बंगलादेशमा भीषण वर्षा, ३५ को मृत्यु
ढाका : दक्षिणपूर्वी बंगलादेशमा भारी मनसुनी वर्षाका कारण ३५ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । यस प्रकोपमा प्रायः पहिरोमा पुरिएर मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको संख्या बढ्ने अनुमान रहेको छ ।
आपत्कालीन उद्धारकर्ता भीषण वर्षा प्रभावित दुर्गम इलाकामा गएका र उनीहरू टेलिफोन र यातायात सम्बन्ध नभएको हुनाले सम्पर्क हुन सकेको छैन । उद्धारकार्य निकै रफ्तारका साथ जारी रहेको प्रकोप व्यवस्थापन विभागका प्रमुख रेआज अहमदले एएफपी समाचार समितिलाई बताएका छन् । सोमबार बिहानबाट भएको भारी वर्षाबाट रंगामती र बन्दरबान दुईवटा जिल्ला निकै प्रभावित भएका छन् । मृतकहरूको संख्या पनि यी दुई जिल्लामा नै बढी भएको बताइएको छ । रंगामतीमा चारजना सैनिकको पनि मृत्यु भएको छ ।
भीषण रूपमा परेको मनसुनी वर्षाका कारण रंगामतीमा १३.५ इन्चसम्म पानी जमेको र अझै पनि पानी पर्ने क्रम नरोकिएको मौसम अधिकारी बज्लुर रसिदले बताए । भारी मनसुनी वर्षाका कारण राजधानी ढाका र चटगाउँसमेत प्रभावित भएको र केही घण्टा यातायातसमेत अवरुद्ध भएको छ । भूस्खलन र वर्षाबाट अत्यधिक प्रभावित हुनेमा ग्रामीण क्षेत्र छन् ।
उद्धारकर्मी निकै प्रभावित क्षेत्रमा पुगेको सरकारले जानकारी दिएको छ । बंगलादेशमा केही दिनअघि मोरा आँधी आएको थियो । दक्षिणी क्षेत्रबाट आएको उक्त आँधीमा तीन ८ भन्दा बढीको मृत्यु भएको थियो भने ३ लाखभन्दा बढी व्यक्ति आफ्ना वासस्थान छोडेर सुरक्षित स्थलतर्फ शरण लिन पुगेका थिए ।