पत्रकार महासंघको भूमिका एनजिओ/आइएनजिओको जस्तै : ट्रेड युनियनमा बदल्न माग
काठमाडौं : नेपाल पत्रकार महासंघको भूमिका एनजिओ/आईएनजिओको जस्तै भएको भन्दै विभिन्न संघ संस्थाले यसलाई ट्रेड युनियनमा बदल्नु पर्नेमा जोड दिएका छन्।
महासंघले श्रमजीवि पत्रकारको हकहित तथा सेवा सुविधामा चासो दिने भन्दा पनि दातृ निकायलाई मात्र खुशी पारेको भन्दै उनीहरुले यसलाई ट्रेड युनियनमा बदल्नुपर्नेमा जोड दिएका हुन्।
मंगलबार प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले राजधानीमा गरेको अन्तरक्रिया बोल्ने विभिन्न संगठनका प्रतिनिधिले महासंघलाई ट्रेड युनियनका रुपमा बदलेर आफैंमा कानुनी रुपमा सम्पन्न बनाउन आवश्यक रहेको बताएका हुन्।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले महासंघलाई ट्रेड युनियनका रुपमा विकसित गर्न सके अधिकार र श्रमजीविको हकहित तथा साना लगानीका मिडियाको सुरक्षामा समेत सहजता हुने बताए। महासंघले श्रमजीविको अधिकार उठाउन नसकेको भन्दै अहिले एनजिओ आईएनजिओ भन्दा महासंघ फरक बन्न नसकेको उहाँको भनाइ छ।
प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष बलराम थापाले ट्रेड युनियनको मुद्दा निक्कै पहिलेदेखि नै उठाउँदै आए पनि सबैले वेवास्ता गरेकाले मुद्धा नै ओझेलमा परेको भन्दै यसलाई अगाडि बढाउन आवश्यक रहेको बताए।
पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकर आफैंले श्रमसँग जोडिएको समिति निर्धारण गरेको भन्दै पत्रकार महासंघलाई ट्रेड युनियनका रुपमा बदल्नु कुनै विवादको विषय नभएको तर कुन मोडलमा लैजान सकिन्छ भन्ने विषयमा अब बहस गर्नुपर्ने उनको भनाइ छ।
प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले ट्रेड युनियनमा महासंघलाई बदल्नु राम्रो कुरा भए पनि व्यवहारिक र नीतिगत विषयमा जोड दिनुपर्ने बताए।
प्रेस युनियन नेपालका कोषाध्यक्ष शरद अधिकारीले आफ्नो संगठनले ६ वर्ष अगाडि नै महासंघलाई ट्रेड युनियनका रुपमा लैजानुपर्छ भनेर उठान गरेको भन्दै यो मुद्धालाई पत्रकार महासंघको आसन्न महाधिवेशनसम्म जोडदारका साथ उठाउनुपर्ने बताए।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञान प्रसाद पौडेल, पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, प्रेस सेन्टर तीन नम्बर प्रदेशका सचिव टेनिस रोकालगायतले धारणा राखेका थिए ।कार्यक्रममा सहभागी अन्य वक्ताहरुले नेपाल पत्रकार महासंघले एनजिओ/आइएनजिओको जस्तै मात्र काम गरेको तर श्रमजीवी पत्रकारहरुको सेवा सुविधा, रोजगारी, सुरक्षा, क्षमता वृद्धि विकासलगायत विषयमा गम्भीर नभएको वक्ताहरुको आरोप छ।