धरानमा सुविधासम्पन्न ब्याडमिन्टन हल
धरान: धरानमा सुविधा सम्पन्न ब्याडमिन्टन हल निर्माण गरिएको छ । अमर सेवा समाजले धरान उपमहानगरपालिका १३ स्थित अमरहाटमा ब्याडमिन्टन हल निर्माण गरेको हो । निजी क्षेत्रबाट एक करोड ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको उक्त ब्याडमिन्टन हल सम्पन्न भएसँगै ब्याडमिन्टनका खेलाडी उत्साही भएका छन् । साथै धरानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिता आयोजना गर्न सहज भएको छ ।
एक सय १३ फिट लम्बाइ, ५४ फिट चौडाइ र ४८ फिट अग्लो ब्याडमिन्टन हलमा चारवटा ब्याडमिन्टन कोर्ट तयार पारिएको छ । एक सय दर्शकले एकै पटक खेल अवलोकन गर्न मिल्ने सुविधासम्पन्न प्यारापिटसमेत निर्माण गरिएको छ । अमर सेवा समाजका अध्यक्ष हरिबहादुर लिम्बूले यो ब्याडमिन्टन हल देशकै ठूलो र सुविधा सम्पन्न भएको दाबी गरेका छन् । धरान १३ का दुई सय ६० घरपरिवारबाट आर्थिक सहयोग संकलन गरी निर्माण थालिएको बहुउद्देश्य ब्याडमिन्टन हलका लागि हङकङ, सिंगापुर र बु्रनाईमा बसोबास गर्ने समाजमा आबद्ध व्यक्तिहरूबाट ५० लाख आर्थिक सहयोग प्राप्त भएको निर्माण समितिका गणेशबहादुर खड्काले जानकारी दिए ।
साथै धरान उपमहानगरपालिकाले दुई लाख, सुनसरी क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार राईको संसदीय कोषबाट १५ लाख र खेलकुद मन्त्रालयबाट ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको पनि खड्काले जानकारी दिए । योजनाअनुसार ब्याडमिन्टन हलको निर्णय पूरा भएसँगै स्थानीय खेलकर्मी र निर्माण अभियन्ताहरूमा पनि उत्साह थपिएको छ । निर्माण अभियन्तामध्येका जनक बस्नेतले पाँच सय दर्शक अट्ने प्यारापिटसहितको ब्याडमिन्टन हललाई अझ व्यवस्थित बनाइने बताए ।
नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्दशेखर लामाले निजी क्षेत्रबाट धमाधम ब्याडमिन्टन हल निर्माण हुँदा पूर्वमा खेलकुदको सहर भनेर चिनिने धरानलाई ब्याडमिन्टनको सहरका रूपमा चिनाउन पनि मद्दत पुग्ने बताए । धरानमा अञ्चल प्रहरी कार्यालयमा पनि ब्याडमिन्टन हल रहेको छ । यसैगरी इलाका प्रहरी कार्यालय धरान, उदय सामुदायिक वन, सुनसरी खेलकुद विकास समिति र आरके ब्याडमिन्टन क्लब गरी अन्य पाँचवटा ब्याडमिन्टन हल पनि छन् । यी ब्याडमिन्टन हलमा प्रत्येक दिन व्यवसायीका साथै अन्य खेलाडीहरूको घुइँचो लाग्ने गर्छ ।