गाउँमै उन्नत जातका बाख्रा
जीतपुर : महालक्ष्मी नगरपालिका वडा नं. ७ बजगाउँ टोलका दीपेन्द्र चौहानले व्यावसायिक रूपमा उन्नत जातका बाख्रापालन गरेर मनग्गे आम्दानी गर्दै आउनुभएको छ ।स्थानीय जातका बाख्रापालन गर्दै आउनुभएका उहाँले दुई वर्षअघि सप्तरीको मौलीबाट बोयर, जमुनापारीलगायत उन्नत जातका बाख्राको माउ ल्याएर गाउँमै व्यावसायिक बाख्रापालन गर्नुभएको हो । उहाँको जालपादेवी बाख्रापालन फार्ममा करिब सयको हाराहारीमा उन्नत जातका पाठापाठी छन् । बाख्रापालनबाट खर्च कटाएर वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी हुने चौहानको भनाइ छ ।
अहिले स्थानीय जातभन्दा उन्नत जातका पाठापाठीको माग बढिरहेका कारण आफूले उन्नत जातका पाठापाठी उत्पादन सुरु गरेको उहाँले बताउनुभयो । 'स्थानीय जातको बाख्रामा मेहनत धेरै आम्दानी थोरै हुन्छ' उहाँ भन्नुहुन्छ, 'उन्नत जातका बाख्राबाट दोब्बर फाइदा हुन्छ ।'
बाख्रापालनको लागि चौहानले व्यवस्थित आधुनिक खोर बनाउनुभएको छ । खोर बनाउनका लागि मात्रै करिब १० लाख रुपैयाँ खर्च भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, 'बाख्रापालन गर्न फार्ममा १४ लाख रुपैयाँ लगानी गरिसकेँ । राष्ट्रिय वाणिज्य बैंकबाट करिब चार लाख रुपैयाँ ऋण लिएको छु ।'
उहाँका अनुसार उन्नत पाठापाठीको माग उच्च हुँदा बजारको समस्या छैन । पाठापाठी खरिदका लागि धनकुटाका विभिन्न ठाउँका साथै संखुवासभा, भोजपुर, पाँचथर र तेह्रथुमबाट किसान फार्ममा आउने गरेका छन् । उहाँले स्थानीय खरी जातको बाख्रालाई उन्नत जातको बोयरसँग क्रस गरेर उन्नत जातका पाठापाठी उत्पादन गर्दै आउनुभएको छ ।
चौहानका अनुसार जमुनापारी जातको बाख्रा तौल गरेर प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुन्छ । एउटा बोका कम्तीमा ३० किलोसम्म हुन्छ । फार्ममा ७० किलोसम्मको उन्नत बाख्रा रहेको उहाँले बताउनुभयो । 'फरक ढंगले गाउँघरमै केही गर्न सके पैसा कमाउन विदेश जानु पर्दैन', उहाँ भन्नुहुन्छ, 'पहिले पनि बाख्रापालन नै गर्थे । तर स्थानीय स्तरमा उन्नत पाठापाठीको माग धेरै रहेको थाहा पाएपछि मैले यो व्यवसाय सुरु गरेँ ।' गत वर्ष जिल्ला पशु सेवा कार्यालय धनकुटाले उहाँको फार्मलाई व्यवस्थित रूपमा सञ्चालन गर्न दुई लाख रुपैयाँ अनुदान दिएको थियो ।
माग बढी भएका कारण फार्मलाई व्यवस्थित गरेर पाँच सयवटा उन्नत जातका बाख्रापालन गर्ने उहाँको सोच छ । उहाँ भन्नुहुन्छ, 'अबको केही वर्षभित्र बाख्राको संख्या पाँच सय बनाएर बाख्रा स्रोत केन्द्रको रूपमा विकास गर्ने सोच छ ।' बाख्रापालनको लागि उहाँले बारीको काल्नामा उन्नत जातको डालेघाँस, किम्बुलगायत पोसिलो घाँसका बिरुवा लगाउनुभएको छ ।
खोरमा रहेका उन्नत जातका पाठापाठीलाई घाँस खुवाउँदै किसान । अन्नपूर्ण