छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ
फिदिम : आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा च्याङथापुका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै १७ वर्षीया छोरिलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।
पीडित छोरी र आफन्तहरुले गत २२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो।
पाँच बर्ष पहिले आमाले दोस्रो विवाह गरेपछि घरमा बुवा र छोरी मात्र बस्दै आएका थिए। पीडित छोरीले दिएको उजुरीका अनुसार बुवाले विगतदेखि नै पटक पटक बलात्कार गर्दै आएका थिए।
पछिल्लो पटक मदिरा सेवन गरी घरमा आएर बलात्कार गरेर धारिलो हतियार प्रयोग गरी घाइते बनाएपछि पीडा सहन नसेपछि छोरीले छिमेकी र आफन्तलाई सुनाएकी थिइन्।
बुवाको अत्याचार सहन नसक्ने भएपछि आफन्त र छिमेकीको सहयोगमा छोरीले प्रहरीमा उजुरी दिएकी थिइन्। पीडित छोरीको टाउकोमा चोट लागेको छ। उनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ।
बलात्कारको आरोपमा पक्राउ परेका बुवालाई म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनलाई हाडनाता करणी सम्बान्धी मुर्दा चलाइने बस्नेतले बताउनुभयो।