विराटनगरमा बढ्दो निर्वाचन आचारसंहिता उल्लंघनका घटनाले आयोग चिन्तित
विराटनगर: दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिंदै जाँदा मोरङमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु पनि बढ्दै गएका छन् । राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले दलहरुलाई बिहीबार सचेत समेत गराएको छ ।
मोरङका मुख्य निर्वाचन अधिकृत र राजनैतिक दलका प्रतिनिधी सहित आयोजना गरिएको सर्वदलीय बैठकमा क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले आचारसंहिता उल्लंघन बन्द गर्न आग्रह गर्नु भयो । ‘हामी कुन दलले कसरी आचारसंहिताको पालना र उल्लंघन गरिरहेका छन् भनेर अनुगमन गरिरहेका छौं । उल्लंघन गरेको आचारसंहिताका बारेमा एक एक टिपोट आयोगसंग छ,’ उहाँले भन्नुभयो, ‘उल्लंघनका सवालमा निर्वाचन आयोगले अहिले सम्म अपनाइरहेको संयमतालाई कमजोरीका रुपमा लिने काम नहोस् ।’
मोरङमा ठूला दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्र आचार संहिता उल्लंघनमा अगाडि रहेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सार्वजनिक स्थलमा पोष्टर, पम्प्लेट टाँस्ने, झण्डा राख्ने, चुनाव चिन्ह अंकित टिसर्ट तथा टोपी लगाएर चुनाव प्रचार गर्ने, भित्ते लेखन गर्ने, सवारी साधनमा चुनाव चिन्ह अंकित झण्डा राखेर र्याली र जुलुस निकाल्ने, प्रचारमा बालबालिकाको प्रयोग गर्ने, भोजभतेर आयोजना गर्ने लगायतका काम गरेर दलहरुले आचारसंहिता उल्लंघन गरिरहेका छन् ।
साना दलहरुले पनि निर्वाचन आयोगमा ठूला दलले आचारसंहिता उल्लंघन गर्ने गरेको मौखिक उजुरी गरेका छन् । आयोगले आचारसंहिता उल्लंघन नगर्नका लागि गरिरहेको आग्रहलाई वेवास्ता गर्दै दलहरु अगाडि बढे कारवाही गर्ने सम्मको चेतावनी दिएको छ । ‘सार्वजनिक स्थलमा टाँगिएका व्यानरहरु निकाल्नुस । झण्डाहरु हटाउनुस,’ क्षेत्रीय निर्वाचन अधिकारी सञ्जेलले दलहरुलाई भन्नुभयो, ‘कडा कदम चाल्न आयोगलाई बाध्य नपारियोस । तपाईहरुले अटेर गर्नु भयो भने परिणाम राम्रो हुँदैन ।’
सञ्जेलले चुनाव चिन्ह अंकित टिसर्ट र टोपी लगाइएर चुनाव प्रचार गरेको पाइएमा सुरक्षाकर्मी परिचालन गरेर खोस्ने समेत बताउनु भयो । ‘टिसर्ट र टोपी लगाएर चुनाव प्रचार नगरौं,’ उहाँले भन्नु भयो, ‘सुरक्षाकर्मी लगाएर टोपी खोस्छौं । टिसर्ट फुकालिदिन्छौं ।’ पटक पटक आग्रह गर्दा पनि उल्लंघनका घटना नरोकिएपछि आयोग कडा कदम चाल्ने तयारीमा रहेको जानकारी उहाँले दिनु भयो । सञ्जेलले ऐन र निर्वाचन आचारसंहिता विपरित दलहरु गएमा दलबाट उम्मेदवार बनेकाको उम्मेदवारी खारेज, एक लाख रुपैयाँ सम्म जरिवाना र निर्वाचन जितिसकेकाको मत बदर निर्वाचन आयोगले गर्न सक्ने बताउनु भयो ।