विराटनगरमा राजपाका कार्यकर्ताद्वारा भ्यान तोडाफोड
विराटनगरः बन्द उल्लंघन गरेको भन्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले बिहीबार विराटनगरमा म्याजिक भेन तोडफोड गरेका छन्।प्रहरीका अनुसार विराटनगरको बाटा रोडमा को १ च ६४१४ नम्बरको भेन तोडफोड गरिएको हो।
भ्यान तोडफोड गरेर बन्दकर्ता फरार भएका कारण पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। त्यस्तै राजपाले हड्ताल आह्वान गरेको तेस्रो दिन बन्दकर्ताले नीजि शैक्षिक संस्थाका दर्जनौ सवारी साधन सञ्चालनमा अवरोध पुर्याएका छन्। बन्द र हड्तालले विद्यार्थीको पठन पाठन चौपट बनेको भन्दै प्याब्सनले शैक्षिक संस्था संचालनको निर्णय गरेपछि विद्यार्थी ओसार्न परिचालन गरिएका सवारी साधनलाई अवरोध पुर्याइएको हो।
विद्यार्थी बोकेका तथा विद्यार्थी ओसार्न जाँदै गरेका दर्जनौ सवारी साधनलाई विराटनगरका विभिन्न स्थानमा अवरोध गर्दै चालकलाई दुरव्यवहार गर्ने र सवारी साधनको चावी खोस्ने, ढुँगा हान्ने सम्मका हर्कत गरिएको प्याब्सनले जनाएको छ। बन्द उल्लंघन गरेको भन्दै एभरेष्ट स्कुलको गाडी तोडफोड गरिएको भनिए पनि स्कुलले भने त्यसको पुष्टि गरेको छैन।
'बन्दले विद्यार्थीको पठन पाठनमा नराम्ररी असर पुर्यायो,' विकेभिएम स्कुलका प्रिन्सीपल रविन दाहालले भन्नु भयो, ‘पठन पाठन सुचारु गर्न खोज्दा बन्दकर्ताले विद्यार्थी ओसारपसारमा प्रयोग गरिएका सवारी साधनमै अवरोध पुर्याए।' दाहालका अनुसार बन्दकर्ताको अवरोधका कारण शैक्षिक संस्था संचालन हुन सकेनन्। त्यस्तै बन्दको तेस्रो दिन बिहीबार पनि राजपाले विराटनगरमा प्रदर्शन गरेको छ। बन्दको प्रभाव यातायात क्षेत्रमा आंशिक रुपमा परेको थियो।