च्याम्पियन्स ट्रफी : फाइनलमा भारत र पाकिस्तानको भिडन्त
एजेन्सी : भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
फाइनलमा भारते चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ। बुधबार रातिको खेलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तान फाइनल प्रवेश गरेको हो।
टर हारेरपहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६४ रन बनाएको थियो। दुई सय ६५ रनको विजय लक्ष्य पाएको भारतले ४०.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।
भारतको जितमा रोहित शर्मा नायक बने। रोहितले अविजित १ सय २३ रन बनाए। एक सय २९ बलमा उक्त रन बनाएका रोहितले एक छक्का र १५ चौका हानेका थिए। कप्तान विराट कोहलीले अविजित ९६ रन बनाए। शिखर धवनले ४६ रन जोडे। बलिङमा बंगलादेशका मसरफ मोर्ताजाले एक विकेट लिए।
यसअघि बंगलादेशका लागि तामिम इकवालले ७० रन बनाए। मुस्फिकर रहितले ६१, मसरफ अविजित ३० रन बनाए। अन्य ब्याट्सम्यानले सम्मानजनक खेल खेल्न सकेनन्।
सेमिफाइनलको पहिलो खेलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउदै फाइनल प्रवेश गरेको पाकिस्तान र दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले हराउँदै फाइनल प्रवेश गरेको भारतबीच फाइनल भिडन्त हुनेछ।