सोह्र वर्षपछि

सोह्र वर्षपछि

अन्याय र गैरकानुनी कार्यलाई सम्बोधन गर्ने एउटा मुख्य तरिका त्यसको कानुनसम्मत छानबिन र न्यायिक हस्तक्षेप नै हो । यी दुवै विषय राज्यका अनुसन्धान, अभियोजन र न्यायिक अंगहरूका संवैधानिक दायित्वभित्र पर्छन् । कसुरअनुसारको दण्ड समयमै नपाउँदा व्यक्ति र समाज दुवै अपराध गर्न प्रोत्साहित हुन्छन् । अपराध तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न असफल राज्यप्रति आम नागरिकको विश्वास घट्न जान्छ । नागरिकको विश्वास गुमाएको राज्यको आधिकारिकतामा क्षय भएमा त्यो राज्य क्रमश: असफल बन्ने खतरा रहन्छ ।

राज्यका न्यायिक र संवैधानिक दायित्वसँगै अन्याय, गैरकानुनी गतिविधि र अपराधहरूबारे समाजले स्पष्टरूपमा असहिष्णु व्यवहार देखाएमा त्यस्ता प्रवृत्तिहरू हतोत्साहित हुन जान्छन्, दण्डहीनता र आपराधिक संस्कृति स्वत: कमजोर हुन जान्छन् । यदाकदा समाज स्वयं अपराध र आपराधिक प्रवृत्तिप्रति उदासीन हुन जाँदा त्यसले अपराधको पृष्ठपोषण गरेको अर्थ पनि लाग्न सक्छ । त्यसैले गम्भीर प्रकृतिका अपराध र विचलनमा मौन रही तिनीहरूलाई प्रोत्साहित गर्दा सम्बन्धित गाउँ या समाजविरुद्ध सामूहिक दण्ड लगाउनसमेत जरुरी हुन जान्छ, मौनताबाट अपराधलाई प्रोत्साहित गरेबापत ।

नेपाली समाज केही मामिलामा पटकपटक चुकेको छ केही सामाजिक अपराधका मामिलामा । खासगरी छुवाछूत र 'बोक्सी' का नाममा एउटा पक्षलाई मानसिक, शारीरिक यातना पुर्‍याउँदै, गैरकानुनी र अमानवीय व्यवहार, प्रदर्शन हुँदै आएका सन्दर्भमा 'सामूहिक' दण्ड स्वाभाविक रूपमा त्यसलाई निरुत्साहित गर्ने उपयुक्त अस्त्र बन्न सक्छ ।

राजविराजमा १६ वर्षअघि बोक्सीका नाममा अमानवीय र गैरकानुनी रूपमा यातना भोगेकी मरनीदेवी अहिले त्यो कुप्रथाविरुद्धको अभियानको सम्मानित नायक बनेकी छन्, आफ्नो क्षेत्रमा । महिला मानव जातिको 'ममता' र त्याग स्वरूप हो । समाजमा व्याप्त अशिक्षा, अमानवीयता र पाखण्डले मात्र उनीहरूलाई त्यो 'बोक्सी' को रूपमा प्रस्तुत गर्छ भन्ने प्रमाणित उनले गरेकी छन्, १६ वर्षअघिको समाजको अत्याचार र केहीको उदासीनतालाई माफ गर्दै । मरनी देवीको यो प्रयासलाई समाजले सकारात्मकरूपमा स्विकारेको छ, तर राज्यले सम्मान गरिसकेको छैन ।

त्यसैले यता आएर बोक्सी भनी कसैलाई आरोप लगाउनु या यातना दिनु कानुनीअनुसार दण्डनीय भए पनि त्यस्ता घटना भइ नै रहेका छन् । ती ठाउँमा अथवा त्यस्ता घटना भएको अवस्थामा सम्बन्धित गाउँलाई माथि सामूहिक दण्डसँगै तत्काल या एउटा निश्चित समयसीमाभित्र सम्बन्धित अपराधीहरूलाई कानुनको घेरामा ल्याउन असफल भएमा सम्बन्धित क्षेत्रका प्रशासन र सुरक्षा निकाय प्रमुखमाथि समेत कारबाही चलाउने व्यवस्था सुरु भएमा छुवाछूत र 'बोक्सी' प्रथा जस्ता जघन्य सामाजिक अपराध धेरै छिटो बिलाउनेछन् । मरनीदेवीको इतिहास र वर्तमानबाट राज्यले प्रेरणा लिन र प्रायश्चितस्वरूप राज्यले यी कदम उठाउनु उपयुक्त हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.