राजपाका कार्यकर्ताद्वारा कर्मचारीमाथि कुटपिट
कलैया: स्थानिय निर्वाचन बिथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले सोमबार साझ निर्वाचनमा खटिएका कर्मचारीलाई दुर्व्यवहार गर्दै कुटपिट गरेका छन्।
जिल्ला निर्वाचन कार्यलयले आयोजना गरेको निर्वाचन सम्बन्धी तालिममा सहभागी भएर फर्कने क्रममा राजपाका कार्यकर्ताले कर्मचारीमाथी कुटपिट गरेका हुन्। राजपाका कार्यकर्ताको कुटपिटबाट केही कर्मचारी सामान्य घाईते भएका छन्।
कलैयास्थित रामराजा क्याम्पसबाट फर्कदै गरेका कर्मचारीलाई बाटो कुरेर बसेका राजपाका कार्यकर्ताले कुटपिट गरेको प्रहरी उपरिक्षक नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो। क्याम्पस वरपर सुरक्षाको व्यवस्था कडा पारेपछि फर्कने क्रममा सुरक्षाकर्मी नभएको स्थानमा बाटो घेरेर केही कर्मचारीलाई कुटपिट गरेको र कुटपिटबाट कर्मचारी सामान्य घाईते भएको उप्रेतीले बताउनुभयो।
राजपाका कार्यकर्ताले महिला तथा बालबालिका कार्यलयको बा२झ २४०२ र जिल्ला बिकास समितिको बा३च ६८८ नम्बरको टाटा सुमो तोडफोड गरेका छन् भने ना३०प ६१८३ नम्बरको कर्मचारीको मोटरसाईकलमा क्षती पुर्याएका छन्। कर्मचारीमाथी कुटपिट भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले राजपाका पन्नालाल पटेललाई पक्राउ गरेको छ।
राजपाका कार्यकर्ताको बिरोधका कारण तालिम आयोजना गरिएको क्याम्पस वरपरको क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो। तालिम बिथोल्ने राजपाका कार्यकर्ताको प्रयासलाई प्रहरीले असफल पारेको थियो । घटनापछि प्रहरीले कलैया क्षेत्रमा सुरक्षा ब्यवस्था थप कडा पारेको प्रउ उप्रेतीले जानकारी दिनुभयो।
कलैया उपमहानगरपालिकामा रहेको जिल्ला निर्वाचन कार्यलय र १५ वटा निर्वाचन अधिकृतको कार्यलयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।
एउटा निर्वाचन अधिकृतको कार्यलयमा ५० भन्दा बढी नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको प्रउ उप्रेतीले जानकारी दिनुभएको छ। कलैया उपमहानगरपालिकामा ५२ मतदान स्थल र ७९ मतदान केन्द्र रहेका छन्।
निर्वाचनको बिरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको राजपाले कलैयामा साझ मसाल जुलुस प्रदर्शन गरेको छ। मंगलवादेखी राजपाले आवहन गरेको मधेस बन्दका क्रममा थप क्षती हुन नदिन सुरक्षा अवस्था कडा बनाएको प्रउ उप्रेतीले बताउनुभएको छ।