‘उपेन्द्र यादव गद्दार’ भन्दै राजपाले झण्डा जलाए, कार्यालयको बोर्डमा कालो पेते
महोत्तरी : राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले संघीय समाजवादी फोरम नेपालको महोत्तरी कार्यालयको साइन बोर्डमा कालो मोविल पोत्दै गेटमै राखेको पार्टीको झण्डा उखेलेर जलाएका छन् ।
राजपाको पूर्व घोषित कार्यक्रम अनुसार दोस्रो दिन बुधबार बन्दको क्रममा जलेश्वरको खैराचोक पुगेका नेता तथा राजपा कार्यकर्ताहरुले ‘उपेन्द्र यादव गद्दार’ भन्दै पार्टीको झण्डा जलाएका हुन्।
यता संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय यादवले राजनीतिक लडाइँ राजनीतिक हिसाबले लडे वेस हुने चेतावनी दिएका छन् । ‘पार्टीको झण्डा जलाउने र साइन बोर्डमा कालो पोत्नेलाई स्थानीय प्रशासनले प्रश्रय दिएको छ,’ उहाँले प्रहरी प्रशासनको विरोध गर्दै भन्नुभयो, ‘राजपाले वैचारिक वा फिजिकल लडाइँमध्ये जुन लडाइँ लड्न चाहे पनि हामी तयार छौं । पार्टीको झण्डामा पुगेको क्षतिको हिसाब चुकाउछौं ।’
पार्टी कार्यालयको करिव २५ मिटरको दूरीमा सशस्त्र प्रहरीको चेक पोष्टमा दर्जनौको संख्यामा सुरक्षाकर्मीहरु तैनाथ रहेपनि प्रहरी मुक दर्शक बनिरहेकोमा समेत आफ्नो गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष यादवले बताउनुभयो ।