एपीएल अब एसियन क्लब प्रतियोगिता, नेपालमा हुने पक्का

एपीएल अब एसियन क्लब प्रतियोगिता, नेपालमा हुने पक्का

काठमाडौं : घोषण भएकै दिनबाट विवादमा तानिएको एसियन प्रिमियर लिग (एपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिता अब एसियन क्लब प्रतियोगिताको रूपमा हुने भएको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रतियोगिता आयोजक भारत चण्डिगढको अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टबीच भएको छलफलपछि एपीएललाई क्लब प्रतियोगिताका रूपमा आयोजना गर्ने सहमति भएको हो ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अनुमतिबिना एपीएल आयोजना गर्न लागेको सार्वजनिक भएसँगै त्यसको विरोध भएको थियो । नेपालमा प्रतियोगिता आयोजनाको जिम्मेवारी दिएको राखेपले पनि आफूले एपीएल नभई एसियन क्लब प्रतियोगिताका लागि अनुमति दिएको सोमबार दाबी गरेको थियो ।

राखेप र अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टबीच आसन्न यू-१९ विश्वकपको छनोटको तयारीमा रहेको नेपाली टोली प्रतियोगिताअघि नै वैदेशिक प्रशिक्षणका लागि भारत पठाउने सहमति भएको छ । साथै प्रतियोगिता आयोजनाका कारण नेपाली यू-१९ टोलीको तयारीमा असर पार्ने ६ दिनको खर्च अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टले बेहोर्ने भएको छ ।

'हामीले आज भएको छलफलमा अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टलाई सहमतिअनुसार काम गर्न भनेका छौं । उनीहरू ब्यानरसहित सबैमा क्लब प्रतियोगिता लेख्न सहमत भएका छन्', राखेपका सदस्यसचिव केशवकुमार विष्टले भने, 'साथै प्रतियोगिताका कारण नेपाली यू-१९ टोलीको विश्वकप छनोट तयारीमा असर नपरोस् भनेर ६ दिनअघि नै दिल्ली पठाउने सहमति भएको छ । त्यो ६ दिनको सम्पूर्ण खर्च उनीहरूले नै बेहोर्ने भएका छन् ।' सदस्यसचिव विष्टका अनुसार अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टले नेपाली खेलाडीलाई त्यो ६ दिन 'थ्री स्टार' होटलमा राख्नेछ ।

'नेपाली टोली यसै पनि तयारीका लागि भारत जाँर्द थियो', सदस्यसचिव विष्टले भने, 'उनीहरू अब ६ दिनअघि नै जाने भएका छन् । हामीले उनीहरूलाई फाइभ स्टार होटलमै राख्नुपर्छ भनेका छौं । तर, उनीहरूले थ्री स्टारसम्मको होटलमा राख्छौं भनेका छन् । यसले नेपाली खेलाडीको तयारी अझ राम्रो हुने अपेक्षा गरेका छौं।'

आगामी जुन १९ देखि जुलाई ४ सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, यूएई र अफगानिस्तानको एकएक क्लबले सहभागिता जनाउँदैछन् । नेपाल स्टोर्म नाम दिइएको नेपाली टोलीमा पाँच नेपाली खेलाडी छन् ।

आफ्नै देशमा आयोजना हुने प्रतियोगितामा नेपाली खेलाडीले खेल्न नपाउने भएपछि नेपाली क्रिकेट खेलाडी संघ (सिपान)ले भने विज्ञप्तिमार्फत असन्तुष्टि जनाएको थियो । यद्यपि यो प्रतियोगितामा अक्सनमार्फत छानिएका पाँचभन्दा बढी नेपाली खेलाडीले नखेल्ने भएका छन् । मंगलबारको छलफलमा राखेपले नेपाली खेलाडी थप्ने व्यवस्था गर्न आग्रह गरेको थियो । तर, अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टले अब नेपाली खेलाडी थप्न नसक्ने जनाएको सदस्यसचिव विष्टले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.