स्वराजको हस्तक्षेपपछि पाकिस्तानीलाई भिसा
नयाँ दिल्ली : भारतीय विदेशमन्त्री सुषमा स्वराजको हस्तक्षेपछि पाकिस्तानको एक दम्पतीले भारतमा उनीहरूको चारमहिने शिशुको उपचारका लागि मेडिकल भिसा (प्रवेशाज्ञा) प्राप्त गरेको छ ।
उक्त दम्पतीले आफ्नो शिशुको उपचारका लागि भारत आउन मेडिकल भिसा खोजेको थियो । पाकिस्तानस्थित भारतीय उच्चायोगले उनीहरूलाई सुरुमा प्रवेशाज्ञा दिन मानेको थिएन । यस्तो समाचार सार्वजनिक भएपछि भारतीय विदेशमन्त्री सुषमा स्वराजको हस्तक्षेपपछि भिसा दिइएको हो । प्रवेशाज्ञापछि पाकिस्तानी नागरिक कलवाल सादिकको दम्पती मंगलबार नयाँ दिल्ली आइपुगेको छ ।
उनीहरूले ती शिशुको उपचार भारतको नोएडास्थित अस्पतालमा गराउने योजना बनाएका छन् । नोएडाको अस्पताल नयाँ दिल्लीभन्दा करिब ३० किलोमिटर टाढा पर्दछ । पाकिस्तानस्थित भारतीय उच्चायोगले सोमबार साँझ त्यस दम्पतीलाई भिसा दिएको थियो । पाकिस्तानी नागरिक सादिकले आफूले भिसा नपाएको कुरा भारतीय विदेशमन्त्री स्वराजलाई ट्विटर अकाउन्टमार्फत गुनासो सार्वजनिक गरेका थिए । त्यसै आधारमा उनलाई भिसा दिनु भन्ने आदेश स्वराजले फोनमार्फत पाकिस्तानस्थित उच्चायोगलाई आदेश दिएकी थिइन् ।
भारतीय विदेशमन्त्रीको आदेशबमोजिम नै आफूले भिसा पाएको सादिकले जानकारी दिएका छन् । सादिकको चारमहिने छोरा रोहानको मुटुमा प्वाल देखिएको छ । उनले नोएडामा नै उनको उपचार गराउन चाहेका थिए । उनले भिसाको लागि आवेदन गर्दा प्राप्त गर्न सकेका थिएनन् । हाल भारत र पाकिस्तानका बीचमा केही दिनदेखि विवाद बढ्दो देखिएको छ । यसै कारण भारत र पाकिस्तानका नागरिकलाई आपसमा यात्राका लागि पनि समस्या उत्पन्न हुने गरेको छ।
उनले केही दिनअघिमात्र ‘किन मेरो शिशुले उपचार पाउन नसक्ने म्याडम सुषमा र सर सरताज अजिज' भनेर भारतीय विदेशमन्त्री स्वराज र पाकिस्तानी विदेशमन्त्री सरताज अजिजलाई उनीहरूको ट्विटरमा लेखेका थिए । उक्त ट्विटरको प्रतिउत्तरमा स्वराजले उल्लेख गरेकी थिइन्, ‘होइन, दुई देशको वर्तमान सम्बन्धको शिकार रोहान बन्ने छैनन् । तपाईंले मेडिकल भिसा पाउनुहुने छ, पाकिस्तानस्थित भारतीय उच्चायोगमा सम्पर्क गर्नुहोस् ।'
त्यो सूचनापछि सादिक भारतीय उच्चायोग पुगेका थिए र लगत्तै उनले भिसा पनि प्राप्त गरेका थिए । —रासस/सिन्ह्वा