राजपा नआए पनि निर्वाचन रोकिन्न : गृहमन्त्री शर्मा
काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचनमा भाग नलिने अवस्था आए पनि निर्वाचन हुने दाबी गर्नु भएको छ। अन्नपूर्णसँग कुरा गर्दै गृहमन्त्री शर्माले सरकारले त्यस खालको सुरक्षा रणनीति तयार गरिसकेको बताउनु भयो।
‘मतदाता र उम्मेदवारको सुरक्षा सँगै मतदान गर्ने जनताको अधिकार रक्षाका लागि सबै खालका सुरक्षा व्यवस्था मिलाएका छौँ,’ शर्माले भन्नुभयो। राजपा र सरकार बीचको द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेको र वार्ताबाटै सहमति जुटाउन अन्तिम प्रयत्न गर्ने शर्माको भनाइ छ।
‘वार्ता गरेर सहमति जुटेन भने पनि तोकिएको समयमा जे जसरी पनि सरकारले निर्वाचन गराउँछ। निर्वाचन विथोल्नेसँग कुनै सम्झौता हुँदैन,’ मन्त्री शर्माले भन्नुभयो। राजपाको निर्वाचन सार्ने माग पूरा नहुने दाबी शर्माको छ।
‘तोकिएको समयमा निर्वाचन गराउनु सरकारको पहिलो प्राथमिकता हो’, मन्त्री शर्माले भन्नुभयो, ‘निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा गर्ने गरी सुरक्षा रणनीति गृह मन्त्रालयले तयार पारिसकेको छ।’
दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन सरकारलाई चुनौती छ नि भन्ने अन्नपूर्णको प्रश्नमा शर्माले भन्नुभयो, ‘हामीले प्रर्याप्त गृहकार्य गरेका छौँ, राज्यका सबै सुरक्षा निकाय परिचालन हुने हुँदा दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न कुनै पनि प्रकारको जोखिम मैले देखेको छैन।’
बुधबार नै गृहमन्त्री शर्मा र सुरक्षा निकायका उच्च अधिकारीबीच निर्वाचन सुरक्षाको रणनीतिका विषयमा छलफल भएको छ।
मंगलबार मात्र निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्था गर्न अनुरोध गर्नुभएको थियो। प्रमुख आयुक्त यादवसँग गृहमन्त्री शर्माले सुरक्षाको उचित प्रबन्ध मिलाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।