नयाँ शक्तिले मनायो पहिलो वार्षिकोत्सव
काठमाडौँ : नयाँ शक्ति पार्टी, नेपालले स्थापनाको पहिलो वर्षगाँठ पूरा गरेको छ। पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा नयाँ शक्ति पार्टीले केन्द्रीय कार्यालय बबरमहलमा विषेश कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।
वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य राख्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउनका निम्ति पुरानोलाई भत्काएर नयाँ बनाउने आँट गर्नैपर्ने बताउनु भयो।
उहाँले पार्टीका अभियन्ताहरुलाई नयाँ शक्तिलाई साँच्चिकै नयाँ बनाउन दृढ अठोटका साथ लाग्न समेत आग्रह गर्नुभयो।
नयाँ शक्तिले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा गरेको चियापान तथा शुुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका पार्टी संयोजक डा. भट्टराईले संसारमा सम्पदा र सम्पत्तिको थुप्रो लाग्दासमेत हामी गरिब हुन बाध्य भएको तर्क गर्दै भन्नुभयो, ‘गरिबीको अन्त्य गर्दै हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउने महान अभियानलाई लिएर हाम्रो पार्टी अघि बढेको छ।’
उहाँले देशका पुराना पार्टीहरुले दलीय सिन्डिकेट नै निर्माण गरी भ्रष्टचारलाई संस्थागत गरेको दाबी गर्नुभयो। ‘ठूला दलहरुले भ्रष्टाचारलाई सिन्डिकेट बनाएर संस्थागत गरेकै कारण पनि मुलुक समृद्ध बन्न नसकेको हो’ उहाँले चिन्ता व्यक्त गर्नुभयो, ‘एक वर्षयता खर्बभन्दा बढी राजनैतिक दलहरुको सिण्डिकेटमा भ्रष्टाचार भएको छ अनि कहाँबाट मुलुक समृद्ध हुन्छ ?’
त्यही भ्रष्टाचारको जालोलाई तोडेर सदाचार र सुशासन कायम गर्दै विकास र समृद्धि हासिल गर्ने लक्ष्य नयाँ शक्तिले निर्धारण गरेको बताउँदै संयोजक भट्टराईले भन्नुभयो, ‘त्यसैले अब हामी विकास र समृद्धिसहित सुशासन र सदाचारको राष्ट्रिय मुद्दा लिएर जनताको बिचमा जानेछौं।’
नयाँ शक्तिप्रति जनताको आशा र विश्वास बलियो रहेको बताउँदै उहाँले जनताकै विश्वास र साथका कारण नयाँ शक्ति स्थापना भएको पहिलो वर्षमै निर्वाचनमार्फत जनताको बीचमा गएर पाँचौं नम्बरमा चर्चाका साथ स्थापित भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हामीप्रति जनताको ठुलो अपेक्षा छ, त्यसैले जनताको अपेक्षा पूरा गर्न पनि हामीले मेहनत गर्न जरुरी छ, जनताको अपेक्षा पूरा गर्नको निम्ति हामी सुस्ताउने होइन जोखिम मोल्न तयार हुनुपर्छ। फिनिक्स पन्छीले झैं आफैंलाई जलाएर पुनः नयाँ अवतारमा उठ्नुपर्छ।’
अहिलेको न नयाँ न पुरानोको अवस्थाको अन्त्य गर्दै पुरानो सोच र चिन्तन त्यागेर नयाँ बनाउनुपर्ने आवश्यकतामा जोड दिंदै उहाँले भन्नुभयो, ‘यो देशमा अझ धेरै काम गर्न छ, नयाँ शक्तिले मात्रै नेपालको आर्थिक विकास र समृद्धि हासिल गर्न सक्छ।’ नयाँ शक्ति पार्टीका विभिन्न तहमा रहेको नेता कार्यकर्ताको उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रमको संचालन केन्द्रीय कार्यालयका सह–संयोजक प्रल्हाद लामिछानेले गर्नुभएको थियो।
तस्बिर : सरोज बैजु