युवायुवतीका लागि प्रेमपार्क बनाउने एमालेको प्रतिबद्धता
दाङ : २० वर्षपछि असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका दाङले प्रतिवद्धता सार्वजनिक गरेको छ ।
एमालेकोबाट तुलसीपुर उपमहानगरपालिका मेयरका उम्मेदवार घनश्याम पाण्डेले तयार पारेको नगरको विकास र भावी योजना सहितको १२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । प्रतिवद्धता गर्दै मेयरका उम्मेदवार पाण्डेले तुलसीपुरलाई समृद्ध बनाउने गरी योजनाहरु ल्याइएको बताउनुभयो । पुर्वाधारदेखि प्रेम पार्कसम्म निर्माण गर्ने उहाँले बताउनु भयो ।
एमाले उपमहानगरले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पाँच वर्ष भित्रमा सबै वडाका सडकहरु कालोपत्रे गर्ने, सबै खोलामा पुन निर्माण गर्ने, नगरलाई पर्यटकको गन्तव्य बनाउने, एक बस्ती एक पोखरी निर्माण गर्ने, भौतिक पुर्वाधारलाई सक्षम वनाउने, स्वास्थ्य र शिक्षामा आधुनिक बनाउने, नगर क्षेत्रका विभिन्न स्थानमा प्रेम पार्क निर्माण गर्ने, कृषिलाई आधुनिकीकरण गरी पकेट क्षेत्रको रुपमा विकास गर्ने, तुलसीपुरको बन्द भएको एयरपोर्ट सञ्चालन गर्ने प्रतिवद्धता सहितका योजनाहरु सार्वजनिक गरिएको छ ।
मेयरका उम्मेदवार पाण्डेले सार्वजनिक कार्यक्रममा सबैलाई प्रेम, मनोरञ्जन आबश्यक पर्ने भएकाले प्रेम पार्कहरु निमार्ण गर्न लागेको स्पष्ट पार्नु भएको थियो । उहाँले बालबालिका, युवा युवती बृृद्ध सबैका लागि प्रेम पार्कको महत्व भएकाले स्थापना गर्ने योजना रहेको बताउनुभयो । सो अवसरमा १९ वडाकै अध्यक्षहरुसंग सुझाव समेत लिइएको थियो । त्यस्तै गरेर फोहर व्यवस्थापन,खानेपानी तथा ग्रीन नगरको समेत प्रतिवद्धता जनाइएको छ ।
प्रतिवद्धताको सार्वजनिक नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले गर्नु भएको थियो । सार्वजनिक गर्दै ज्ञवालीले देश शेरबहादुरहरुको कब्जामा गएकोले संकटमा परेको बताउनु भयो । ‘दाङ खुमबहादुरको कब्जामा छ अव यसलाई एमालेले चिर्नु र बचाउनु पर्छ, देश शेरबहादुरहरुको कव्जामा छ यसलाई सुरक्षा गर्नु पर्छ’ज्ञवालीले भन्नु भयो,– ‘एमालेले जिते मात्रै यो अन्य गर्न सकिन्छ ।’
देशले संकट बेहोरेका यिनै बहादुरहरुको कारण भएको भन्दै उपाध्यक्ष ज्ञवालीले समेत हुन आग्रह गर्नु भयो । राष्ट्रियताको लागि ठूला दलका नेताहरु मधेशीहरुसंग डराएको भन्दै देश टुक्राउने अभिब्यक्ति दिनेको पछि लागेको बताउनुभयो। उहाँले स्थानीय निर्वाचनले युवा र शिक्षित जमातलाई राजनीतिमा प्रबेश गराएको भन्दै अव देशले आर्थिक सामाजिक र राजनीतिक रुपमा फट्को मार्ने बताउनुभयो ।