस्या थप बल्झिँदै गएको छ', उहाँले भन्नुभयो ।

श्रीनगर इलाका स्वास्थ्यचौकी आसपासका गाउँमा पनि सामान्य समयमा भन्दा अहिले बिरामीको संख्या बढेको छ । अधिकांश बिरामीलाई ज्वरो आउने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने समस्या छ । जिल्ला सदरमुकाम सिमकोटसँगै जोडिएको डाडाँफयामा पनि समस्या उस्तै छ । पछिल्लो समय बिरामीको संख्या वृद्धि भएको सिमकोट गाउँपालिका ७ टुलिङका नन्दबहादुर शाहीले बताउनुभयो । उहाँले गाउँका अधिकांश घरमा बिरामी रहेको बताउनुभयो । ‘घरमा दाजु र दुईजना बालबालिका बिरामी परेपछि गत बिहीबार डाडाँफया स्वास्थ्यचौकी गए पनि पखालाको सामान्य औषधिबाहेक अन्य औषधि नभएपछि रित्तो हात फर्कें', शाहीले भन्नुभयो । अन्य औषधि सदरमुकाम सिमकोटको निजी पसलबाट खरिद गरेको उहाँले बताउनुभयो । डाडाँफयास्थित स्वास्थ्यचौकी एक गैरसरकारी संस्थाले खटाएकी अनमी पुष्पा शाहीको भरमा चलेको शाहीले बताउनुभयो । उहाँका अनुसार डाडाँफयाको चौगनफया, टुलिङ, धारापोरी, स्याडामा पनि रुघाखोकीका बिरामी बढ्दै गएका छन् ।

जिल्लाका गाउँमा मात्रै नभएर जेठ महिना लागेसँगै सदरमुकाम सिमकोटमा समेत बिरामीको संख्यामा वृद्धि भएको छ । चैत ७ गते ३० जना बिरामी आएको जिल्ला अस्पताल सिमकोटको ओपीडीमा आइतबार ६२ जना बिरामीले नाम लेखाएको ओपीडी शाखाका रामकुमार रावतले जानकारी दिनुभयो । मौसम परिवर्तन भएसँगै बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमख नरेशबाबु श्रेष्ठले बताउनुभयो । जिल्लाभरिको मौखिक रेकर्डअनुसार जेठ लागेपछि हरेक दिन बिरामीको संख्या बढ्दै गएको छ ।

सबै स्वास्थ्य संस्थामा औषधि अभाव

हरेक दिन बिरामीको संख्या बढ्दै गए पनि जिल्लाको एक मात्र हुम्ला जिल्ला अस्पतालमा सरकारले निःशुल्क दिने औषधिसमेत छैन । सरकारले उपलब्ध गराउने भनिएका ७२ प्रकारका औषधिमध्ये जिल्ला अस्पतालको डिस्पेन्सरीमा मुस्किलले १० प्रकारका औषधि मात्रै उपलब्ध भएपछि बिरामीले बाध्य भएर निजी मेडिकलबाट किन्नु परेको औषधि वितरण कक्षका रामप्रसाद रावतले बताउनुभयो ।

जिल्ला सदरमुकाममा भएको अस्पतालमा आउने बिरामीले त औषधि किन्नु परेको छ भने बाहिरका स्वास्थ्य संस्थामा औषधि नै छैन । अदानचुली गाउँपालिकाको श्रीनगर इलाका स्वास्थ्यचौकीमा औषधि सकिएको झन्डै दुई महिना भएको स्वास्थ्य चौकीकी अनमी पुष्पा शाहले बताउनुभयो । हरेक दिन ३० देखि ४० जनासम्म बिरामी आउने गरेको शाहले बताउनुभयो । औषधि नभएपछि नजिकैका मेडिकलमा पाठाउनु पर्दा बिरामीको गाली खानु परेको दुखेसो उहाँको छ ।

केन्द्रबाट आउने औषधिको ढुवानी अहिलेसम्म पूर्ण रूपमा भइनसकेको र जिल्ला र क्षेत्रको पनि सकिएका कारण जिल्लाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो ।

सिमकोट नजिकैको डाडाँफया स्वास्थ्यचौकीमा पनि अहिले औषधिको अभाव छ । जिल्लाको मध्य भागमा पर्ने सर्केघार्डअन्तर्गत पर्ने सात र चंखेल्नी गाउँपालिका ६ वटा स्वास्थ्य संस्थामा बिरामीको चापअनुसारको औषधि नभएको सर्केघार्ड गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष जोशी धामीले बताउनुभयो । जिल्लामा भएको औषधि नियमित स्थानीय स्वास्थ्यचौकीमा पठाएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख श्रेष्ठले बताउनुभयो । पानी दूषित हुनु र गर्मी पनि बढेकाले रुघाखोकी र पखालाका बिरामी बढेको निमित्त प्रमुख श्रेष्ठले बताउनुभयो ।

जिल्लामा आउने औषधिमध्ये केन्द्रबाट ७० प्रतिशत, १० प्रतिशत क्षेत्रबाट र २० प्रतिशत जिल्लाबाट आपूर्ति हुने कानुनी व्यवस्था भएको उहाँको भनाइ छ । उहाँका अनुसार केन्द्रबाट आउने औषधिको ढुवानी अहिलेसम्म पूर्ण रूपमा भइनसकेको र जिल्ला र क्षेत्रको पनि सकिएका कारण जिल्लाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । हवाई यातायात एक मात्रै विकल्प भएको हुम्लामा पछिल्लो सयम निजी विमान कम्पनीले औषधिभन्दा कैलाश जाने पर्यटकलाई प्राथमिकता दिएका कारण समयमै औषधि आपूर्तिमा समस्या भएको श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी छैनन्

बिरामीको चाप भएको अदानचुलीको श्रीनगर इलाका स्वास्थ्यचौकीमा निजी र जिल्लाबाट पठाइएका गरी नौजना स्वास्थ्यकर्मी र कार्यालय सहयोगी छन् तर अन्नपूर्ण पोस्ट्ले लगातार ३ दिनसम्म गरेको उक्त स्वास्थ्यचौकीको भ्रमणका क्रममा एकजना हेल्थ असिस्टेन्ट, एकजना अनमी र एकजना कार्यालय सहयोगी गरी ३ जना मात्रै भेटिए । अन्य स्वास्थ्यकर्मीबारे आफूलाई जानकारी नभएको अनमी पुष्पा शाहले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको रेकर्डमा सबै स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामै छन् भन्ने रिपोर्ट छ ।

श्रीनगरमा मात्रै होइन ताजाकोटको मैला स्वास्थ्यचौकीमा पनि गाविस र जिल्लाबाट पठाइएका गरी १० जना स्वास्थ्यकर्मीको दरबन्दी छ । तर स्वास्थ्य संस्था दुईजना जिल्लाबाट पठाइएका र दुईजना फेज नेपालले पठाएका स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेको छ । जिल्लाबाट पठाइएका स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नगई व्यक्तिगत काममा लाग्ने प्रवृत्तिले जिल्लाको स्वास्थ्य समस्या जटिल बन्दै गएको अदानचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दल फडेराले बताउनुभयो । उहाँका अनुसार जिल्ला जनस्वास्थ्यले नियमित कर्मचारीको अनुगमन नगर्ने र दाबबका आधारमा स्वास्थ्यकर्मीको सेवा सुविधा दिने गरेका कारण पनि जिल्लाको स्वास्थ्य क्षेत्रमा विकृति मौलाएको हो । पछिल्लो समय जिल्लामा स्थायी, करार र राष्ट्रिय योजना आयोगबाट आएका गरी पौने तीन सय स्वास्थ्यकर्मी भए पनि कुन स्वास्थ्यकर्मी कहाँ छ भन्ने आधिकारिक तथ्यांकसमेत छैन ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.